काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् ।
आज बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सभापति पोखरेलको राजीनामा मागेका हुन् ।
सांसदहरुले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्ने र सभापति माथि विभिन्न प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा जोड दिएका छन् ।
नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सरकारका अनियमितताका विषयमा प्रश्न उठाउने सार्वजनिक लेखा समितिलाई सरकारले बन्धक बनाउन खोजेको आरोप लगाए । उनले सरकार पक्षले नै सभापति राखेर बन्धक बनाउन नहुने बताए । उनले लेखा समितिको सभापति पद प्रतिपक्षले पाउने अन्तर्राष्ट्रिय अभ्यास र संसदीय व्यवस्थाको मान्यता दुवै भएको भन्दै त्यसलाई पालना गर्न आग्रह गरे ।
उनले सार्वजनिक लेखा समितिले सरकारको लाचार छायाँ बनेको बताए । उनले सभापतिको परम्परा के थियो हेर्ने र सच्याउनुपर्ने भन्दै लेखा समितिको नेतृत्व प्रतिपक्षका नहुँदा समितिजस्तो नहुने टिप्पणी गरे । उनले लेखा समिति प्रतिपक्षले पाउने हो सत्ता पक्षले राखेर बन्दी जस्तो बनाउन नहुने सांसद शर्माको भनाई छ ।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले समितिका सभापतिले मार्ग प्रशस्त गर्नुपर्ने बताए । उनले परम्परा र विश्वव्यापी प्रचलनअनुसार लेखा समिति सभापति प्रतिपक्षलाई दिनुपर्ने बताए । उनले विगतदेखि यस्तो परम्परा तोडिँदै गएको बताए । उनले नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको नेतृत्वमा हुँदा पनि परम्परा तोडिएको उल्ल्ेख गरे ।
लेखा समिति सभापति सत्ता पक्षले छाडेर प्रतिपक्षलाई दिने प्रचलन रहेको दोहोर्याए । सांसद केसीले परम्परा तोडिँदै गएको भन्दै त्यसलाई सुधार गरी सच्याउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरे । उनले विगतमा समेत सत्तारूढ दलका सांसदले लेखा समिति सभापति नछाडेको विषय उदाहरण नदिन पनि आग्रह गरे । उनले लेखा समिति प्रमुख प्रतिपक्ष दलको हुनुपर्ने बताए ।
उनले समिति सभापतिका विषयमा कुरा मात्रै हुने तर निरन्तरता एउटै मात्रै रहेको उल्लेख गरे । उनले समितिले प्रिमियममा आईपीओ निष्कासन गर्न नदिन निर्देशन दिएपनि अध्यादेशमा प्रिमियममा आईपीओ निष्काशन गर्ने दिने गरी आउनु जायज नभएको बताए ।
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले लेखा समिति सरकारको लाचार छायाँ बनेको आरोप लगाए । उनले सार्वजनिक लेखा समिति सरकारको लाचार छायाँ जस्तो भएर सरकारले गरेका नराम्रा कामको ढाकछोप गर्ने काम गरिरहेको बताए । उनले लेखा समितिको नेतृत्व प्रतिपक्षिलाई नदिनुमा सरकारको कुकर्म ढाकछोप गर्ने बदनियत रहेको आरोप लगाए ।
उनले लेखा समिति नेतृत्व पनि प्रतिपक्षीको हुनुपर्ने भएपनि सत्ता पक्षले नै नेतृत्व राखि रहेको बताए । उनले सभापतिले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिए ।
नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सभापतिको बारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा मार्ग प्रशस्त गर्न बारम्बार माग गर्दै आएको बताए । उनले विगतमा एक्लै आवाज उठाए पनि अहिले समितिमा धेरै सांसद र दलहरुको धारणा सभापतिले मार्ग प्रशस्त गर्नुपर्ने कुरा आउन थालेको उल्लेख गरे । उनले सार्वजनिक लेखा समिति सरकारको चेक इन ब्यालेन्सका लागि भएकाले प्रमुख प्रतिपक्षको हुनुपर्ने विश्वव्यापी मान्यता रहेको जानकारी गराए ।
प्रतिक्रिया