मुस्ताङ हेलिकप्टर चरम आर्थिक समस्यामा, दायित्व भुक्तानी गर्न नसक्दा दुई महिनादेखि ग्राउन्डेड



कर्मचारीको दायित्व, नियामक निकायलाई बुझाउनुपर्ने सेवा सुविधा नतिरेको र कम्तिमा ३ वटा एयरक्राफ्ट हुनपर्ने नियम विपरित एउटा मात्रै जहाज सञ्चालन गरिरहेको कारण मुस्ताङ हेलिकप्टर चरम आर्थिक संकटमा फसेको छ ।

काठमाडौं । निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी मुस्ताङ हेलिकप्टर चरम आर्थिक समस्यामा फसेको छ । हेलिकप्टर कम्पनीले कर्मचारीको दायित्व भुक्तानी गर्न सकेको छैन । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको बक्यौता पनि बुझाएको छैन । र थप जहाज ल्याउन नसक्दा भएको एउटा हेलिकप्टर पनि २ महिनाभन्दा लामो समयदेखि ग्राउण्डेड (थन्किएर बसेको) छ ।

तीनवर्ष अगाडि उडान अनुमति पाएको यो वायुसेवा कम्पनी कोरोना महामारीपछि सञ्चालनमा आएको भए पनि यसले अहिलेसम्म हेलिकप्टरको संख्या थप गर्न सकेको छैन । उड्डयन प्राधिकरणले आफ्नै नियमअनुसार ३ वटा एयरक्राफ्ट हुनुपर्ने नियमलाई कडाएका साथ लागू गर्न सकेन भने मुस्ताङले पनि उक्त व्यवस्थाको अटेरी गरिरहेको थियो ।

कम्पनीले समयमा नै आर्थिक दायित्व भुक्तानी गर्न नसकेको र उडान सुरक्षामा कमजोरी गर्न सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति (एओसी)समेत नवीकरण गरिदिएको छैन ।

हेलिकप्टर कम्पनीको गत भदौ २२ मै एओसी समय सकिएको र आवश्यक उड्डयन सुरक्षाको मापदण्ड पूरा गर्न नसक्दा नवीकरणसमेत नभएको प्राधिकरणले जानकारी दिएको छ ।

उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार सेफ्टी अडिटमा (सुरक्षा मापदण्डको नियमन) कमजोर भएका कारण हेलिकप्टर ग्राउन्डेड भएको हो । एउटा मात्रै हेलिकप्टर भएको कारण पनि उडान सुरक्षामा अपनाउनुपर्ने न्यूनतम मापदण्ड यसले पुर्या‍उन नसकेको कारण यो हेलिकप्टरलाई ग्राउन्डेड गरिदिएको पनि उनले बताए ।

तर, प्राधिकरणकातर्फबाट भन्दा पनि मुस्ताङ हेलिकप्टरको आफ्नै कमजोरीका कारण उडान हुन नसकेको पनि भुलले जानकारी दिए ।

कर्मचारीले १० महिनासम्म तलबभत्ता पाएनन्

मुस्ताङ हेलिकप्टरका कर्मचारीले २ देखि १० महिनासम्मको तलबभत्ता नपाएको भन्दै गुनासो गरेका छन् । मुस्ताङका २० जना कर्मचारीले समयमा तलब नपाएको, दसैं भत्ता कुनै पनि वर्ष नदिइएको, बीमाको व्यवस्था नभएको, सामाजिक सुरक्षाबाट कर्मचारी बञ्चित भएकोसहितका विषयमा गुनासो गरेका छन् ।

वायुसेवा कम्पनीका कर्मचारीले विमानस्थल प्रवेशको पाससमेत नपाउँदा दैनिक कार्यसम्पादनमै असर परेको गुनासो पनि गरेका छन् । विमानस्थलभित्र आवतजावत गर्ने सवारी नभएको, कार्गो भ्यानलाई पेसेन्जर सवारी बनाएर जोखिम हुने गरी वायुसेवाले काम गरिहेको सम्बन्धित कर्मचारीको भनाइ छ ।

कम्पनीमा विदेशी पाइलटलाई पर्यटक भिसामा काममा लगाएको आरोप पनि कर्मचारीले लगाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिरकरणले भने श्रम स्वीकृति बिना काममा लगाउन नपाइने भएकोले कुनै पनि विदेशी पाइलटलाई पर्यटक भिसामा लगाउन नपाइने बताएको छ ।

हेलिकप्टरमा कार्यरत कर्मचारीले वायुसेवा कम्पनीको एओसी नवीकरण हुनु अगडि नै कर्मचारीको दायित्व पूरा गर्न आग्रहसहित उड्डयन प्राधिकरणको फ्लाइट सेफ्टि स्याण्डर्डड डिपार्टमेन्टमा उजुरी दिएका छन् ।

२३ लाख भुक्तानी नगर्दा उडान अनुमति रोकियो

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीले विभिन्न विमानस्थल कार्यालयलाई बुझाउनुपर्ने २३ लाख रुपैयाँ भुक्तानी नगर्दा गत साउन २५ मै उडान रोकेको जानकारी दिएको छ ।

नागरिक उड्डयन निमयावली–२०५८ र विमानस्थल सेवा शुल्क नियमावली–२०७८ बमोजिम गत साउनमा ४६ लाख भुक्तानी नगर्दा सिम्रिक एयरको उडानमा रोक लगाउदा मुस्ताङपनि परेको थियो । सिम्रिकले तुरुन्तै भुक्तानी गरेर उडान अनुमति खुलाएको थियो भने मुस्ताङले भुक्तानी नगरेको र उड्डयन सुरक्षामा असर पर्ने गरी काम गरिरहेकोले उडान अनुमति निलम्बन गरेको जानकारी प्राधिरकणका सूचना अधिकारी भुलले दिए ।

मुस्ताङले त्रिभुवन विमानस्थलसहित विभिन्न १३ वटा विमानस्थलमा पैसा बुझाउन बाँकी छ । यो वायुसेवाले ल्याण्डिङ, पार्किङ गर्दाको पैसा बुझाउन बाँकी भएको पनि प्राधिकरणको भनाइ छ । यो वायुसेवाले बुझाउन बाँकी रकममा त्रिभुवन विमास्थलको मात्रै १९ लाख रहेको छ । दुई लाख लुक्ला विमानस्थल कार्यालयको तिर्न बाँकि छ भने भोजपुर विमाानस्थलमा ८४ रुपैयाँ तिर्न लगायत अन्य विमानस्थलहरुमा ५० हजार रुपैयाँसम्म तिर्न बाँकी रहेको छ ।

एकसाता भित्रै अनुमति लिएर उडान गर्ने मुस्ताङको दाबी

मुस्ताङ हेलिकप्टरले भने एक साताभित्रै अनुमति लिएर नियमित उडान थाल्ने दाबी गरेको छ । एउटा नयाँ हेलिकप्टर आउने तयारीमा रहेको जानकारी दिँदै कम्पनीले प्राधिकरणमा एओसी नवीकरणको लागि आवश्यक प्रक्रिया भइरहेकोले एक साताभित्रै नियमित उडानमा फर्कने दाबी मुस्ताङ हेलिकप्टरका प्रवन्ध निर्देशक रोनन लामिछानेको छ । उनले भने, ‘काम गर्दै जाँदा एओसी नवीकरणमा केही समय ढिलो भएकोले हेलिकप्टर नउडेको हो ।’

सबै कर्मचारीको दायित्व भुक्तानी भइरहेको र कसैको केही समय ढिलो भएको हुनसक्छ तलबभत्ता नै नभएको भनेर गरिएको हल्ला अनावश्यक भएको पनि लामिछानेले स्पष्ट पारे ।‘कुन कर्मचारीको १० महिनको तलब बाँकी छ ? त्यसको लिस्ट ल्याउनुस्, अनावश्यक रूपमा गरिने हल्लाको पछाडि नलाग्नुस्’ कर्मचारीले तलबभत्ता नदिएको विषयमा लामिछानेले भने ।

उड्डयन प्राधिकरणको नियम कानून पूरा गरेरै हेलिकप्टर उडान गरिरहेकोले पनि उडान सुरक्षामा कुनै कमि कमजोर नगरिएको दाबी पनि उनले गरे ।


क्लिकमान्डु