विमानस्थलभित्रै १८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरको कहालीलाग्दो दुर्घटनाको नालीबेली



काठमाडौं । राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा पोखरा उडेको सौर्य एयरको चार्टर्ड फ्लाइट दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । चालक दलका दुई सदस्यसहित १९ जना सवार नाइन एन एएमई सीआरजे २०० विमान दुर्घटना हुँदा क्याप्टेन मनिषरत्न शाक्य बाँचेका छन् भने अरु सबैको मृत्यु भएको प्रहरीले पुष्टि गरिसकेको छ ।

विमान उडेको केही सेकेन्डमै गोठाटार तिरको घाँसे मैदानमा दुर्घटनामा पर्दा आगो लागेको हो । भुईमा खसेको विमानले चौरमा रहेको कन्टेनरलाई ठक्कर दिएको घटनास्थल पुगेका गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

विमानस्थलबाटै गृहमन्त्री लेखकले क्लिकमान्डुसँग भने- ‘विमान उड्नासाथ दाहिनेपट्टी धेरै मोडिएर भुइमा खसेको रहेछ । त्यसले चौरमा रहेको कन्टेनरलाई हिर्काएर खाल्डोमा खसेको भेटिएको छ । के कारणले दुर्घटना भएको भन्ने खुलेको छैन।’

विमान दुर्घटना भएको खबर प्रहरीले दुर्घटना भएको ९ मिनेटमा प्रहरी घटनास्थल पुगेको थियो । र १९ मिनेटमा क्याप्टेन शाक्यको जिवितै उद्दार गरिएको थियो । शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

विमान दुर्घटनामा परेपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर ठूलो संख्यामा सुररक्षाकर्मीलाई उद्दारका लागि खटाइएको थियो ।

यी हुन् मृत्यु हुने १८ जना

विमानमा सवार रहेका कर्मचारीहरुमा अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अस्विन निरौला, सुदीपलाल जोशी, सर्वेस मरासिनि, श्याम विन्दुकार, नवराज आले, नवराज आचार्य, प्रीजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्या, सन्तोस महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् ।

चालक दलका दुई सदस्यमा मनिष शाक्य र एस कटुवालमध्ये कटुवालको भने मृत्यु भएको छ।

एकै परिवारका ३ जनाको मृत्यु

दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान्-श्रीमती हुन् भने ४ वर्षिय अधिराज उनीहरूका छोरा हुन् ।

पारिवारिक स्रोतका अनुसार मनुराज प्राविधिक हुन् । सौर्य एयरले विमानमा कर्मचारीहरु सवार रहेको जनाएको छ । मनुराजकी श्रीमती प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत थिइन् । प्राविधिक मनुराज पोखरा जाने भएपछि पत्नी बच्चासहित सँगै जान लागेकी थिइन् । प्रिजा खतिवडा १० वर्षदेखि ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयमा सहायक कम्प्युटर अपरेटरका रुपमा कार्यरत थिइन् । ऊर्जा सचिवको सचिवालय कार्यरत उनी करारको कर्मचारी हुन् । प्रिजा नेपाल पत्रकार महासंघ, सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी जेठी छोरीसमेत हुन् ।

सौर्य एयरका ४ जना उच्च व्यवस्थापनमा रहेका कमर्मचारीको मृत्यु

उडेको सौर्य एयरको विमान दुर्घटनामा एयरलाइन्स व्यवस्थापन समूहका ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा परेको विमानमा व्यवस्थापन समूहमा चिफ अफ सेफ्टी सागर कुमार आचार्य, सिएएमओ म्यानेजर अश्विन कुमार निरौला, म्यानेजर मेन्टिनेन्स यज्ञ प्रसाद पौड्याल, पाइलट तथा चिफ अफ अपरेसन्स मनिष रत्न शाक्य र चिफ अफ क्युए (क्वालिटी अफिससर) दिलीप बर्मा रहेका थिए ।

कन्टेनरभित्र ककपिट छिरेपछि ‘भाग्य’ले बाँचे क्याप्टेन

पइलट मनिषरत्न शाक्यलाई भने उद्धार गरि अस्पताल लगियो । उनलाई उद्धार गरेको तस्बिरमा उनी क्याप्टेनको सेतो पोसाकमा रगतले भिजेको अवस्थामा देखिएको छ । विमानमा आगो लागेको भए पनि उनको शरीर जलेको अवस्थामा देखिएको थिएन ।

उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा उनको उपचार भइरहेको छ । पाइलट शाक्यको मेरुदण्डको अपरेशन गरिएको छ भने टाउकोमा पनि चोट लागेकाले न्यूरो सर्जरी गर्ने र आँखामाथिको भागमा लागेको चोटको पनि अपरेशन गर्नुपर्ने बताइएको छ । दुर्घटनामा ह्वार्ह्वार आगो लागेको भए पनि उनी ‘भाग्य’ले बाँचेका प्रत्यक्षदर्शीहरुको भनाइ छ ।

दुर्घटनामा पाइलट बाहेक सबैको मृत्यु भएको र आगो लागेको विमानबाट उनलाई सकुसल उद्धार गरिएपछि धेरैले यसबारे चासो राखिरेहका छन्। पाइलट शाक्य भने विमान ठोक्किएपछि भएको आगलागीमा पर्नबाट बचेका थिए ।

उद्धारमा खटिएका प्रहरीका अनुसार पाइलट शाक्यलाई विमान ठोक्किएको कन्टेनरभित्रबाट निकालिएको थियो । उड्नासाथ दुर्घटनामा परेको विमान कन्टेनरमा आएर बजारिएको थियो । कन्टेनरमा बजारिँदा विमानको अगाडिको भाग (ककपिट) त्यसैमा अड्किएको पाइएको उद्धारमा खटिएका सुरक्षा स्रोतको भनाइ छ । विमान ठोक्किएपछि डिलमा रहेको कन्टेनर तर खाल्डोतिर खसेको थियो ।

बाँकी भाग भने विमानस्थलको डिलभन्दा तल गोठाटारतर्फको खाल्डोमा बजारिन पुगेको थियो र ठूलो आगो लागेको थियो ।

उद्धारमा खटिएका एक सुरक्षाकर्मीले आफूहरुले पाइलटलाई कन्टेनरभित्रबाट निकालेको जानकारी दिए । ‘हामीले पाइलटलाई कन्टेनरभित्रबाट निकालेका थियौं,’ उनले भने, ‘रगतले भिजेको हुनुहुन्थ्यो । घाउँ निधारमा देखिएको थियो । आँखा हेरिरहनु भएको थियो।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले पनि पाइलट शाक्यलाई कन्टेनरभित्रको जहाजको ककपिटबाट निकालेको जानकारी दिए ।

‘विमान दुर्घटनामा परेको १० मिनेटभित्रै हामीले उहाँलाई उद्धार गरेर अस्पताल लगेका हौं,’ झाले भने, ‘कन्टेनरभित्र विमानको भागबाट निकालिएको हो । त्यतिबेला सम्म त्यहाँ आगो आइपुगेको थिएन । विमानको बाँकी भाग अलिक पर पुगेको थियो र त्यहाँ आगो लागेको थियो ।’

घटनास्थलमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य मन्त्रीहरु, नेपा प्रहरी र शशस्त्र प्रहरीका प्रमुखसहित उच्चपदस्थ अधिकारीहरु उपस्थित भए ।

२१ वर्ष पूरानो जहाज, अझै १२१ घन्टा उँडाउन मिल्थ्यो

 उड्डयन इतिहासमा २१ वर्षदेखि उडिरहेको भए पनि बुधबार बिहान दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज नेपालमा भने ६ वर्षअघि मात्रै भित्रिएको थियो । नियामक नागरिक उड्डयन प्राधिरकणले उडान योग्य अवस्थामा रहेको यो जहाज प्राविधिक कमजोरीबाट दुर्घटना नभएको र मर्मत नभएको पुरानो जहाज नभएको स्पष्ट पारेको छ ।

सौर्य एयरलाइन्सको जहाज मर्मत गर्ने ह्याङ्गर पोखरामा छ । पोखरामा नै इन्जिन बाहेकको सबै जाँच (सीचेक) गर्ने गरी जाँदै गरेले उक्त जहाजले बुधबार व्यवसायीक उडान गरेको थिएन ।

यो जहाजलाई प्राधिकरणले २६ अप्रिल २०२४ मा दिएको एयर वर्दिनेस (उडानका लागि उपयुक्त) सर्टिफिकेट अनुसार यो जहाज १७ अप्रिल २०२५ सम्म उडानयोग्य थियो । यो विमान ९ एन-एएमईका रुपमा दर्ता छ । बम्बार्डियर सीआरजे २०० सिरिजको यो जहाज २१ वर्षदेखि नियमित उडानमा प्रयोग हुँदै आएको छ ।

बम्बार्डियर सीआरजे २०० सिरिजको यो जहाज क्यानडाको मोन्ट्रियलमा एमएचआइजे आरजे एभिएसन युएजीले बनाएको हो । ४ वर्ष अमेरिकामा उडेको यो जहाज एट्लान्टिक कस्ट एयरलाइन्सले मे २००३ मा किनेको थियो । यसको स्वामित्व अगस्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्स एयरले लिएको थियो ।

२००७ जुनसम्म इन्डिपेन्डेन्स एयरले उडाएको यो विमान त्यसपछि नाइजेरियाको एरिक एयरले किनेर उडाएको थियो । त्यसपछि एक वर्षमै बिक्री भएको यो जहाज अप्रिल २००८ मा दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्सप्रेसले किनेर १० वर्ष उडायो ।

सन् २०१७ जनवरीमा अमेरिकाको लिजिङ कम्पनी एरोलिजले विमान किन्यो । मार्च २०१७ मा सौर्य एयरलाइन्सले यसलाई खरिद गरेर नेपाल ल्याएको थियो । सौर्यले यो विमान उडाउन थालेको ६ वर्ष भइसकेको थियो । सौर्यले लिएपछि यसको कलसाइन ९ एन–एएमई भएको छ ।

सार्प टर्न किन गरियो भन्ने कुरा ब्ल्याक बक्स हेरेपछि यकिन हुन्छ

विमानस्थलभित्रै भएको दुर्घटनामा पनि समयमै उद्दार कार्य हुन नसकी ठूलो संख्यामा मृत्यु भएको घटनालाई लिएर नियामक नागरिक उड्डयन प्राधिकरण र विमानस्थल व्यवस्थापनमाथि प्रश्न उठेको छ ।

‘विमानस्थलभित्र भएको दुर्घटनामा सबैले ज्यान गुमाउनु दुखद कुरा हो,’ एक हवाइ विज्ञले क्लिकमान्डुसँग भने- ‘नागरिक उड्डयन प्राधिकरण र विमानस्थल व्यवस्थापन थप जिम्मेवार बन्नुपर्ने देखिन्छ ।’

जहाज उडेको २२ सेकेण्डभित्रै जमिनमा बजारिनुलाई सार्प टर्नसँगै डिस्ब्यालेन्स हुँदा बजारिन पुगेको अनुमान गरिएको छ । विभिन्न हवाई दुर्घटना जाँच आयोगमा बसेर काम गरिरसकेको एक हवाई विज्ञका अनुसार जहाज उड्ने वित्तिकै अनियन्त्रित हुनु र चालकले नियन्त्रणमा लिन नसक्नुले पनि सार्प टर्न भएकै अनुमान गर्न सकिने बताउँछन्।

ती हवाई विज्ञले भने ‘जहजमै कर्मचारीसहित जहाज उडान योग्य छ भनेर प्रमाणित गर्ने व्यक्ति नै बसेकोले आफैं उड्ने जहाजको मर्मतमा कजोरी गरेका थिए भनेर भन्न त मिल्दैन । तर, जहाज उड्नासाथ दायाँ बायाँ गर्दा विमानस्थल भित्रकै क्षेत्रमा खस्नुलाई भने शंकाको दृष्टिले पक्कै हेरिनुपर्छ ।’

यो जहाज दुर्घटना पर्नुको कारणको विषयमा भने क्याप्टेन नै सकुशल भएकोले छानविन समितिले गर्ने ब्याकबक्समा भएको भ्याइस रेकर्ड र क्याप्टेनले दिने जानकारीबाट थप सहज हुन्छ । अहिले प्रारम्भिकरुपमा अनुमान गर्ने भन्दा पनि दुर्घटनाको यकिन कारणको विषयमा भने जहाज दुर्घटना जाँज आयोगकै प्रतिवेदनले औल्याउने पनि ति हवाई विज्ञले बताए ।

हवाई विज्ञ नगेन्द्र घिमिरे पनि पावरफुल जेट इन्जिन भएको जहाज एकैपटम भुइमा बजारिनुलाई प्राविधिक त्रुटि भएको हुनसक्ने अनुमान लगाउँछन् । उनले पनि उक्त जहाज दुर्घटनाको विषयमा भने अध्ययनविना अहिले नै धरै कुरा बोल्नु उचिन नहुने तर्क गरे । जहाजको ब्ल्याकबक्स अध्ययन गरेरपछि मात्रै यकिन कारण पत्ता लाग्ने बुझाइ उनको छ ।

जहाज दुर्घटना अगाडिड टावरसँग क्याप्टेनको कुनै कुराकानी नभएको र इमजेन्सी समेत नमागेको कारण जहाज डिस्ब्यालेन्सबाटै एकैपटक भुइँमा बजारिएको प्रारम्भिक अनुमान लगाउन सकिने पनि उड्डयन प्राधिकरणकै कर्मचारी बताउँछन्।

जहाज दुर्घटनामा कुनै एउटा कारण मात्रै हुँदैन । कम्पनीले गर्ने सानो गल्ती, कर्मचारी, पाइलट, उडान पूर्वको अवस्था, मौसमसहितको कारण जोडिने गरेको छ । काठमाडौं विमानस्थलमा मौसम खुला भएको र कुनै अवरोध नभएको तथा एटीसीसँगको सम्वाद पनि उल्लेख्न नभएको विषयबाट भएको दुर्घटना भने छानविन समितिले औंल्याउने कारणलाई नै पर्खनुपर्ने हुन्छ ।

जाँजबुझ आयोग गठन

सौर्यको विमान दुर्घटनाका विषयमा छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगलाई अध्ययन गर्न ४५ दिनको समय दिइएको छ ।

दुर्घटना भएको विमानको प्रभु इन्स्योरेन्सले ३० करोड रुपैयाँको बमा

 सौर्य एयरको दुर्घटनामा परेको जहाज दुर्घटनापछि प्रभु इन्स्योरेन्सले ३० करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ । सौर्यले ३० करोडमा खरिद गरेको क्यानाडेली कम्पनी बम्बाडियरको सीआरजे २०० जहाज प्रभुमा बिमा गरेको थियो । जहाजको भग्नावशेष काम नलाग्ने स्थितिमा रहेका कारण ३० करोड रुपैयाँ हाराहारीको दाबी भुक्तानी गर्नुपर्नेछ ।

यो विमानको पुनर्बिमा विदेशी कम्पनीमा गरिएको छ । जसकारण सबै भुक्तानी दायित्व प्रभुले बेहोर्नु पर्ने छैन । प्रभु इन्स्योरेन्सका अनुसार ३० करोड रुपैयाँमध्ये ०.३ प्रतिशत अर्थात् ९ लाख रुपैयाँ कम्पनीको दायित्वमा पर्ने भएको छ । बाँकी ९९.७ प्रतिशत दायित्व बेलायती पुनर्बिमा कम्पनीले बेहोर्नेछ ।

९ वर्षमा ९ वटा हवाइ दुर्घटना: कहिले कहाँ कति क्षति भयो ?

२०८१ साउन ९ गते बुधबार (आज) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना भयो। जहाँ १८ जनाको मृत्यु भयो भने एक जना पाइलट घाइते भए ।

२०७९ को माघमा यति एयरलाइन्सको विमान पोखरा एयरपोर्टमा दर्घटना हुँदा ७२ यात्रुको मृत्यु भएको थियो ।

२०७९ को जेठ महिनामा पोखराबाट जोमसोम जाँदै गरेको विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।

२०७६ को वैशाखमा लुकला विमानस्थल नजिकै दुई हेलिकोप्टर ठोक्किँदा तीन जनाको मृत्यु भएको थियो।

२०७५ को फागुनमा ताप्लेजुङ नजिकै हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो । त्यस दुर्घटनामा तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पनि निधन भएको थियो ।

२०७४ को असोजमा गोरखाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टर दुर्घटना हुँदा जापानी नागरिकसहित पाँच जनाको मृत्यु भएको थियो ।

२०७४ को फागुनमा बंगलादेशबाट नेपाल आउँदै गरेको युएस बंगला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना हुँदा ५१ यात्रुको मृत्यु भएको थियो । उक्त दुर्घटनामा २० घाइतेको उद्धार गरिएको थियो ।

२०७२ को फागुनमा पोखराबाट जोमसोम जाँदै गरेको विमान दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो ।

२०७२ को जेठमा भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको हेलिकोप्टर दोलखाको चरीकोट नजिकै दुर्घटना हुँदा ६ अमेरिकी सैनिकसहित दुई नेपाली अधिकारी र पाँच नेपाली नागरिकको मृत्यु भएको थियो।


सम्बन्धित समाचार

क्याप्टेन भएर बिहे गर्ने तयारीमा थिए कोपाइलट सुशान्त, भक्तपुरमा बुवा आमा भावविह्वल

सौर्यको जहाज दुर्घटनाबारे विज्ञ: सार्प टर्न किन गरियो शंका छ, ब्ल्याक बक्स हेरेपछि यकिन हुन्छ

विमान दुर्घटनाको जाँचबुझ गर्न सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

विमानको आगो निभाउन पानीको सट्टा ‘फोम टेण्डर’ दमकलको प्रयोग, कसरी गर्छ काम ?

विमान ठोकिएको कन्टेनर भित्रबाट पाइलटलाई गरिएको थियो उद्धार, यस्तो थियो अवस्था

१५ वर्ष विदेशमा उडेको सौर्यको जहाज ६ वर्षअघि ल्याइएको थियो नेपाल, मर्मतअघि १२१ घण्टा मिल्थ्यो उड्न

सौर्यको विमान दुर्घटनाः उच्च व्यवस्थापन समूहका ४ जनाको मृत्यु

९ वर्षमा ९ वटा हवाइ दुर्घटना: कहिले कहाँ कति क्षति भयो ?

५० तस्बिरमा हेर्नुस्, एयरपोर्टभित्रै दुर्घटनामा परेको सौर्य एयरको विमान

ऊर्जा मन्त्रालयमा करारकी कर्मचारी थिइन् प्रिजा, ४ वर्षिय छोरो र श्रीमानसहित दुर्घटनामा मृत्यु

कस्तो छ १८ जनाको ज्यान जाँदा बचेका पाइलट शाक्यको स्वास्थ्य अवस्था ?

उड्नासाथ यसरी दुर्घटनामा परेको थियो सौर्य एयरको विमान (भिडियो)

एयरपोर्टबाट गृहमन्त्रीले भनेः विमान उड्नासाथ दाहिनेपट्टि धेरै मोडिएर कन्टेनरलाई हिर्कायो (अडियो)

दुर्घटनाग्रस्त विमानमा थिए सौर्य एयरलाइन्सकै १७ कर्मचारी (सूचीसहित)

१९ जना इन्जिनियर र कर्मचारी लिएर पोखरा जाँदै थियो सौर्य एयरको विमान (भिडियो)


राजु बास्कोटा