बेलायती प्रधानमन्त्री कीर स्टार्मरले दिए राजीनामा, सरकारको नयाँ नेतृत्वमा एन्डी बरनह्यामको चर्चा


एजेन्सी । बेलायती प्रधानमन्त्री सर कीर स्टार्मरले लेबर पार्टीको नेता र प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । यससँगै बेलायतमा नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया सुरु भएको छ ।

कीरले आगामी आम निर्वाचनमा लेबर पार्टीलाई नेतृत्व दिन आफू उपयुक्त पात्र नभएको स्वीकार गरे । उनले आफ्नो निर्णयबारे राजालाई जानकारी गराइसकेको र नयाँ उत्तराधिकारी चयन नभएसम्म उनी प्रधानमन्त्रीकै रूपमा बहाल रहने बताएका छन् ।

स्टार्मरले लेबर पार्टीको गभर्निङ बडीलाई नयाँ नेता चयनका लागि कार्यतालिका तय गर्न आग्रह गरेका छन् । जसअनुसार जुलाई ९ मा मनोनयन खुल्नेछ भने जुलाई १६ सम्म उम्मेदवारी दर्ताको समय रहनेछ । सेप्टेम्बरमा संसदको बैठक बस्नुअघि नै बेलायतले नयाँ प्रधानमन्त्री पाउनेछ ।

स्टार्मरको उत्तराधिकारीका रूपमा एन्डी बरनह्यामलाई सबैभन्दा बलियो उम्मेदवार मानिएको छ । गत हप्ता मेकरफिल्ड उपचुनावमा रिफर्म यूके विरुद्ध सानदार जित हासिल गरेपछि बरनह्यामको चर्चा चुलिएको हो । उनले सोमबार नै आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

उनका मुख्य प्रतिस्पर्धी मानिएका पूर्व स्वास्थ्य सचिव वेस स्ट्रिटिङले बरनह्यामलाई समर्थन गर्दै आफू दौडबाट बाहिरिएको घोषणा गरेपछि बरनह्यामको स्थिति झनै मजबुत बनेको छ ।

सन् २०२४ जुलाई ५ मा लेबर पार्टीलाई भारी बहुमत दिलाउँदै प्रधानमन्त्री बनेका स्टार्मर बेलायती इतिहासमा सबैभन्दा छोटो समय शासन गर्ने लेबर प्रधानमन्त्री बनेका छन् । यद्यपि, उनको कार्यकाल उनका पूर्ववर्ती कन्जरभेटिभ प्रधानमन्त्रीहरू ऋषि सुनक र लिज ट्रसको भन्दा लामो रहनेछ । सन् २०१६ यता बेलायतले सातौं प्रधानमन्त्री पाउने तयारीमा छ ।

आफ्नी पत्नी भिक्टोरियाका साथ सम्बोधन गर्न आएका स्टार्मर भाषणका क्रममा केही भावुक देखिएका थिए । उनले भने, ‘मैले देशको सबैभन्दा ठूलो जिम्मेवारी छाड्दै गर्दा अब मेरो ध्यान मेरो परिवारका लागि असल पति र मेरा बच्चाहरूका लागि असल बुबा बन्ने सबैभन्दा महत्त्वपूर्ण काममा हुनेछ ।

Skip This