
काठमाडौंं । रेमिटेन्स क्षेत्रको अग्रणी कम्पनी ‘आइएमई लिमिटेड’ ले आफ्नो स्थापनाको २६औँ वर्ष पूरा गरेको छ।
शुक्रबार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच कम्पनीले आफ्नो वार्षिकोत्सव मनाउँदै आगामी दिनमा डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी सेवालाई अझ परिष्कृत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
वार्षिकोत्सवको अवसरमा आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै डिजिटल इनोभेसनमार्फत सुरक्षित र छिटोछरितो वित्तीय सेवा प्रदान गर्न कम्पनी दृढ संकल्पित रहेको बताए।
वैदेशिक रोजगारीका क्रममा भोगिएका अनुभवबाट सुरु भएको एउटा सानो परिकल्पनाले आज देशको समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीमा अभिन्न अंगको रूप लिएको उनले स्मरण गरे।
अध्यक्ष ढकालले भने, ‘आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङको विकाससँगै सेवा प्रवाहको स्वरूप बदलिँदै छ। हामी नवीनतम प्रविधिलाई आत्मसात् गर्दै रेमिटेन्स र अन्य वित्तीय सेवालाई अझ आधुनिक बनाउन प्रतिबद्ध छौँ।’
समारोहलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २६ वर्षको यात्रामा ‘रेमिट भनेकै आइएमई’ भन्ने पहिचान स्थापित हुनु गर्वको विषय भएको बताए।
उनले औपचारिक माध्यमबाट रेमिटेन्स भित्र्याएर विदेशी मुद्रा सञ्चितिमा योगदान पुर्याउन र प्राप्त विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए।
यसैगरी, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले प्राविधिक उत्कृष्टता र व्यावसायिक नैतिकतालाई मुख्य कार्यदिशा बनाई कम्पनीले सेवा दिइरहेको उल्लेख गरे।
वार्षिकोत्सवको विशेष अवसरमा आइएमईले आफ्नो नयाँ ‘ब्रान्ड लोगो’ सार्वजनिक गरेको छ। नयाँ लोगोले आइएमईका विस्तारित वित्तीय सेवाहरू र कम्पनीको भविष्यको डिजिटल यात्रालाई प्रतिनिधित्व गर्ने जनाइएको छ।
कार्यक्रममा कम्पनीमा लामो समयदेखि कार्यरत कर्मचारीहरूलाई उनीहरूको योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो। साथै, वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर–कम्पनी खेलकुद प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।
स्थापनाकालदेखि नै रेमिटेन्सलाई प्रत्येक नेपालीको पहुँचमा पुर्याउने लक्ष्य राखेको आइएमईले हाल ७७ वटै जिल्लामा २२५ आइएमई सेन्टर र करिब १२ हजार सब–एजेन्टमार्फत सेवा प्रदान गर्दै आएको छ।









प्रतिक्रिया