‘एआईमा नेपाल–भारत सहकार्य आवश्यक’

0
Shares

काठमाडौं । नेपाल र भारतबिच कृत्रिम बुद्धिमता (एआई) र यसमा आधारित उद्यममा आपसी सहकार्य विस्तार गर्नुपर्ने औँल्याइएको छ ।

नेपाल–भारत उद्योग वाणिज्य सङ्घ (निक्की) ले नेपालस्थित भारतीय दूतावाससँगको सहकार्यमा आयोजना गरेको दुवै देशका व्यवसाय, सरकार, प्राज्ञिक र प्रविधि क्षेत्रका नेतृत्वकर्ताबिचको अन्तक्रियामा एआई जस्ता उदीयमान प्रविधिमा नेपाल–भारतबिच साझेदारीको ठुलो सम्भावना रहेको र त्यसलाई उपलब्धिमा रूपान्तरण गर्न सके आर्थिक, प्राविधिक तथा पारस्परिक सम्बन्धका हिसाबले लाभदायी हुने औँल्याइएको हो ।

कार्यक्रममा ‘सर्वम एआई’ का सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा प्रत्यूष कुमारले उदीयमान मुलुकले अन्यत्र विकास गरिएका एआई उपकरण मात्र अपनाउनेभन्दा पनि आफ्नै जनसङ्ख्या, भाषा र प्रयोगका आवश्यकता अनुकूल हुने सार्वभौम क्षमता निर्माण गर्न उपयुक्त हुने बताए ।

सर्वम एआई भारतलगायत दक्षिण एसियामा फुल–स्ट्याक जेनेरेटिभ एआई र स्थानीय भाषाका एआई प्रणाली निर्माण गर्ने कम्पनी हो ।

प्रतिभा विकास, अनुसन्धान पूर्वाधार र नीतिगत व्यवस्थासहितको भारतको एआई समग्र प्रणालीको रूपरेखा प्रस्तुत गर्दै डा कुमारले एआई अपनाउने प्रारम्भिक चरणमा रहेका देशका लागि सीमान्तकृत जनसङ्ख्यासम्म पुग्न स्थानीय भाषाका मोडेलहरू अत्यन्तै उपयोगी हुने बताए ।

उहाँले नेपालको स्टार्टअप जगत र प्राज्ञिक संस्थाले यस दिशामा प्रारम्भिक कदम चाल्न उपयुक्त समय आएको भन्दै भारत सरकारको अनुभव, शिक्षाक्षेत्र र निजी क्षेत्रबिचको साझेदारीको अवस्थाबारे जानकारी गराएका थिए ।

उनले नेपाल र भारतबिच यो क्षेत्रमा संयुक्त अनुसन्धान, प्रशिक्षण कार्यक्रम र स्टार्टअप इकोसिस्टम आदानप्रदान जस्ता क्षेत्रमा सहकार्यको ठुलो अवसर रहेको औँल्याए ।

कार्यक्रममा निक्कीका अध्यक्ष सुनील केसीले भारतका अग्रणी प्रविधि कम्पनीले नवप्रवर्तनमा आधारित लगानी, ज्ञान हस्तान्तरण र रणनीतिक प्रविधि साझेदारीमार्फत नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) गर्ने अवसर रहेको औँल्याए ।

नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव (वाणिज्य) सुमन शेखरले डिजिटल क्षमता अभिवृद्धि, स्टार्टअप सहयोग र उदीयमान प्रविधिमा ज्ञान आदानप्रदानमा नेपाल र भारतको साझा चासो रहेको र सहकार्यका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल विश्वविद्यालयका कुलपति डा विन्दुनाथ लोहनीले भविष्यका प्रतिभा तयार पार्न, अनुसन्धानलाई अगाडि बढाउन र नेपालको दीर्घकालीन नवप्रवर्तन एजेन्डामा सहकार्य गर्न उच्च शिक्षा संस्थाले विशेष भूमिका खेल्नुपर्ने बताए ।

निक्कीका निर्देशक मार्सल राठौरले दुवै देशका व्यवसाय, सरकार र प्रविधि समुदायबिच सहकार्य विस्तारमा निक्कीले सकारात्मक भूमिका खेल्ने औँल्याए ।