ऋण तिर्न सिर्जनाले ३५ वर्षका लागि भाडामा दिइन् अन्नपूर्ण होटल, पूर्वमन्त्री श्रेष्ठ र भाटभटेनीका गुरुङ भित्रिए



काठमाडौं । दरबारमार्गमा पाँच दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको होटल डेला अन्नपूर्ण ३५ वर्षको लागि भाडामा लागेको छ । पाँचतारे होटल अन्नपूर्णमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र लिटिल एन्जेल्स (एलए)का सञ्चालकसमेत रहेका कांग्रेस नेता एवं पूर्वमन्त्री उमेश श्रेष्ठको समूहले लगानी गरेका छन् ।

यो होटल ३५ वर्षको लागि भाडामा लिने सहमति भएको हो । ‘३५ वर्षको लागि भाडा लिने गरी सहमति भएको छ,’ श्रेष्ठले क्लिकमान्डुसँग भने, ‘यो सहमतिसँगै हाम्रो समूहको सेवा उद्योगमा प्रवेश भएको छ । बाँकी विषयमा अहिले थप जानकारी दिने समय भएको छैन ।’

आगामी केही दिनमा यो डिलले अन्तिम रुप पाउने छ ।

१५३ कोठाको यो पाँचतारे होटलको कार्यकारी निर्देशक सिर्जना राणा हुन् । होटलका सञ्चालकमा सिर्जना र उनका श्रीमान कपिल शमसेर राणा छन् ।

कोरोना महामारीपछि बन्द भएको यो होटल त्यसपछि सञ्चालन हुन सकेको छैन । होटलमा ३० वटा कोठा चालु अवस्थामा राखेर होटल परिसरमा क्यासिनो भने सञ्चालन भइरहेको छ । यो होटलमा कोरोना अगाडिसम्म साढे ३०० कामदार थिए । कोरोनापछि होटल बन्द गरेर व्यवस्थापनले मजदुरलाई घर पठाएको छ भने होटल सञ्चालनको टुंगो पनि लागेको थिएन ।

कोरोना महामारी अगाडि यो होटलले सन् २०१९ मा ९३ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०१८ मा भने यो होटलको सञ्चालन आम्दानी ९८ करोड रुपैयाँको थियो । यो होटलले पोखराको फिस्टेल लज र चितवमा अन्नपूर्ण जगतपुर लजसमेत सञ्चालन गरेको छ । यसको पोखराको फिस्टेजल लज भने सञ्चालनमै छ ।

अन्नपूर्ण होटल परिसरको ६ रोपनी जग्गा यसअघि नै बिक्री गरेर बैंकको ऋण तिर्ने तयारी होटलका सञ्चालहरुले गरेको थिए । होटल परिसरको जग्गा किन्न हिमालयन रिइन्स्योरेन्स तयारसमेत भइसकेपछि हदबन्दी र स्वामित्व विवादका कारण जग्गा बिक्री हुन सकेको थिएन । यो होटलले ४२ रोपनी जग्गा ओगटेको छ ।

होटलले हिमालयन बैंकबाट लिएको करिब डेढ अर्ब रुपैयाँ कर्जा तिर्न जग्गा बेच्न खोजेको थियो । तर, जग्गा बिक्री नभएपछि र होटलसमेत बन्द भएका कारण अन्नपूर्ण होटलले ऋण चुक्ता गर्न नसकेको उल्लेख छ ।


क्लिकमान्डु