राजनीतिसँगै व्यवसायमा आक्रामक बन्दै उमेश श्रेष्ठः ७ वटा होटलमा प्रवेश गरिसके, अरु पनि किन्दै



काठमाडौं । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय व्यवसायी उमेश श्रेष्ठ होटल क्षेत्रमा आक्रामक बन्दै गएका छन् । पछिल्लो एक वर्षदेखि होटल क्षेत्रमा लगानी बढाउन थालेका श्रेष्ठ दुईवटा पाँचतारेसहित ७ वटा होटलमा प्रवेश गरिसकका छन् ।

श्रेष्ठ सिद्धार्थ ग्रुपले सञ्चालन गरेको भैरहवाको सिद्धार्थ भिलासासहित सोही ग्रुपको नेपालगन्जमा रहेको सिद्धार्थ होटलमा प्रवेश गरेका छन् । श्रेष्ठले सिद्धार्थ भिलासाको १० प्रतिशत र नेपालन्जको सिद्धार्थ होटलको करिब ६ प्रतिशतको सेयर स्वामित्व किनिसकेका छन् ।

सिद्धार्थ बिजनेस अफ हस्पिटालिटीको पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा करिब ५ बिगाहा क्षेत्रफलमा फैलिएको छ । यसमा भिलासा भिएक्जुकेटिभ स्विट, २ वटा स्विट, ५ वटा जुनियर स्विट र ७७ एक्जुकेटिभ डिलक्स गरी ८५ वटा कोठा रहेका छन् । यो होटलमा साढे २ अर्ब रुपयाँभन्दा बढी लगानी रहेको छ । यो होटलमा पाँचवटा कन्फ्रेरेन्स हल र पाँचवटै रेस्टुरेन्ट आउटलेट छन् । होटलमा १ हजार ५ सय जना क्षमताको ब्याङ्क्वेट हल छ । यसले २०८० चैतदेखि पाँचतारे होटलको मान्यता पाएको छ ।

श्रेठ यसअघि २०८० असोजबाट सञ्चालनमा आएको चितवनको सिद्धार्थ भिलासा वनवसमा जोडिसकेका छन् । श्रेष्ठले चितवनको सिद्धार्थ वनावसमा करिब ५० प्रतिशतको स्वामित्व लिएका छन् । यो होटलको व्यवस्थापन सिद्धार्थ ग्रुपले नै हेरिरहेको छ ।

सिद्धार्थ ग्रुपले होटल व्यवस्थापनको जिम्मा लिएपछि श्रेष्ठले चितवनकै व्यवसायी वासु ढुंगानासहितका व्यवसायीसँग साझेदारी गरेका छन् । ढुंगानाका अनुसार हाेटलकाे सबै जिम्मेवारी श्रेष्ठलाई नै दिइएकाे छ । यो होटलकाे अध्यक्ष श्रेष्ठ भएको र वरिष्ठ व्यवसायी तथा अनुभवी भएकोले पनि होटलकाे नेतृत्व उनैलाई दिएको पनि ढुंगानाले क्लिकमान्डुलाई जानकारी दिए ।

सिद्धार्थ हस्पिटालिटीले आफ्नो लक्जरी ब्रान्ड सिद्धार्थ वनवासको रुपमा यो होटलमा सेवा दिइरहेको छ । यो होटल सञ्चालनमा करिब ५० करोड रुपैयाँ लगानी भएको उल्लेख गरिएको छ । सिद्धार्थ वनवास ३ विगाहा क्षेत्रफलमा फैलिएको छ । यो होटलमा २४ भिल्ला र २ स्वीटसहित ३४ सुविधायुक्त कोठा छन् ।

श्रेष्ठ यसअघि गत वैशाखदेखि दरवारमार्गको पाँचतारे होटल अन्नपूर्णमा प्रवेश गरेका छन् । अन्नपूर्ण स्क्वायरमार्फत श्रेष्ठ र व्यवसायी मीनबहादुर गुरुङले अन्नपूर्णमा लगानी गरेका छन् । श्रेष्ठ र गुरुङ समूहको प्रवेशपछि करिब ६ अर्ब रुपैयाँ लगानी गरेर मल्टिप्लेक्सहितको सुविधासम्पन्न होटल बन्दै छ । हाल भएको होटलको संरचनालाई भत्काएर नयाँ बनाउन लागिएकोले आगामी ४ वर्षपछि मात्रै अन्नपूर्ण स्क्वायर सञ्चालनमा आउने उल्लेख छ ।

त्यसैगरी ३ वर्षअघि धुलिखेलमा ४० करोड लगानीमा सञ्चालनमा आएको ‘हिमालयन दृश्य’ रिसोर्टको मुख्य लगानीकर्ता हुन् श्रेष्ठ। राजधानी काठमाडौंदेखि करिब ३० किलोमिटरको दूरीमा रहेको धुलिखेलमा उमेशसँगै सीबी क्षेत्री, श्यामकाजी महत र अशोक श्रेष्ठको लगानी छ ।

१८ रोपनी जग्गामा फैलिएको रिसोर्टमा २ वटा स्वीट रुम र ४१ माउन्टेन भ्यू रुमसहित ४३ वटा कोठा छन् । रिसोर्टलाई कलात्मक ढंगले डिजाइन गरिएको छ । रिसोर्टमा दुईवटा ठूला हल छन् । चितवनमा सिराइचुली, सेन्ट्रलपार्क, रिसोर्टमा पनि लगानी छ ।

हाल ७ वटा होटलमा लगानी गरिसकेका श्रेष्ठले पर्यटकीय नगरी पोखरासहितका अन्य स्थानमा पनि होटल खोजिरहेका छन् ।संखुवासभाको चैनपुरमा पनि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी र राष्ट्रिय वाणिज्य बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठसँग मिलेर उमेशले होटेल खोल्दैछन् ।

को हुन् श्रेष्ठ ?

पूर्वराज्यमन्त्रीसमेत रहेका श्रेष्ठ नेपाली कांग्रेसका कोषाध्यक्ष पनि हुन् । श्रेष्ठले शिक्षा, स्वास्थ्य, पर्यटन, ऊर्जा, कृषि र बैंकिङ क्षेत्रमा लगानी गरेका छन् । यसअघि २०७८ असार उनी स्वास्थ्य राज्यमन्त्री बनेका थिए । भोजपुरमा जन्मिएका श्रेष्ठ ४५ वर्षअघि काठमाडौं आएका थिए । तत्कालीन समयमा २ हजार रुपैयाँ बोकेर राजधानी छिरेका उनी हाल २५-३० अर्ब रुपैयाँको मालिक बनेका छन् ।

शिक्षा क्षेत्रमा सबैभन्दा धेरै लगानी गरेका उनी निजी विद्यालयहरुको संघ प्याब्सन र हिसानमा अध्यक्ष समेत भएर काम गरिसकेका छन् ।

श्रेष्ठ प्राइम बैंकको व्यक्तिगत तर्फका सबैभन्दा ठूलो सेयरधनी हुन् । यो बैंकमा श्रेष्ठको २‍.४६ प्रतिशत सेयर स्वामित्व अर्थात् ४७ लाख ७३ हजार १३७ कित्ता सेयर स्वामित्व छ । उनी प्राइम बैंकका पूर्वअध्यक्षसमेत हुन् ।

श्रेष्ठले ललितपुरको लिटिल एञ्जल्ससँगै विभिन्न विद्यालय र कलेजमा पनि लगानी गरेका छन् । वार्षिक डेढ अर्ब रुपैयाँको कारोबार गर्ने लिटिल एञ्जल्ससँग सयौं रोपनी जग्गा छ, जसको भ्यालुएसन अर्बौंको छ । श्रेष्ठको लगानीमा ९ वटा जलविद्युत् आयोजना छन् ।

श्रेष्ठले तनहुँमा घाँसी एग्रो रिसर्च एण्ड रिसर्च प्रालिमा लगानी बिस्तार गरेका छन् । त्यसबाहेक उनले कृषि क्षेत्रमा पनि लगानी बिस्तार गरेका छन् ।

जुम्लामा स्याउखेतीदेखि चितवनमा कृषि फार्म र कोल्डस्टोरमा पनि उनको लगानी छ । सोलार, हाइड्रो लगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिङ् स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्यका साथ रिन्यु होल्डिङ्स पनि श्रेष्ठले सञ्चालन गरिरहेका छन् ।

रिन्यु होल्डिङ्सले हालैमात्र भाटभटेनी सुपरमार्केटको छतबाट करिब १३ मेगावाट सौर्य उर्जा निकाल्ने सम्झौता गरिसकेको छ । हाल उनको नेतृत्वमा जनमैत्री अस्पताल र महेन्द्र नारायण निधि अस्पताल सञ्चालनमा छन् ।

महेन्द्र नारायाण निधि अस्पताल ट्रस्टीहरुको लगानीमा सञ्चालनमा आएको हो । जसमा १ हजार जना ट्रस्टी छन् भने उनीहरुले २ लाख रुपैयाँदेखि २ करोड रुपैयाँसम्म लगानी गरेका छन् । उनको लगानीमा एकान्तकुनामा हेलोइस अस्पताल पनि छ । जुन अस्पताल उच्च आय भएका वर्गका लागि लक्षित छ । यी बाहेक पनि अन्य धेरै ठाउँमा उनको लगानी छ ।

नेपाली कांग्रेसबाट अत्याधिक अवसर पाउने व्यवसायीका रुपमा श्रेष्ठ परिचित छन् । हालै नेपाली कांग्रेसका कोषाध्यक्ष भएका श्रेष्ठ कांग्रेस सभापति शेरबहादुर देउवाका अत्यन्तै निकट मानिन्छन् ।

२०७९ मंसिरमा भएको आम निर्वाचन चितवन क्षेत्र नं. २ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग हारेपछि श्रेष्ठ व्यवसाय विस्तारमा झन् आक्रामक देखिएका हुन् । पहिलो पुस्ताको व्यवसायी भएर पनि अर्बौंको साम्राज्य विस्तार गर्न सफल श्रेष्ठले राजनीति र व्यवसायलाई सँगसँगै अघि बढाइरहेका छन् ।


राजु बास्कोटा