९ वर्षमा ९ वटा हवाइ दुर्घटना: कहिले कहाँ कति क्षति भयो ?



काठमाडौं । बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा सौर्य एयरको विमान त्रिभुवन विमानस्थलमै दुर्घटना हुँदा १८ यात्रुको मृत्यु भयो । पाइलट मनिष शाक्य भने घाइते भएर अस्पतालमा उपचार भइरहेको छ ।

विमान बिहान ११ बजे दुर्घटना भएको हो । जहाँ मृत्यु हुने अधिकांश विमानकै कर्मचारी तथा तिनका परिवारका सदस्य छन् । यसअघि २०७४ मा बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको युएस बंगलाको विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।

नेपालको आकाश असुरक्षित रहेको भन्दै युरोपियन युनियनले पनि नेपाली वायुसेवा कम्पनीलाई प्रतिबन्ध लगाएको छ । यस्तैमा बुधबारको यो दुर्घटनाले फेरि नेपाली हवाइ सुरक्षाको विषयमा धेरै प्रश्नहरु उठाएको छ । सरकारी तथ्यांक अनुसार पछिल्लो ९ वर्षको अवधिमा ९ वटा विमान दुर्घटना भएका छन् ।

यस अवधिमा २१४ जनाको मृत्यु भएको तथ्यांक छ । साथै २१ जना घाइतेको उद्धार गरिएको छ । तर अर्बौं रुपयैयाँ बराबरको क्षति भएको नागरिक उड्डयनको तथ्यांक छ ।

२०८१ साउन १ गते बुधबार (आज) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना भयो । जहाँ १८ जनाको मृत्यु भयो भने एक जना पाइलट घाइते भए ।

२०७९ को माघमा यति एयरलाइन्सको विमान पोखरा एयरपोर्टमा दर्घटना हुँदा ७२ यात्रुको मृत्यु भएको थियो ।

२०७९ को जेठ महिनामा पोखराबाट जोमसोम जाँदै गरेको विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।

२०७६ को वैशाखमा लुकला विमानस्थल नजिकै दुई हेलिकोप्टर ठोक्किँदा तीन जनाको मृत्यु भएको थियो ।

२०७५ को फागुनमा ताप्लेजुङ नजिकै हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो । त्यस दुर्घटनामा तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पनि निधन भएको थियो ।

२०७४ को असोजमा गोरखाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टर दुर्घटना हुँदा जापानी नागरिकसहित पाँच जनाको मृत्यु भएको थियो ।

२०७४ को फागुनमा बंगलादेशबाट नेपाल आउँदै गरेको युएस बंगला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना हुँदा ५१ यात्रुको मृत्यु भएको थियो । उक्त दुर्घटनामा २० घाइतेको उद्धार गरिएको थियो ।

२०७२ को फागुनमा पोखराबाट जोमसोम जाँदै गरेको विमान दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो ।

२०७२ को जेठमा भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको हेलिकोप्टर दोलखाको चरीकोट नजिकै दुर्घटना हुँदा ६ अमेरिकी सैनिकसहित दुई नेपाली अधिकारी र पाँच नेपाली नागरिकको मृत्यु भएको थियो ।


क्लिकमान्डु