रास्वपा सांसद् सोबिताका श्रीमान् लगानीकर्ता रहेको ‘कर्णाली याक्स’ बन्नसक्छ सबैभन्दा महँगो ब्रान्ड



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने सुरुवाती चरणमा नेपाल क्रिकेट संघ (क्यान) ले ६ टोलीको नाम सोच्यो । क्यानले बनाएको पहिलो योजनामा नै कर्णाली याक्स सामेल थियो ।

ती टिम किन्न १६ जना फ्रेन्चाइजी मालिकहरुले चाहना राखे । त्यसपछि क्यानले दुई नाम थप्यो । ८ टोली बनिसके पछि पनि कर्णाली प्रथामिकतामा नै थियो ।

कर्णालीमा क्रिकेट लोकप्रिय छ । देशकै दुर्गम प्रदेश र नेपाली क्रिकेटको धेरै समर्थक भएका ठाँउ कर्णाली टिम अक्सनमा सबैभन्दा सस्तो टोलीको बन्यो ।

टिमहरुमाथि ठूलो बोली लाग्दा कर्णालीमा धेरैको चासो देखिएन । नामको हिसाब र लगानीकर्ताले चासो कमै देखाए पनि कर्णाली अहिले एनपीएलमा सबैभन्दा चर्चित टोली बनेको छ । कारण हो, टिममा शिखर धवन लगायत विदेशी खेलाडी अनुबन्धन गर्नु र खेलाडी अक्सनमा लक्कि सावित बन्नु । लक्की ड्रमार्फत् गुलसन झा र देव खनालजस्ता उदीयमान क्रिकेटर आफ्नो पोल्टामा पार्न सकेकाले कर्णालीलाई निकै भाग्यमानी मानिएको छ ।

कर्णालीको जुम्लाबाट उदायको खस सभ्यता पछि विकसिक भएर नेपालभर फैलिएको कुरा चर्चामा आएपछि कर्णाली अझ चर्चित टिम बनेको छ । चर्चाको हिसाबले एनपीएलको सबैभन्दा चर्चित टोली कर्णाली भए पनि समर्थकको संख्याका आधारमा पहिलो स्थानमा सुदूरपश्चिम रोयल्स आउँछ । सुदूरपश्चिम एनपीएलमा दोस्रो तेस्रो सस्तो टोली हो ।

टोलीहरुको अक्सनमा सबैभन्दा महँगो टोली पोखरा एभेन्जर्स हो । पोखरा ३ करोड ५७ लाख रुपैयाँमा बिक्री भएको थियो । मालिकहरुले लगाएको बोलीअनुसार काठमाडौं गुर्खाज ३ करोड ३३ लाखमा खरिद हुँदा जनकपुर बोल्ट्सको मूल्य २ करोड ५ लाख, लुम्बिनी लायन्सको १ करोड ८६ लाख तथा चितवन राइनोजको १ करोड ७६ लाख, सुदूरपश्चिम रोयल्सको १ करोड ६८ लाख, विराटनगर किङ्सको १ करोड ५१ लाख र सस्तो टोली कर्णाली याक्स १ करोड ११ लाखमा बिक्री भएको थियो ।

कसरी ठूलो ब्रान्ड बन्न सक्छ कर्णाली ?

टोलीहरुको बोली लागेको पहिलो दिन कर्णालीमा कसैको नजर थिएन । जब खेलाडीको बोली लाग्यो तब कर्णालीको चर्चा सुरु भयो ।

नेपाली टोलीका चर्चित तथा उदीयमान खेलाडी गुलसन झालाई लक्कि ड्र टिममा मार्फत भित्र्याउन सफल भयो, कर्णाली । टिमका मालिकहरुको खुसीले नै कर्णालीको टिमको रिल्सहरु बन्दै चर्चामा आयो ।

त्यसपछि कर्णालीको जर्सी, अफिसियल एन्थम, चर्चित गितमा खेलाडीको डान्स लगायत कुराले कर्णालीलाई समर्थकमाझ अझै चर्चामा चुलिन सहज बनायो ।

अब त कर्णालीलाई बलियो टोलीको रुपमा हेर्न थालिएको थियो । निर्माण कम्पनी हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीका लागि बलियो बन्ने मुख्य आधार हो, भारतीय पूर्व खेलाडी शिखर धवनको आगमन । लोकप्रियता कमाउन शिखरको आगमन कर्णालीका लागि बरदान साबित भयो ।

धवनको आगमनले कर्णालीलाई देशमा मात्र होइन विदेशी मिडिया र समर्थकको सामु पुर्यायो । विदेशीको समेत ध्यान खिचिए पछि अहिले कर्णालीको चर्चा यत्रतत्र छ ।

सुरुवातमा कर्णालीका समर्थकले मात्र समर्थन गरेको कर्णालीलाई देशभरको समर्थन छ । शिखर धवनलाई सामाजिक सञ्जालदेखि अन्य प्लेटफर्ममा फलो गर्ने समर्थकले कर्णालीलाई पनि फलो गरिरहेका छन् । त्यस्तै कर्णालीले ओमानका कप्तान जिसन मक्सुदलाई अनुबन्ध गर्दा पनि उत्तिकै चर्चा पायो ।

यस्तै कर्णालीले चर्चित भ्लगर सिसन बानियाँलाई युथ एम्बासडर बनाउँदा पनि निकै चर्चा कमायो । युवामाझ सिसन निकै चर्चित नाम हो ।

यस्तै कारणले अब नेपाली तथा विदेशी ब्रान्डका लागि अर्काे सिजन मुख्य केन्द्र कर्णाली याक्स बन्ने पक्का छ ।

कुनै पनि प्रोडक्ट र ब्रान्ड बन्न पनि अर्काे चर्चित ब्रान्ड सँगसँगै यात्रा तय गर्नु पर्ने हुन्छ । नेपाल प्रिमियर लिग आफैं ब्रान्ड बनिसकेको स्थितिमा पहिलो सिजनमै चर्चा कमाएको कर्णालीका लागि चर्चित ब्रान्डहरु जोड्न थालेका छन् ।

प्रतियोगिता सुरु हुनुपूर्व नै चर्चा कमाएको कर्णालीले मुख्य प्रायोजक भने खेलको अन्तिम समयमा घोषणा गरेको हो । कर्णालीको टाइटल स्पोन्सरका रुपमा ‘महिन्द्रा’ खेल सुरु हुनु ३ दिन अघि मात्र सार्वजनिक भएको हो ।

चर्चैचर्चाको केन्द्रबिन्दुमा रहेको कर्णालीलाई अर्काे सिजनका लागि कुनै पनि चिन्ता नभएको कर्णालीको म्यानेजमेन्ट टोलीको दावी छ । व्यवस्थापनको यो कन्फिडेन्सलाई टिमको समर्थक र सामाजिक सञ्जालको चर्चाले मलजल गर्दछ । तसर्थ, कर्णाली एक बलियो ब्रान्ड बन्ने कुरामा दुईमत छैन ।

कर्णालीले प्रतियोगिताको पहिलो र दोस्रो खेलमा हार बेहोरे पनि तेस्रो खेलमा जित निकाल्दै कमब्याक गरिसकेको छ । चर्चाको केन्द्र शिखर धवनले सोचेअनुरुप प्रदर्शन गरिरहँदा कर्णालीका लागि थप सहज भएको छ ।

फ्रेन्चाइजीमा जित र चर्चाका हिसाबले टिममा लगानी हुन्छ र सोहीअनुसार टिमसँग कर्पोरेट जोडिन्छन् । कर्णालीसँग जित र चर्चा दुवै जोडिन थाल्नुले कर्णालीका लागि ठूलो ब्रान्ड बन्ने बाटो खुलिसकेको छ ।

टिम किन्दा यतिको चर्चा कमाइन्छ भन्ने सोचेका थिएनौंः घिमिरे

कर्णाली याक्सका एक लगानीकर्ता गिहेन्द्र घिमिरेले टिम खरिद गर्दा यो किसिमको चर्चा कमाउने आशा गरेका थिएनन् । अहिले विश्व क्रिकेटका चर्चित खेलाडी शिखर धावनको आगमन, कर्णालीको कल्चरलाई टिमसँग जोड्दा पनि चर्चा कमाउन सफल भएको उनको अनुभव छ ।

‘विश्व क्रिकेटका चर्चित खेलाडी शिखर धवनलाई हामीले टिममा अनुबन्ध गर्दा नै टिमले चर्चा कमाउनेमा विश्वस्त थियौं । अहिले टिमको चर्चा र धेरै ब्रान्डहरु हामीसँग जोड्न आउनु भएको छ । निकै नै खुसी लागेको छ,’ घिमिरेले क्लिकमान्डुसँग भने ।

कर्णालीले अझै विश्व चर्चित खेलाडीलाई ल्याउने सोच राखेको छ । यो सिजनमा जस्तै अर्काे सिजनमा विश्व क्रिकेटमा चर्चा कमाएका नाम अनुबन्ध गर्ने कर्णालीको योजना रहेको र त्यसको लागि कर्णाली तयार रहेको घिमिरेले बताए ।

घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतमका श्रीमान् हुन् ।

सर्वाधिक महँगो खेलाडीः शिखर धावन, प्रतिम्याच फिसः ४० लाख नेपाली रुपैयाँ (कुल १ करोड ६० लाख रूपैयाँ)
मार्की खेलाडी तथा कप्तानः सोमपाल कामी
महँगा नेपाली खेलाडीहरुः सोमपाल कामी (२० लाख रुपैयाँ), गुलशन झा (१५ लाख रुपैयाँ), नन्दन यादव (११ लाख रुपैयाँ), देव खनाल (१० लाख रुपैयाँ)
स्वामित्वः हिमालयन बिल्डर्स एन्ड इन्जियर्स
मालिकहरुः झनक दत्त खनाल र गिहेन्द्र घिमिरे
प्रायोजकहरुः महिन्द्रा (टाइटल स्पोन्सर), टिम-११ (सह-प्रायोजक), हिल्टन होटेल (सह-प्रायोजक) र टेन प्लास्ट (स्ट्रेन्थ पार्टनर)
ब्रान्ड एम्बासडरः स्वस्तिमा खड्का
युथ आइकनः सिसन बानियाँ
हालसम्म उत्कृष्ट पर्फमेन्स गर्नेहरुः शिखर धवन (१३१ रन, सर्वाधिक रनमा तेस्रो), विपिन शर्मा (४ विकेट, सर्वाधिक विकेट लिनेमा छैठौं), विपिन शर्मा (इकोनोमी ४.८७ रन प्रति ओभर, सर्वाधिक सस्तो बलरमा पाचौं) र अर्जुन घर्ती (१३७ को स्ट्राइक रेट, सर्वाधिक विष्फोटक खेलाडीको सूचीमा दशौं)


भुपेस उपाध्याय