
काठमाडौं । उद्योग विभागले देशभर सञ्चालित उद्योगहरूलाई वातावरणीय मापदण्डको पूर्ण पालना गर्न कडा निर्देशन दिएको छ ।
उद्योगहरूले प्रशोधन नगरी सिधै नदीमा फोहोर पानी विसर्जन गरेको र वायु तथा ध्वनि प्रदूषण नियन्त्रणका उपाय नअपनाएको व्यापक गुनासो आएपछि विभागले यस्तो कदम चालेको हो ।
विभागद्वारा जारी सूचनामा उद्योगहरूले प्रचलित औद्योगिक तथा वातावरणीय कानुन बमोजिम स्वीकृत वातावरणीय अध्ययनका सर्तहरू पूर्ण रूपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।
विशेष गरी उद्योगबाट निस्कने फोहोर पानीलाई उचित प्रशोधन गर्न ‘इफ्लुएन्ट ट्रिटमेन्ट प्लान्ट’ जडान गरी सञ्चालन गर्न र वातावरणीय व्यवस्थापन योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
विभागले सबै उद्योगहरूलाई सूचना प्राप्त भएको मितिले ३० दिनभित्र आफ्ना वातावरणीय सुधारका कार्यहरूको विवरण पेश गर्न समयसीमा तोकेको छ ।
उद्योगहरूले तोकिएको ध्वनि, वायु उत्सर्जन र प्रवाह मापदण्ड अनुसारको विश्लेषण प्रतिवेदन र जडान गरिएका प्रदूषण नियन्त्रण उपकरणहरूको यथार्थ विवरण विभागको ईमेलमा पठाउनुपर्नेछ ।
वातावरणीय कानुनको अक्षरशः पालना गर्नु उद्योगको अनिवार्य दायित्व भएको स्मरण गराउँदै विभागले तोकिएको समयभित्र विवरण पेश नगर्ने वा मापदण्ड उल्लंघन गर्ने उद्योगहरूलाई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।
प्रदेश सरकार मातहत दर्ता भएका उद्योगहरूको हकमा पनि प्रचलित संघीय तथा प्रदेश कानुन बमोजिम नियमन र कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिसकिएको विभागले जनाएको छ ।
नदी प्रदूषण कम गर्न र जनस्वास्थ्यमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्न विभागले यो सक्रियता देखाएको हो ।









प्रतिक्रिया