७ वटा विमान दुर्घटनाको जिम्मेवारी लिनुपर्छ भन्दै सांसदले महानिर्देशक अधिकारीलाई पारे र्‍याखर्‍याख्ती (भिडियो)



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको क्षमतामाथि सांसदहरुले प्रश्न उठाएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अधिकांश सांसदहरुले प्राधिकरणको नेतृत्व माथि प्रश्न उठाएका हुन् ।

सांसदहरुले प्राधिकरणका महानिर्देशकमा प्रदीप अधिकारी आएसँगै मुलुकमा ७ भन्दा बढी हवाई दुर्घटना भएको भन्दै उनलाई र्‍याखर्‍याख पारेका हुन् ।

सांसदहरुले विगत १९ महिनादेखि संसदीय समितिमा हवाई सुरक्षाका विषयमा भएको कामको परिणाम माग्दा समेत कुनै प्रगति विवरण समितिलाई दिन नसकेको भन्दै अधिकारीको चर्को आलोचना गरे ।

सांसदहरुले युरोपियन युनियन (ईयु)को कालोसूचीबाट हटाउनको लागि प्राधिकरणले अहिलेसम्म गरेको काम सन्तोषजनक नभएको भन्दै परिणाम आउने गरी काम गर्न नसकेको बताए ।

सांसदहरुले प्राधिकरणको जिम्मेवारी लिएपछि ७ वटा हवाई दुर्घटना हुँदा समेत प्राधिकरणको नेतृत्व जिम्मेवार नभएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताए ।

प्राधिकरणको नेतृत्वले जिम्मेवारी लिनुपर्ने भएपनि सधैं अरुलाई दोष दिएर पन्छने गरेको आरोप सांसदहरुको छ ।

नियामक र सेवाप्रदायक निकाय फरक–फरक बनाउन आवश्यक रहेको सांसदहरुको भनाइ छ ।

उनीहरुले नेपाली आकाश सुरक्षित छ भन्ने वातावरण बनाउन ऐन कानून तत्काल बनाउन आवश्यक रहेको बताए ।

समिति सदस्यसमेत रहेका नेपाली कांग्रेसका सांसद उदय समशेर जबराले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि प्रश्न उठाए ।

अधिकारीले प्राधिकरणको नेतृत्व सम्हालेदेखि ७ वटा हवाई दुर्घटनामा परिसकेको भन्दै महानिर्देशकले जिम्मेवारी लिनुपर्ने उनले बताए ।

नेपाली आकाशमा आन्तरिक मात्र नभएर विदेशी जहाजहरू समेत दुर्घटनामा परेको उनले बताए ।

सन् १९९६ यता साना ठूला ६० वटा जहाज दुर्घटनामा परिसकेको उनले बताए ।

प्राधिकरणमा प्रदीप अधिकारीले नेतृत्व लिएयता मात्र ७ वटा जहाज दुर्घटनामा परिसकेको भन्दै यसको जिम्मेवारी उनले लिनुपर्ने राणाले बताए ।

अब प्राधिकरणको नेतृत्व फेर्ने कुरामा सोच्ने बेला आएको उनले बताए ।

समिति बैठकमा नेकपा एमालेकी सचेतक सुनिता बरालले हवाई सुरक्षाका विषयमा देश,सरकार र मुलुकको अभ्यास यस्तै हो ? भन्दै प्रश्न गरिन् ।

जिम्मेवार निकायहरुले परिणाम ल्याउने कुरामा विषयान्तर गर्न नहुने उनले बताइन् ।

उनले हवाई सुरक्षामा ईयुको कालोसूचीबाट हटाउने लगायतका विषयमा मन्त्रीले प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको बताइन् ।

सचेतक बरालले कोरियामा नेपाली जहाज उडान गर्ने विषयमा प्राविधिक समस्या देखाएर अड्काएर राख्न नहुने बताइन् ।

प्राधिकरणको नेतृत्व र वायुसेवा निगमको नेतृत्वले सम्बन्धित निकायहरुसँग उडान गर्न तदारुकता नदेखाएको देखिएको उनको आरोप छ । उनले दूतावासले प्रयास गर्दासमेत प्राधिकरण र नेपाल वायु सेवा निगमले काम नगरेको उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्राधिकरणमा प्रदीप अधिकारी महानिर्देशक भएपछि मात्रै ७ वटा विमान दुर्घटना भएको र ११८ जनाको ज्यान गएको बताए ।

पछिल्लो दुई वर्षमा ७ वटा विमान दुर्घटना हुनुमा नागरिक उड्डयन प्राधिकरणको नेतृत्व गरिरहेका अधिकारीको कमजोरी रहेको तथ्यबाट स्पष्ट भएको उनले बताए ।

७ वटा हवाई दुर्घटनाबाट मुत्यु भएका ११८ जनाको नैतिक दायित्व कसले लिने ? भन्दै उनले प्रश्न गरे ।

क्यानका डीजी प्रदीप अधिकारीले प्राधिकरणको नेतृत्व सम्हाले यता मात्र ७ वटा हवाई दुर्घटनामा परिसकेकाले क्षमतामाथि प्रश्न उठाउन सक्ने ठाउँ रहेको उनको भनाइ छ ।

सांसद एकनाथ ढकालले पनि सौर्य एयरलाइन्सको दुर्घटनाका विषयमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पन्छिन खाजेको आरोप लगाए ।

उनले संसदीय समितिमा सांसदहरुले सोधेका प्रश्नबाट कोही पनि भाग्न नमिल्ने बताए ।

संसदीय समितिमा सांसदहरुले सोधिएका प्रश्नको जवाफ दिन सक्नुपर्ने नत्र पदबाट राजीनामा दिनुपर्ने उनले बताए ।

हवाई सुरक्षा सम्बन्धि नियमनकारी निकायबाट समितिमा आएको जवाफबाट आफूहरु सन्तुष्ट नभएको बताए ।
नियमनकारी निकायका प्रमुखले दिएको जवाफ आफ्नो जिम्मेवारबाट भाग्न खोजेको जस्तो देखिएको ढकालले बताए ।

सांसद ढकालले नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमको द्वन्द्वलाई लिएर मन्त्रीले हिँड्न नहुने बताए ।

महानिर्देशक अधिकारीले के भने?

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अहिलेसम्म भएका हवाई दुर्घटना र मुत्यु भएका ९६९ को जिम्मेवारी आफूले लिने बताए ।

सबै दुर्घटनाको नैतिक जिम्मेवारी आफ्नो भएको उनको भनाइ थियो । अहिले राज्यले गठन गरेको आयोग नै आधिकारीक भएको उनले बताए ।

आयोगले छानबिन गरेर जसको गल्ति देखायो त्यसकै गल्ति हुने उनको भनाइ थियो ।

प्राधिकरणको नियममा बादलभित्र जहाज जानु हुँदैन भन्ने रहेपनि जोमसोम दुर्घटनामा पाइलटले बादलमा लैजाँदा विमान दुर्घटना भएको भन्दै त्यसको जिम्मेवारी पनि आफूले लिनु पर्ने हो भन्दै पन्छन खोजे ।

समिति बैठकमा अधिकारीले प्रश्न गर्ने सांसदहरुको नाम लिँदै जवाफ दिन थालेपछि सभापति राजकिशोर यादवले त्यस्तो अधिकार जवाफ दिन आउनेसँग नभएको भन्दै रोकेका थिए।


क्लिकमान्डु