सबैभन्दा बढी विष ‘रायो’ सागमा भेटियो : परीक्षणमा ८७ % सम्म विष पाइयो
काठमाडौं । मानव स्वास्थ्यको लागि सागपात निक्कै महत्त्वपूर्ण मानिन्छ । रायोमा पाइन्ने भिटामिन ए, सी र केयुक्त तत्वले मानव शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छ भने क्यान्सरको जोखिमलाई पनि यसले कम गर्छ । तर त्यहि सागपातमा अत्याधिक विषादीको मात्रा पाइएको छ ।
सागपातमध्ये रायोको साग नेपालीको भान्छामा निक्कै रुचाइन्छ र स्वादिलो मानेर खाइन्छ पनि । सर्वसाधारणको भान्छादेखि होटेल तथा रेष्टुराको मेनुमा रायो साग सूचीकृत हुन्छ ।
अत्याधिक रुचाइएको र रायोको सागमा पछिल्लो समयमा अत्याधिक विषादी प्रयोग भएको पाइएको छ ।
सरकारी स्वामित्वको देशकै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल बजारमा नियमित रुपमा हुने परीक्षणको क्रममा पछिल्लो समयमा सबैभन्दा बढी रायो सागसहित चम्पा सागमा विषादीको मात्रा पाइएको हो ।
केन्द्रीय कृषि प्रयोगशालाका अनुसार परीक्षणको क्रममा रायो सागमा ३९ देखि ८२ प्रतिशतसम्म विषादीको अवशेष भेटिएको हो।
विषादी छर्केपछि वेटिङ्ग पिरियड (पर्खनुपर्ने अनिवार्य निश्चित समय) नपर्खेर बारीबाट सोझै बजारमा साग लगिएकाले उच्च परिमाणमा विषादीको अवशेष भेटिएको केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख डा. शान्ता कार्कीले जानकारी दिइन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्यान्न तथा तरकारीवालीमा प्रयोगको लागि अनुमति पाएका विषादीको स्वीकार्य सीमा निर्धारण गरेको छ । तर पछिल्लो समय सागमा समेत पाइएको विषादी तोकिएको स्वीकार्य सीमाभन्दा निक्कै बढी परिमाणमा भेटिएको थियो ।
कालिमाटी तरकारी बजारस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईका नायव प्राविधिक सहायक अस्मिता आचार्यका अनुसार कालिमाटी बजारमा पछिल्लो समयमा सबैभन्दा बढी रायो सागमा विषादीको मात्रा पाइएको हो ।
कालिमाटी तरकारी बजारस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा नियमित रुपमा परीक्षण गर्ने क्रममा रायो साग यस्तो अवस्थामा पाइएको हो ।
उनकाअनुसार रायो सागको नमूनामा अधिकतम ७८.८८४ प्रतिशतसम्म विषादीको अवशेष पाइएको थियो । रायो सागमा यस्तो विषादीको अवशेष एक पटक मात्रै पाइएको होइन । दिनदिनैको परीक्षणमा यस्तो भेटिएको हो ।
दैनिक रुपमा हुने परीक्षणको क्रममा रायो सागको ४ वटा नमूनामध्ये भक्तपुरबाट आएको सागमा ७८.८८४, भक्तपुरकै अर्को रायो सागको नमूनामा ६१.१२४, धादिङबाट आएको रायोमा ७४.८८४ र काभ्रेबाट आएको सागमा ४६.४८०० प्रतिशतसम्म विषादीको अवशेष पाइएको छ ।
यस्तै दोलखाबाट आएको चम्पा सागमा ८७.१८६२ प्रतिशतसम्म विषादी पाइएको छ । यस्तै झापाको विर्तामोडमा ६, सर्लाहीको नवलपुरमा १, कास्कीको पोखरामा १, कैलालीको अत्तरियामा ३ र सुनसरीको धरानमा ५ प्रकारको तरकारीमा मापदण्डविपरित अत्यधिक परिमाणमा विषादीको अवशेष पाइएको छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटाकाअनुसार बालीमा विषादीको मात्रा ३५ प्रतिशतसम्म पाइँदा उपभोग गर्न सकिन्छ । विषादी अवशेषको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म पाइँदा केहि दिन पर्खेर मात्रै खान मिल्ने र त्योभन्दा बढी परिमाणमा पाइँदा नष्ट गर्नुपर्ने मापदण्ड सरकारले तय गरेको छ ।
‘पछिल्लो समयमा सबैभन्दा बढी रायो सागमा तोकिएको मापदण्डभन्दा बढी विषादीको अवशेष फेला परेको हो,’ आचार्यले भनिन्,‘मापदण्डको सीमाभन्दा बढी विषादी पाइएकाले त्यस्ता साग उपभोग गर्नु आफ्नो स्वास्थ्यलाई जानाजान जोखिममा पार्नु हो ।’
मापदण्डविपरित विषादीको उच्च मात्रा भेटिने तरकारी र सागलाई विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले खाल्डो खनेर पुर्ने गरेको छ । आचार्यका अनुसार विषादीको उच्च परिमाण सबै रायो सागमा भेटिएको भने छैन ।
सयजना किसानले ल्याएको मध्ये एक दुई जना किसानको सागमा यस्तो समस्या भेटिएकाले सबै रायो साग विषयुक्त छ भनेर भन्न नहुने आचार्यको भनाइ छ ।
विषादी छर्केपछि विषादीको प्रकारअनुसार न्यूनतम २ दिनदेखि अधिकतम ४० दिनसम्म पर्खेर मात्रै बजारमा लानुपर्ने सरकारले मापदण्ड तोकेको छ।
झण्डै ८५ प्रतिशत विष हरियो तरकारीमा प्रयोग
बजारमा हरियो र ताजा तरकारी भनेर खरिद गरिने तरकारीमै सबैभन्दा बढी विषादी अर्थात विष प्रयोग हुने गरेको छ ।
कृषि विभागका पूर्वमहानिर्देशकसमेत रहेका विषादीविज्ञ डा.डिल्लीराम शर्मामा अनुसार बाहिरी मुलुकबाट आयात भएर आउने विषादीमध्ये ८५ प्रतिशत हरियो तरकारीमा प्रयोग हुने गर्छ । बाँकी करिब १५ प्रतिशत विभिन्न प्रकारका खाद्यान्न बालीमा प्रयोग हुन्छ ।
मुख्यगरी आलु, काउली, भान्टा, परवल, टमाटर, बोडी, खुर्सानी, भेडे खुर्सानी, बन्दालगायतका हरियो तरकारीमा विषादीको प्रयोग हुँदै आएको छ । व्यवसायिक र बेमौसमी रुपमा उत्पादन गरिने तरकारीमा किसानहरूले अत्याधिक परिमाणमा विषादीको प्रयोग गर्दैआएको विषादी विषयमै पीएचडी गरेका शर्माले जानकारी दिए ।
यसबाहेक भारतबाट आयात हुने तरकारीमा पनि उच्च परिमाणमा विषादी भेटिने गरिएको छ । भारतबाट आयात हुने तरकारी सघनरुपमा सीमा नाकामा परीक्षण नहुँदा विषादीसहित नेपाल भित्रने गरेको छ ।
८५ प्रतिशतमध्ये पनि सबैभन्दा बढी अर्थात करिब ७० प्रतिशत विषादी काभ्रे, बारा, सर्लाही, धादिङ, कपिलवस्तु, मकवानपुरका किसानहरूले तरकारीवालीमा प्रयोग गर्दैआएका छन् ।
विषादीको आयात दर तथा रसायनिक मलको बिक्री दर बढ्दै गएको छ । विषादीको प्रयोग पनि अत्याधिक देखिएको छ । अमेरिका र युरोपमा प्रतिहेक्टरमा एकसय ४५ ग्राम विषादीको प्रयोग भइरहे पनि नेपाली किसानले प्रतिहेक्टरमा एक हजार ६ सय ५ ग्रामसम्म प्रयोग गर्ने गरेका छन् ।
विषादीयुक्त खाद्यान्न सेवन गर्दा कस्ता समस्या?
विषादीयुक्त खाद्यान्न र तरकारी नियमित रुपमा सेवन गर्दा वा विषादीको नियमित असुरक्षित रुपमा सम्पर्कमा आउँदा दीर्घकालीन भयावह रोगहरू क्यान्सर, नपुंसकता, रोगविरूद्धको प्रतिरोधी क्षमता घटाएर मृगौला र लिभर(कलेजो) बिग्रने, ट्युमर हुने र गर्भवस्था तुहिनेजस्ता समस्याहरू आउन सक्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार वर्षेनी विश्वभर ४० लाखभन्दा बढी व्यक्ति यस्ता विषादीका कारण प्रभावित हुँदै आएका छन् । त्यसमध्ये करिब ३ लाख जनाको विषादीका कारण मृत्यु हुने गरेको छ ।
सरकारले विषादीको परिमाण घटाउन वा विषादी मुक्त खाद्यान्न, तरकारी र दालजन्य पदार्थ उत्पादन गर्न एकीकृत शत्रुजिव व्यवस्थापन कार्यक्रम लागू गरे पनि त्यो प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसक्दा वर्षेनी १० देखि २० प्रतिशतको दरले विषादीको प्रयोग बढ्दै गएको छ ।
नेपालमा २७ समूहको विषादी प्रतिबन्ध
नेपालमा हालसम्म २७ प्रकारको विषादीको आयात र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
यसमध्ये मंसिर २० गते मात्रै निक्कै घातक मानिएको तीन विषादी पाराक्वाट–पाराक्वाट डाइक्लोराइड, क्लोरोपाईरिफस र फोरेटको नेपालमा आयात, निर्यात, उत्पादन, संश्लेषण, बिक्री, भण्डारण, ओसारपसार र बिक्री बितरण गर्न प्रतिवन्ध लगाइएको छ । यो तीन घातक विषादीवाहेक बाँकी २४ वटा गत आर्थिक बर्षसम्ममा प्रतिवन्ध लागेको थियो ।
फोरेटलाई यसअघि नै प्रतिवन्ध लगाइए पनि सरकारले राजपत्रमा प्रकाशित नगरेकाले अहिले फेरि प्रतिबन्धित गरी राजपत्रमा प्रकाशित गरिएको छ ।
विषादीविज्ञ डा.शर्माका अनुसार अहिले प्रतिबन्ध लागेको पाराक्वाट–पाराक्वाट डाइक्लोराइड र क्लोरोपाइरिफस निक्कै घातक विषादी हो । यो विषादी पछिल्लो समयमा आत्महत्या गर्नेहरुले प्रयोग गर्न थालेको र वातावरणमा समेत नकारात्मक प्रभाव पार्न थालेकाले प्रतिवन्ध लगाइएको हो ।
प्रतिबन्धित भएका अन्य विषादीहरुमा क्लोरडेन, डिडिटी, डाईअल्ड्रिन, ईन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोक्साफेन, लिन्डेन, बियच सी, फस्फामिडन, अर्गेनोमर्करीक्लोराइड, मिथाइलपाराथिएन, मनोक्रोटोफस, इण्डोसल्फान, फोरेट, कार्बोफ्युरान, कार्वारिल, डाइक्लोरभस, ट्रायजोफस, बेनोमाइल, डायकोफोल, कार्वोसल्फान र एलम्यूनियमफोस्फाइड ३ ग्राम टेब्लेट हुन् ।
कहाँ कहाँ हुन्छ परीक्षण ?
सरकारले काठमाडौंको कालिमाटी तरकारी बजार, झापाको विर्तामोड, सर्लाहीको नवलपुर, रुपन्देहीको बुटवल, कास्कीको पोखरा, बाँकेको नेपालगञ्ज, कैलालीको अत्तरिया, सिन्धुलीको सिन्धुलीमाडी, सुनसरीको धरान र धनुषाको ढल्केवर, नवलपुरको कावासोती र सुर्खेतको वीरेन्द्रनगरमा विषादी अवशेषको रुपमा परीक्षण गर्दैआएको छ ।
यस्ता स्थानमा दु्रत विश्लेषण एकाईको कार्यालय स्थापना गरी फोटो स्पेक्टोमिटरसहितको विषादी अवशेष दु्रत प्रयोगशाला (आरबीपीआर) मार्फत अर्गेनोफोस्फेट र कार्वामेट समूहको विषादीको मात्रै परीक्षण हुँदै आएको छ ।
यो प्रयोगशालाको सहयोगमा तरकारी तथा फलफूल ‘खान लायक छ वा छैन’, ‘केही दिन पर्खेर खान सकिने’ वा ‘नष्ट नै गर्नुपर्ने’ विषयमा परीक्षण गरेको ५ मिनेटमा विश्लेषण प्रतिवेदन दिने क्षमताको छ ।
कसरी जोगिने ?
तरकारी वा फलफूलमा विषादी भएको शंका लागेमा सफा पानीमा कम्तिमा चार पटकसम्म राम्ररी धुन केन्द्रले जनाएको छ । सम्भव भएमा मनतातो पानीमा १० मिनेटसम्म तरकारीलाई डुबाएर राख्दा करिब ६० प्रतिशतसम्म यस्ता घातक विषादी बगेर जाने जानकारी दिए ।
त्यस्तै तरकारीको बोक्रा हटाएर पनि घातक विषादीको प्रभावबाट बच्न सकिन्छ । विषादी भएको जानकारी भएमा त्यस्ता तरकारी दुई तीन दिनसम्म खुला हावा आउने स्थानमा राख्दा पनि विस्तारै विषादीको अवशेष हराएर जान्छ ।