काठमाडौं । चरम आर्थिक संकटमा फसेका कारण करिब एक वर्षदेखि सञ्चालनमा आउन नसकेको मुस्ताङ हेलिकप्टरमा पर्वतारोही निर्मल पुर्जाको समूह प्रवेश गरेको छ । रोनन लामिछानेले साढे तीन वर्ष अगाडि (कोरोना महामारी)को समयमा भित्राएको उक्त हेलीकप्टर गत साउनभन्दा अगाडिदेखि नै ग्राउण्डेड छ ।
तीन वर्षसम्म एउटामात्रै हेलीकप्टर राखेर बसेको मुस्ताङ हेलीले पछिल्लो समय कर्मचारीलाई तलब भुक्तान गर्न नसकेको, उड्डयन मापदण्ड पूरा गर्न नसकेको र नियामकीय शर्त पूरा गर्न नसकेका कारण ग्राउण्डेड छ ।
मुस्ताङले गत असोज तेस्रो साता एउटा एस३५० बीथ्री प्रकृतिको (एक्युरियल) हेलिकप्टर थप गरेको भएपनि यसले नियामकीय शर्त पूरा गरेर निमति उडान गर्न भने अझै सकेको छैन ।
नयाँ हेलिप्कटर थन्काएर राखेको र भएकै हेलिकप्टर पनि ग्राउण्डेड गरेको मुस्ताङ हेलिकप्टरमा इलाइट एक्सपेड नामक पर्वतारोहण गराउने कम्पनीका लगानीकर्ता प्रवेश गरेका छन् ।
क्लिकमाण्डुलाई स्रोतले दिएको जानकारी अनुसार निर्मल पुर्जाले ५० प्रतिशतभन्दा बढी सेयर लिएर मुताङ हेलिकप्टरको अध्यक्ष भएका छन् । उनका एक्सपीडिसन कम्पनी इलाइट एक्सपेडका निर्देशक मिङ्मा डेभिड शेर्पा र मिङ्मा तेन्जी शेर्पाको समूह हेलिकप्टर व्यवसायमा प्रवेश गरेका हुन् । मुस्ताङ हेलीमा प्रवेश गरेका निर्माल पुर्जासहित तीनै जना इलाइटका निर्देशक हुन् । पुर्जा नै हेलीप्कटरको अध्यक्ष भएको उल्लेख छ ।
नयाँ व्यवस्थापन भित्रिएसँगै अब हेलीकप्टर सञ्चालनलाई पनि गति दिने उल्लेख छ । इलाइटका निर्देशक मिङ्मा डेभिड शेर्पाले भने पनि ‘मुस्ताङ हेलीकप्टर आफ्नो समूहले लिने तयारी भएको तर औपचारिक रुपमा कागजी प्रक्रिया भने पूरा भइसकेको छैन,’ उनले भने ‘हेलिकप्टर कम्पनीमा लगानी गर्ने विषय करिब तय भइसकेको छ तरपनि औपचारिक प्रक्रिया पूरा नभएकोले अहिले नै थप जानकारी दिने बेला भएको छैन ।
मुस्ताङ हेलीकप्टर स्रोतले भने ५० प्रतिशतको साझेदारी खोजेको र सोही अनुसार नयाँ लगानीकर्ता तय भइसकेको जानकारी क्लिकमाण्डुलाई दिएको छ । ति स्रोतका अनुसार मुस्ताङ हेलिकप्टरनमा नयाँ सञ्चालक भित्रिइसकेका हुन्, अब कसरी अगाडि बढ्ने र कहिलेबाट नयाँ व्यवस्थापनले हेलिकप्टर सञ्चालन गर्ने भन्ने विषय भने तय हुनै बाँकी रहको छ । नयाँ व्यवस्थापनले छिट्टै हेलीकप्टर उडान गर्ने तयारी गरेको पनि उल्लेख छ ।
मुस्ताङ हेलिकप्टरसँग दुईवटा एयरक्राफ्ट भएको र नियामकीय शर्त पूरा गरेर आउँदा जति बेला पनि उडान अनुमति पाउन सक्ने अवस्था रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
‘मुस्ताङको उडान नियामकको कारणले रोकिएको होइन । सम्बन्धित वायुसेवाले आन्तरिक कारणले रोकिएको हो,’ उनले भने, ‘मुस्ताङले नयाँ व्यवस्थापक भित्र्याएको विषयमा प्राधिरकण समक्ष कुनै जानकारी पेस भएको छैन ।’
यसअघि कर्मचारीले २ देखि १० महिनासम्मको तलव भुक्तानी नपाएको गुनासो गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष निवेदन नै दिएका थिए । यस हेलिकप्टर कम्पनीले अहिले अधिकांश कर्मचारीको आधारभूत तलब भुक्तानी गरेको पनि मुस्ताङका एक उच्च तहका कर्मचारीले बताए । उनका अनुसार चैतसम्मको तलब आइसकेको छ भने केही समयदेखि कर्मचारीले पाउनुपर्ने सामाजिक सुरक्षा कोषको पैसा मात्रै बाँकी छ ।
निम्सदाई भनेर चिनिने निर्मल पुर्जा यसअघि एकैपटक नेपाली र बेलायती नागरिकता तथा पासपोर्ट बोकेको विषयमा बिबादमा परेका थिए । बेलायती नागरिक बनिसक्दा पनि नेपाली नागरिकता प्रयोग गरेको भन्दै आरोप लागेको छ भने बेलायती पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्टको प्रयोग गरेको आरोप उनीमाथि छ ।
उनले यसअघि अनुमति नै नलिइ कुवेती आरोही टोलीलाई आमादब्लम हिमाल लगेर सबैभन्दा ठूलो कुवेतको झण्ड फहराएको विषय विवादमा आएको थियो । उनले झण्ड फहराउन अनुमति नै लिएका थिएनन् ।
उनले कपनमा भाडामा लिएको घरमा हिमाल आरोहणका प्रयोग हुने ग्यास सिलिण्डर राखेका थिए । उक्त सिलिण्डर फिस्फोट भएर लागेको आगोले घर पूर्णरुपमा क्षति हुँदा पनि पुर्जा गैरजिम्मेवार बनेको आरोप लगेको छ । उनै विवादित व्यक्तिको हातमा मुस्ताङ हेलिकप्टर पुगेको छ ।
प्रतिक्रिया