४० करोड लगानीमा धुलिखेलमा खुल्यो ‘हिमालय दृश्य रिसोर्ट’, यस्ता छन् सुविधा



काठमाडौं । कोरोनाले थलिएको पर्यटन व्यवसायमा लगानी थपिने क्रम जारी छ । कोरोना महामारीका कारण होटलहरु सञ्चालन हुन नसकिरहेका बेलामा धुलिखेलमा भने गुणस्तरीय सुविधासहितको नयाँ रिसोर्ट सञ्चालनमा आएको छ ।

राजधानी काठमाडौंदेखि करिब ३० किलोमिटरको दूरीमा रहेको धुलिखेलमा ४० करोड रुपैयाँ लगानीमा ‘हिमालयन दृश्य’ रिसोर्ट निर्माण भएको हो ।

सांसद तथा शिक्षासेवा उमेश श्रेष्ठ, सीबी क्षेत्री, श्यामकाजी महत र अशोक श्रेष्ठले उक्त रिसोर्ट निर्माण गरेका हुन् ।

‘कोरोना महामारीका कारण निर्माणको काम केही समय पर धकेलियो, अहिले एक महिनाअघि मात्रै सञ्चालन शुरु भएको हो,’ सञ्चालक सीबी क्षेत्रीले भने ।

उनले पर्यटकलाई स्तरीय सेवा दिन आफूहरु प्रतिबद्ध रहेको भन्दै पर्यटकलाई २÷३ दिन बिताउने गरी प्याकेज ल्याउने तयारीमा रहेको बताए ।

३५ वर्ष अघि खरिद गरेको १८ रोपनी जग्गामा २ वर्षअघिदेखि रिसोर्ट निर्माणको काम शुरु गरिएको थियो । रिसोर्टमा २ वटा स्वीट रुम र ४१ माउन्टेन भ्यू रुमसहित ४३ वटा कोठा छन् ।

होटलमा विभिन्न कार्यक्रम गर्नका लागि सेमिनारका साथै साउना, ज्याकुजी, स्वीमिङ पुललगायतका सुविधा छ । रिसोर्टलाई कलात्मक ढंगले डिजाइन गरिएको छ ।

रिसोर्टमा दुई वटा ठूला हल छन् । जसलाई गौरी बोर्ड रुम र शंकर बल रुम नाम दिइएको छ । गौरी बोर्ड रुम २२०० स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । जहाँ १७५ जना अट्न सक्छन् भने शंकर बल रुम ३०५५ स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । जहाँ ३५० जना मानिस अट्न सक्छन् ।


क्लिकमान्डु