सुर्खेतमा पक्राउ गर्नुअघि पूर्वअर्थमन्त्री पौडेलको भैंसेपाटीस्थित निवासमा छापा


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धीकरण विभागको टोलीले उनलाई सोमबार दिउँसो सुर्खेतबाट नियन्त्रणमा लिएको हो ।

पौडेललाई पक्राउ गर्नुअघि विभागले ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेको थियो । उनको घरबाट केही महत्त्वपूर्ण कागजातहरू समेत नियन्त्रणमा लिएको विभाग स्रोतले जनाएको छ ।

पौडेलको सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न विभागले प्रहरीलाई पक्राउका लागि पत्र पठाएको थियो । सोही अनुसन्धानको सिलसिलामा उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।

पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनका लागि प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पौडेल सुर्खेत पुगेका थिए । उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर हाल जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा राखिएको छ ।

प्रहरीले पौडेललाई आजै काठमाडौं ल्याउने तयारी गरिरहेको छ ।

Skip This