
काठमाडौं। विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा भारतीय आँप आयातमा प्रतिबन्ध लगाइएको भनी फैलिएको समाचारप्रति सरकारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एक विज्ञप्ति जारी गर्दै भारतीय आँपको पैठारीमा कुनै पनि प्रतिबन्ध नलगाइएको स्पष्ट पारेको छ।
नेपालको राष्ट्रिय बिरुवा संरक्षण संगठनको रूपमा कार्यरत केन्द्रले बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन २०६४ बमोजिम जैविक सुरक्षाका उपायहरू अपनाउँदै आएको जनाएको छ।
नियमित रूपमा गरिने ुशत्रुजीव जोखिम विश्लेषणु का आधारमा जोखिमयुक्त शत्रुजीव प्रवेश रोक्नका लागि मात्र निश्चित प्रक्रिया अपनाइएको केन्द्रको भनाइ छ।
केन्द्रका अनुसार भारतीय आँप नेपाल आयात गर्दा अन्तर्राष्ट्रिय अभ्यास र बिरुवा स्वच्छताको मापदण्ड अनुसार केही सर्तहरू पालना गर्नुपर्ने हुन्छ। जस अन्तर्गत आयात गरिने आँपलाई ४८ डिग्री सेन्टिग्रेड तापक्रमको तातो पानीमा १ घण्टासम्म उपचार गरिएको हुनुपर्नेछ।
यसरी उपचार गरिएको प्रमाण सहित भारत सरकारको राष्ट्रिय बिरुवा संरक्षण संगठनबाट जारी भएको ‘बिरुवा स्वच्छता प्रमाण पत्रु अनिवार्य गरिएको छ।
केन्द्रले भारतीय आँप पैठारीका लागि हाल पनि माग अनुसारको प्रवेश अनुमति पत्र जारी भइरहेको र तोकिएको मापदण्ड पूरा भएका आँपलाई नेपाल भित्रिन कुनै रोकतोक नरहेको प्रष्ट पारेको छ।
सरकारी मापदण्ड अनुसारको प्रक्रिया पूरा गरेर आएका स्वस्थ फलफूलको पैठारीमा कुनै अवरोध नगर्न र भ्रामक समाचारको पछि नलाग्न केन्द्रले आग्रह गरेको छ।










प्रतिक्रिया