८ अर्बबाट बढेर १५ अर्ब पुग्यो शेष घलेको लैनचौरमा बनिरहेको होटलको लागत, मेरियट इन्टरनेसनलसँग सम्झौता

0
Shares

काठमाडौं । काठमाडौंको लैनचौरमा व्यवसायी शेष घलेले निर्माण गरिरहेको विलासी होटलको निर्माणको काम करिब ७५ प्रतिशत सकिएको छ । होटल छिट्टै सञ्चालनको घोषणा गरिने घलेले जानकारी दिएका छन् ।

मेरियट इन्टरनेसनलअन्तर्गत फ्रेन्चाइजका रूपमा नेपाली मूलका अस्ट्रेलियन व्यवसायी घलेले यो ब्रान्ड भित्र्याएर निर्माण अघि बढाएका हुन् ।

सन् १९२७ मा स्थापना भएको मेरियट इन्टरनेसनलका हाल १ सय ४० भन्दा बढी देशमा ९ हजार सात सयभन्दा बढी होटल तथा रिसोर्टहरू सञ्चालनमा छन् । यो होटल सन् २०१३ देखि नै बन्न थाले पनि विविध कारणले निर्माण अझै सकिएको छैन ।

यस होटलको शिलान्यास २०७१ असोज २५ गते तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालासहित विभिन्न मन्त्री र पूर्वप्रधानमन्त्रीहरूको उपस्थितिमा कान्तिपथ केशरमहल नजिक गरिएको थियो ।

सुरुमा ८ अर्ब रुपैयाँ लगानीमा ‘लक्जरी होटल’ बनाउने घोषणा गरिए पनि निर्माणमा भएको ढिलाइले गर्दा यसको लागत अहिले १५ अर्ब रुपैयाँ पुगेको छ ।

एमआईटी होल्डिङ्सले निर्माण गरिरहेको यस होटलमा पहिला चर्चित ब्रान्ड ‘सेराटन’ आउने भनिए पनि पछि मेरियटसँग सम्झौता भएको हो ।

सन् २०१४ बाटै निर्माण सुरु भए तापनि भूकम्प, नाकाबन्दी र कोरोना महामारीका कारण पूर्वनिर्धारित लक्ष्य प्रभावित हुँदै आएको छ ।

काठमाडौंको केन्द्र भागमा १३ रोपनी जग्गामा फैलिएको यो होटल १७ तलाको हुनेछ । जसमा तीन तला बेसमेन्ट र लबीबाहेक १३ वटा तलामा होटलका कोठाहरू रहनेछन् ।

२ सय २२ वटा कोठा रहने यस होटलमा चारवटा रेस्टुरेन्ट, स्पा, स्विमिङ पुल, फिटनेस सेन्टर र सबैभन्दा ठूलो हल रहने गरी डिजाइन गरिएको छ ।

यसलाई नेपालमा हालसम्मकै सबैभन्दा ठूलो लगानी भएको होटलका रूपमा प्रचार गरिँदै आएको छ । व्यवसायी शेष घलेका अनुसार अबको ३ देखि ४ महिनामा निर्माण कार्य सम्पन्न हुने लक्ष्य छ । मेरियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटले हालै होटलको अवलोकन समेत गरेका छन् ।

यो होटल नेपाल, भारत, श्रीलंका र बंगलादेशसहितको दक्षिण एसियाली क्षेत्रकै पहिलो विशिष्ट ‘लग्जरी होटल’ हुने दाबी घलेले गरेका छन् ।

हाल नामको ट्रेडमार्क रजिष्ट्रेसनका लागि प्रक्रिया अघि बढाइएकाले १–२ हप्तामा नाम सार्वजनिक गरिने बताइएको छ । अर्की लगानीकर्ता जमुना गुरुङ घलेले होटललाई अन्तर्राष्ट्रिय स्तरको विलासी सुविधासहित तयार पार्न विशेष ध्यान दिइएको उल्लेख गरिन् । सुरुमा सेराटन ब्रान्डमा सञ्चालन गर्ने योजना रहे पनि पछि ‘लक्जरी कलेक्सन’ मा स्तरोन्नति गरिएकाले डिजाइन र संरचनामा व्यापक परिमार्जन गर्नु परेको उनको भनाइ छ ।

निर्माणका क्रममा दक्ष जनशक्तिको अभावले काम प्रभावित भएको भन्दै उनले नेपालमा हालसम्म उपलब्ध नभएका स्तरीय सेवा दिने तयारी भइरहेको बताइन् ।

पछिल्लो समय मेरियट इन्टरनेसनलले नेपालमा व्यवसाय विस्तारलाई तीव्र बनाएको छ । हाल मेरियट काठमाडौं, मोक्सी, फेरिफिल्ड, अलफ्ट र सोल्टी होटलमा ‘अटोग्राफ कलेक्सन’ का रूपमा मेरियटका ब्रान्डहरू सञ्चालनमा रहेका छन् ।