५ प्रदेशमा फैलियो मनसुन, हिजोदेखि नै भारी वर्षा


काठमाडौं । सोमबार मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा आजदेखि पाँच प्रदेशमा मनसुन फैलिएको र सोही मनसुनी वायुको प्रभाव भएका क्षेत्रमा बढी वर्षा भएको छ ।

आज कोशी, बागमती, मधेशप्रदेशमा पुरै तथा गण्डकी प्रदशेका अधिकाँश र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुन प्रवेश भएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले सोमबार केही ठाउँमा भारी वर्षासहित पूर्वदेखि गण्डकी प्रदेशसम्म बढी वर्षा भएको जानकारी दिए ।

सोमबार रातीको अभिलेख अनुसार गएको २४ घण्टामा कास्कीमा ९८.२ र सुनसरीमा ८८.४ मिलिलिटर वर्षा भएको छ । यस्तै स्याङजा, लमजुङ, गोरखा, मकवानपुर, सिन्धुली, सङ्खुवासभा, ताप्लेजुङमा ५०देखि ६६ मिलिलिटरसम्म वर्षा भएको छ ।

मंगलबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने बताइएको छ ।

मंगलबार देशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्ने छ । मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्ने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मूख्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा-हिमपातको सम्भावना छ ।

कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा र मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईको एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षा हुने बताइएको छ । हाल नेपालमा मनसुनी वायुसँगै पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले बदली भइरहेको हो ।

Skip This