
काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन द फरेस्ट, इन द भिलेजेज’ शीर्षकको फोटो प्रदर्शनी जारी भएको छ ।
इटालियन क्युरेटर फिलिपो माज्जाले छनोट गरेका तीन जना नेपाली फोटोग्राफर किशोर शर्मा, उमा विष्ट र सागर क्षेत्रीले संकलन गरेका तस्वीरहरू प्रदर्शनीमा राखिएका छन् । जुन ११ देखि सुरु भएको यो प्रदर्शनी आगामी अगस्ट ३०, २०२६ सम्म खुल्ला रहनेछ ।
प्रदर्शनीमा किशोर शर्माको ‘लिभिङ इन द मिस्ट’ शीर्षकको फोटो शृङ्खला समावेश छ, जसले ६ वर्षको अवधिमा घुमन्ते राउटे समुदायको जीवनशैलीलाई नजिकबाट नियालेको छ ।
यो शृङ्खलाले आधुनिक संसारमा समाहित हुन नचाहेर राउटेहरूले गरिरहेको प्रतिरोध र उनीहरूको स्वायत्त जीवनशैलीलाई फोटोमार्फत चित्रण गर्छ ।
त्यस्तै, उमा विष्टको ‘वनका हाम्रा गीत’ शीर्षकको कार्यले अछाम जिल्लाका किशोरीहरूको कथा भन्छ । छाउपडी प्रथाका कारण महिनावारीको समयमा गोठमा बस्न बाध्य हुने किशोरीहरूको पीडा र यो प्रथालाई लिएर समाजमा रहेको सामाजिक तथा दैवी डरलाई उनले आफ्ना तस्बिरहरूमा उतारेकी छिन् ।
अर्का फोटोग्राफर सागर क्षेत्रीको ‘एक्लिप्स’ शृङ्खलाले नेपालको दक्षिणी सीमावर्ती क्षेत्र मधेशका जनताको राज्यसँगको जटिल सम्बन्ध र पहिचानको मुद्दालाई समेटेको छ । यो शृङ्खलाले मधेशका राजनीतिक गुनासा र पहिचानका लागि भइरहेका संघर्षहरूलाई गहिराइमा पुगेर प्रस्तुत गर्छ । क्युरेटर फिलिपो माज्जाका अनुसार पश्चिमा समाजमा फोटोग्राफीले आफ्नो बाटो बिराउँदै गएको समयमा नेपाली फोटोग्राफरहरूले भने आफ्ना काममार्फत सामाजिक मुद्दाहरूको सशक्त उठान गरिरहेका छन् ।
नेपालको समकालीन फोटो कलामा उदीयमान पुस्ताको प्रशंसा गर्दै माज्जाले नेपाली कलाकारहरूले लैंगिक मुद्दा, स्मृति, पहिचान, राजनीति, समाज र संस्कृति जस्ता गम्भीर विषयमा खोज गरिरहेको बताए । उनले नेपाली कलाकारहरूले थोरै सुविधाका बाबजुद पनि दृढ र निडर अभिव्यक्ति प्रस्तुत गरिरहेको उल्लेख गरे ।
इटालियन संस्कृति मन्त्रालयको ‘स्ट्राटेजिया फोटोग्राफिया २०२५’ कार्यक्रम अन्तर्गत सहयोग प्राप्त यस प्रदर्शनीको क्याटलग प्रसिद्ध प्रकाशन गृह सिलभाना एडिटोरियलले प्रकाशित गरेको छ ।








प्रतिक्रिया