
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले भोको पेट मारेर आफूलाई हराउन खोजेको आरोप लगाएका छन् ।
सन्दर्भ उल्लेख नगरिए पनि महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै बालेनले शुक्रबार फेसबुकमार्फत असन्तुष्टी पोखेका हुन् ।
‘हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे,’ उनले लेखेका छन्, ‘मलाई हराउने ताकमा, देशलाई चाहिँ नडुबाउनु होला।’
केही महिनायता काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खाली छ ।
काठमाडौं भ्यू-टावरको नक्सा पास विवादमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं मुछिएपछि उनी छुट्टीमा छन् ।
सरकारले केही दिनअघिको मन्त्रिपरिषद् बैठकबाट एकैचोटि ७८ सहसचिवको सरुवा गरेको थियो । यति धेरै संख्यामा सहसचिवको सरुवा गर्दा पनि काठमाडौं महानगरले नयाँ प्रमुख प्रशासकीय अधिकृत नपाएको भन्दै शाह रिसाएका हुन् । फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले सरुवा गरेको सहसचिवको सूची बिहीबार सार्वजनिक भएपछि बालेनको स्टेटस आएको हो ।
महानगर कार्यकारी अधिकृत पठाइदिन मेयर बालेनले केही महिनाअघि नै संघीय मामिला तथा प्रशासन मन्त्रालयमा पत्रसमेत लेखेका थिए । तर मन्त्रालयले अहिलेसम्म कार्यकारी पठाएको छैन ।
तर, सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीको दल नेकपा एमालेका महासचिव शंकर पोखरेल काठमाडौं महानगरमा कार्यकारी अधिकृत जना नमानेको भन्दै त्यसमा बालेनको ध्यान नपुगेको तर्क गर्छन् ।
‘काठमाडौं महानगरका मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ,’ पोखरेलले भनेका छन्, ‘तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन ।’
कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भए पनि अविलम्ब कार्यकारी अधिकृत पठाउनु पर्ने उनको भनाइ छ ।
‘कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्छ,’ उनले भनेका छन् ।








प्रतिक्रिया