सहकारी प्रकरण: रवि लामिछानेले कर तिरेको तथ्यांक संकलन गर्दै प्रहरी, जिबी राईको २ वटा प्यान भेटियो

आय विवरण माग भएपछि आन्तरिक राजस्व कार्यालयमा कामको चाप



सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्ने प्रयोजनका लागि प्रहरीले सहकारी छिनामिना संलग्न व्यक्तिहरु कर तिरेको विवरण माग गर्न सुरु गरेको छ ।

काठमाडौं । सहकारी अपचलनमा संलग्नमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विस्तृत छानबिन सुरु गरेपछि आन्तरिक राजस्व कार्यालयमा कामको चाप बढेको छ ।

प्रहरीले बिभिन्न सहकारीका सञ्चालक तथा पदाधिकारीले स्थापना गरेका कम्पनीको आय विवरण माग गरेपछि आन्तरिक राजस्व कार्यालयमा कामको चाप बढेको हो ।

प्रहरीले रवि लामिछाने, जिबी राईसहित संसदीय छानबिन समितिले अध्ययन गरेका २९ सहकारीका सञ्चालनमाथि छानबिन गरिरहेको छ ।

‘सहकारीका सेयरधनीले पछिल्लो १० वर्षमा गरेको आम्दानी र उहाँहरुले तिर्नु भएको कर तथा सहकारी सञ्चालकहरुले स्थापना गरेका विभिन्न कम्पनीको पछिल्लो १० वर्षमा गरेको आम्दानी र कर तिरेको विवरण माग हुने गरेको छ,’ आन्तरिक राजस्व विभागका एक अधिकारीले भने, ‘अहिले कर कार्यालयका साथीहरुले नियमित काम गर्न पाउनु भएको छैन । प्रहरीबाट ३ दिनमा १० वर्षको विवरण पठाउने पत्र आउँछ । त्यसैले प्राय साथीहरु विवरण तयार पार्नमा लाग्नु भएको छ ।’

आन्तरिक राजस्व विभागका अनुसार जिबी राइले आन्तरिक राजस्व कार्यालय बानेश्वर तथा आन्तरिक राजस्व कार्यालय महाराजगञ्जगरी २ वटा कार्यालयबाट स्थायी लेखा नम्बर (प्यान) लिएको भेटिएको छ ।

‘जिबी राईले स्थापना गरेका प्राय सबै कम्पनीको विवरण मागिएको छ । हामीले उक्त कम्पनीले गरेको आम्दानी र तिरेको कर सम्बन्धी जानकारी बुझाएका छौं,’ स्रोतले भन्यो, ‘देशभर सहकारीका विषयमा अनुसन्धान सुरु भएपछि हामीले नियमित काम गर्न पाएका छैनौं । ’

स्रोतका अनुसार सहकारी ठगीमा संलग्न व्यक्तिमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्ने उद्देश्यले कर सम्बन्धी विवरण माग भएको हो ।

स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्थापना गरेका कम्पनी र उनले व्यक्तिगत रुपमा तिरेको कर सम्बन्धी विवरण समेत प्रहरीले माग गरेको छ ।

सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले समेत मुद्दा चलाउन सक्ने गरी सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन संशोधन भइसकेकाले आम्दानी र सम्पत्तिको विषयमा अध्ययन गर्न कर सम्बन्धी विवरण मागिएको स्रोतले जानकारी दिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गत भदौ ३१ गते प्रतिनिधि सभाका सभामुखलाई छानबिन प्रतिवेदन बुझाएको थियो ।

गत असोज ४ गते सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको थियो ।

सहकारीको बचत अपचलनमा रास्वपा सभापति रवि लामिछाने संलग्न भएको आरोप लगाउँदै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग गरेको थियो ।

प्रतिनिधि सभाले २०८१ जेठ १५ गते सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा छानबिन गरी सुझाव सहितको प्रतिवेदन पेस गर्न नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिमा नेकपा एमालेको तर्फबाट सरिता भुसाष, नेपाली कांग्रेसका तर्फबाट ईश्वरी देवी न्यौपाने र दिलेन्द्र प्रसाद बडु, माओवादी केन्द्रका तर्फबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट ध्रुव बहादुर प्रधान सदस्य थिए ।

समितिलाई सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने जिम्मेवारी दिएको थियो ।

यस्तै संसद्ले समितिलाई समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने समेत म्यान्डेट दिएको थियो । समितिले समस्यामा रहेका २९ वटा सहकारीका विषयमा छानबिन गर्दै सरकारलाई कानुनी कारबाहीको दायरामा ल्याउन सुझाव दिएको थियो ।

अहिले मुख्य गरी २९ वटा सहकारीमा सञ्चालक, पदाधिकारी तथा उच्च व्यवस्थापनमा रहेका व्यक्तिहरु माथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छानबिन गरिरहेको छ ।

हाल कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ्ग एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेड र स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्था गरी ३ वटा संस्थाले सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न गरिसकेका छन् ।

लामिछानेमाथि अहिले कास्की, रुपन्देही, काठमाडौं, चितवन र पर्सामा रहेका विभिन्न सहकारीको बचत अपचलनमा अनुसन्धान भइरहेको छ । उनी कास्की प्रहरीको हिरासतमा रहेका छन् भने सोमबार उनलाई प्रहरीले पर्सा लगेको छ । पर्साको सानो पाइला सहकारीको रकम अपचलन गरेको आरोपमा उनीमाथि पर्सामा अनुसन्धान भइरहेको छ । आज जिल्ला सरकारी वकिलको कार्यालयमा उनको वयान भइरहेको छ ।

जीबी राई भने फरार छन् ।


क्लिकमान्डु