
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विधि र संविधान मिच्ने ‘उस्ताद’ भएको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘भूमि सम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई कानून र विधिसँग कुनै मतलव नभएको आरोप लगाए ।
‘अहिलेका प्रधानमन्त्रीजी संविधान मिच्ने र मिचेर चल्ने कुराको ‘उस्ताद’ हुनुहुन्छ । र त्यो कुराप्रति उहाँ गौरववोध गर्नुहुन्छ,’ नेपालले भने, ‘उहाँलाई संविधानसित मतलव छैन, कानूनसँग मतलव छैन, विधिसँग मतलव छैन र व्यापक छलफल तथा परामर्शसँग पनि कुनै मतलव छैन ।’
संविधानमा हुँदै नभएको प्रावधानबाट प्रतिनिधि सभा विघटन गरेको इतिहास पुरानो नभएको उनले बताए ।
विधि नमान्ने पृष्ठभूमि रहेका प्रधानमन्त्रीबाट सही उद्देश्यले अध्यादेश ल्याइएको भनेर आश गर्ने ठाउँ नरहेको नेपालको भनाइ छ।
संसदीय समितिमा विचाराधीन विधेयक फिर्ता समेत नलिई सरकारले अध्यादेश ल्याउन नपाउने अध्यक्ष नेपालको भनाइ छ ।
संसदीय समितिमा छलफलकै क्रममा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याएर सरकारले संसदीय विधि उल्लङ्घन गरेको उनले आरोप लगाए ।
संसदको अधिवेशन आह्वान गर्ने समयमा जारी भएका अध्यादेशहरु सरकारले सही नियतले ल्याएको भनेर तथ्यले पुष्टि नगर्ने अध्यक्ष नेपालको भनाइ छ ।
प्रतिक्रिया