
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत सीमाका सम्बन्धका प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिका बारेमा प्रष्ट पार्न आग्रह गरेका छन् ।
बैठकको सुरूमा सभामुखसँग समय लिएर सांसद राईले काठमाडौंका विभिन्न ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको उचित बन्दोबस्ती गर्न माग गरे ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले नेपालको संविधानले सरकारलाई संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गरेको जानकारी गराउँदै प्रधानमन्त्रीले सीमाका सम्बन्धमा दिएको धारणाका सम्बन्धमा ‘रुलिङ’ गर्न र संसद्मा नै आएर आफ्नो धारणा सच्याउन आग्रह गरे ।
उनले सरकारका मन्त्रीहरूले नै विभिन्न स्थानमा गैरजिम्मेवार अभिव्यक्ति दिएको घटना सार्वजनिक भएको उल्लेख गर्दै गलत अभिव्यक्ति दिने मन्त्रीलाई जिम्मेवार बनाउनुपर्ने धारणा राखे ।
नेकपा (एमाले)का सांसद कृपाराम रानाले लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तालगायतका स्थानमा नेपालको सीमा अतिक्रमण भएको उल्लेख गर्दै देशभन्दा माथि कोही पनि नरहेको धारणा राखे । उनले सुकुम्बासीलाई राखिएको ‘होल्डिङ सेन्टर’मा मानवोचित व्यवहार नभएको भनी सरकारको ध्यानाकर्षण गराए ।
त्यसैगरी, नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीले सदनमार्फत नेपाल र भारतको सीमाका सम्बन्धमा दिएको अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई सच्याउनुपर्ने तर्क गरे ।
उनले कुनै पनि पार्टीको सदस्य नरहने स्वतन्त्र भूमिकामा रहनुपर्ने सभामुखबाट सोहीअनुसार कामकाज हुने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग रहेको सम्बन्धको ‘नाभी काट्न’ सक्नुभएको छैन कि क्या हो ? भनी प्रश्न गरे ।
सांसद यादवको उक्त धारणाप्रति सत्तारुढ दल रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति गरे । लगत्तै सभामुख डोलप्रसाद अर्यालले सांसद यादवको अभिव्यक्तिका सम्बन्धमा ध्यानाकषर्ण भएको बताए ।








प्रतिक्रिया