
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक व्यवस्थापन समितिमा छलफल भइसकेको मौद्रिक नीति समीक्षा मंगलबार साँझ बस्ने सञ्चालक समितिबाट पारित गरेर सार्वजनिक गर्ने तयारी भएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
आगामी चैत अन्तिम साता ५ वर्षको कार्यकाल पूरा गरेर विदा हुन लागेका गभर्नर महाप्रसाद अधिकारीले कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षा गर्न लागेका हुन् । मौद्रिक नीति समीक्षा अगाडि मंगलबार बिहान गभर्नर अधिकारीले अर्थमन्त्रालय पुगेर अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेर फर्किएका छन् ।
मौद्रिक नीति समीक्षाको लागि सोमबार साँझ राष्ट्र बैंकको व्यवस्थापन समिति बैठक बसेको थियो । उक्त बैठकमा मौद्रिक नीति भन्दापनि नियामकीय नीतिमा केही परिमार्जन गर्नेगरी छलफल भएको स्रोतले जनाएको छ । अहिले नीतिगत दरहरुमा परिमार्जन आवश्यक नभएकोले मौद्रिक नीतिमा कुनै परिमार्जन नहुने छलफलमा सहभागिहरुले बताए ।
नियामकीय नीतिमा भने केही परिमार्जन गर्न गभर्नर पनि सकारात्मक रहेको स्रोतको दाबी छ । गभर्नर अधिकारीले नियामकीय व्यवस्थामा आवश्यक परिमार्जन गर्ने मात्रै लेख्न खोजेपछि छलफलमा सहभागि कार्यकारी निर्देशक र डेपुटी गभर्नरले कुन कुन परिमार्जन हुने हो खुलाउनुपर्ने बताएको स्रोतको दाबी छ ।
‘गभर्नरलाई जाँदै गर्दा सरकारले पनि तपाईबाट केही अपेक्षा गरेको छ । नियामकीय व्यवस्थामा यि परिमार्जन गर्न उपयुक्त छ भनेर सुझाव दिएका छौं । त्यसलाई उहाँले नोट गर्नुभएको छ,’ स्रोतले भन्यो । विशेष गरी असल कर्जामा १.१ प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १ प्रतिशतमा ल्याउन विभागिय प्रमुख र डेपुटी गभर्नरले समेत सुझाव दिएको स्रोतले बताए । त्यसलाई गभर्नर अधिकारीले सकारात्मक रहेको बताएका थिए ।
मौद्रिक नीतिको समीक्षा भएको र गभर्नर पनि बाहिरिने बेला भएकोले ठूलो नीतिगत परिवर्तनको अपेक्षा नभएको र त्यस्तो परिवर्तन नहुने राष्ट्र बैंक स्रोत बताउँछ ।
प्रतिक्रिया