काठमाडौंमा गुड्ने भयो मेट्रो र मोनोरेल

नारायण गोपाल चोक–सातदोबाटो–रत्नपार्कको २७.५ किमीमा रेल गुडाउन अन्तर्राष्ट्रिय आशय पत्र आह्वान

0
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक जाम र अस्तव्यस्त यातायात प्रणालीबाट आजित भएका उपत्यकावासीका लागि एउटा उत्साहजनक खबर आएको छ ।

सरकारले काठमाडौं उपत्यकाभित्र अत्याधुनिक रेल सेवा सञ्चालन गर्ने आफ्नो ड्रिम प्रोजेक्टलाई मूर्त रूप दिन औपचारिक प्रक्रिया अगाडि बढाएको छ ।

रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले काठमाडौंका मुख्य स्थानहरूलाई जोड्ने गरी कुल २७.५ किलोमिटर लामो रेल मार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न अन्तर्राष्ट्रिय स्तरको आशय पत्र (ईओआई) आह्वान गरेको छ ।

यो आयोजना सम्पन्न भएमा काठमाडौंको यातायात क्षेत्रमा एउटा ठूलो परिवर्तन आउने विश्वास गरिएको छ ।

बढ्दो सहरीकरण, साँघुरा सडक र दिनप्रतिदिन थपिँदै गएका सवारी साधनका कारण काठमाडौं उपत्यकाको यात्रा निकै कष्टकर बन्दै गएको छ । रत्नपार्कदेखि नारायण गोपाल चोक वा सातदोबाटो पुग्न घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ । यो २७.५ किमी रेल मार्गको निर्माणले ती समस्यालाई सधैँका लागि अन्त्य गर्ने अपेक्षा गरिएको छ ।


यो आयोजना केवल रेल कुदाउने मात्र नभई, काठमाडौंलाई आधुनिक ’स्मार्ट सिटी’ का रूपमा विकास गर्ने एउटा कोशेढुंगा साबित हुनेछ । रेल मार्ग बनेपछि इन्धनको खपत कम हुने, वायु प्रदूषण घट्ने र सर्वसाधारणको समयको बचत हुनेछ ।

कहाँदेखि कहाँसम्म गुड्नेछ रेल ?
सरकारले प्रस्ताव गरेको यो नयाँ रेल मार्गले उपत्यकाका अत्यन्तै व्यस्त व्यापारिक र प्रशासनिक केन्द्रहरूलाई समेट्नेछ । आयोजनाको गुरुयोजना अनुसार रेल मार्गको रुट नारायण गोपाल चोक(महाराजगञ्ज) हुँदै चावहिल, कोटेश्वर, सातदोबाटो, रत्नपार्क र पुनः नारायणगोपाल चोकमा पुगेर टुङिगने छ ।

यो एक प्रकारको ‘लुप’ मार्ग हुनेछ, जसले चक्रपथको ठूलो हिस्सा र सहरको भित्री भाग रत्नपार्कलाई समेत जोड्नेछ । २७.५ किलोमिटर लामो यो मार्गले उपत्यकाको करिब आधा जनसंख्यालाई प्रत्यक्ष यातायातको पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यो आयोजनाको संवेदनशीलता र प्राविधिक जटिलतालाई मध्यनजर गर्दै सरकारले अन्तर्राष्ट्रिय परामर्श सेवाका लागि आह्वान गरेको छ ।

यसको अर्थ, विश्वका उत्कृष्ट रेल इन्जिनियरिङ कम्पनीहरूले यसको विस्तृत अध्ययन र डिजाइन गर्नेछन् ।
सरकारले जेठ १ गते सार्वजनिक सूचना जारी गर्दै यो मेगा प्रोजेक्टका लागि इच्छुक र योग्य कम्पनीहरूबाट आशय पत्र माग गरेको हो ।

बजेट र लगानीको स्रोत
धेरैलाई चासो हुन सक्छ कि यति ठूलो आयोजनाका लागि पैसा कहाँबाट आउँछ ? प्राप्त आधिकारिक दस्तावेज अनुसार यो आयोजनाको डिपिआर तयारीका लागि सरकारको आफ्नै बजेट परिचालन गरिनेछ । सरकार यो आयोजनालाई केवल योजनामा मात्र सीमित नराखी आफ्नै स्रोत र साधनबाट अगाडि बढाउन प्रतिबद्ध छ ।


कसरी हुनेछ छनोट ?
यस आयोजनाको परामर्शदाता छान्नका लागि सरकारले पारदर्शी मापदण्ड तय गरेको छ । आशय पत्र पेश गर्ने कम्पनीहरूको मूल्यांकन मुख्य तीन आधारमा गरिनेछ ।

जसअनुसार योग्यताको आधारमा ५० अंक, अनुभवको आधारमा ४० अंक र क्षमताको आधारमा १० प्रतिशत अंक प्रदान गर्ने मापदण्ड तोकिएको छ ।


छनोट प्रक्रियामा सहभागी हुन र सर्टलिस्टमा पर्नका लागि कम्पनीले १०० पूर्णांकमा न्यूनतम ७० अंक प्राप्त गर्नुपर्नेछ । यसले गर्दा केवल दक्ष र अनुभवी कम्पनीले मात्र काठमाडौंको रेल मार्गको खाका कोर्न पाउने सुनिश्चित गरिएको छ ।


इच्छुक अन्तर्राष्ट्रिय कम्पनीहरूले आगामी १५ जुन २०२६ (२०८३ जेठ ३२ गते) सम्म आफ्नो आशय पत्र पेश गरिसक्नुपर्नेछ । आवेदन प्रक्रियालाई पूर्ण रूपमा डिजिटल र पारदर्शी बनाउनका लागि नेपाल सरकारको ई–जीपी प्रणालीमार्फत अनलाइन आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।