एयरपोर्टबाट गृहमन्त्रीले भनेः विमान उड्नासाथ दाहिनेपट्टि धेरै मोडिएर कन्टेनरलाई हिर्कायो (अडियो)



काठमाडौं । गृहमन्त्री रमेश लेखकले सौर्य एयरको जहाज उड्नासाथ दुर्घटना भएको जानकारी दिएका छन् । दुर्घटनाको आधा घन्टामै बिमानस्थल पुगेका गृहमन्त्री लेखकले क्लिकमान्डुसँग कुरा गर्दै विमान उड्नासाथ दाहिनेपट्टि धेरै माोडिँदा दुर्घटनामा परेको बताए ।

विमानस्थलमै रहेका गृहमन्त्री लेखकले भने, ‘विमान उड्नासाथ दाहिनेपट्टि धेरै मोडिएर दुर्घटनामा परेको मलाई जानकारी छ । सो विमान कन्टेनरलाई हिर्काएर खाल्डोमा खसेको भेटिएको छ ।’

उनले कन्टेनरभित्र पनि मान्छे थिए कि थिएन भन्ने यकीन हुन नसकेको बताए । ‘हालसम्म १७ जनाको शव फेला परेको छ । २ जनालाई उद्दार गरिएको छ,’ गृहमन्त्री लेखकले भने, ‘के कारणले दुर्घटना भएको भन्ने खुलेको छैन ।’

तर, नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले २२ जनाको शव फेला परेको जानकारी दिएका छन् ।

यात्रु सूचीमा १७ जना र चालक दलका दुई सदस्य गरी १९ जना सवार थिए । तर, दुर्घटना स्थलमा २२ जनाको शव फेला परेको उनको भनाइ छ । विमानका चालक मनिष शाक्यलाई अस्पताल लगिएको छ । यात्रु सूचीमा रहेका बाहेक बाँकी हुन् भन्नेबारे खोजी भइरहेको छ ।

सडक नजिक भएको र विमानस्थलमा निर्माणको काम पनि भइरहेकाले त्यससँग सम्बन्धित कोही भएको हुन सक्ने आशंका गरिएको छ ।


क्लिकमान्डु