रिटार्यड हुनु ११ दिनअघि नै प्राधिकरणका उपकार्यकारी निर्देशक बिदा बसे, ‘पदमा टाँसिरहनु हुँदैन’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल रिटार्यड हुनुभन्दा ११ दिन अगावै बिदा बसेका छन् ।
माघ ११ गतेदेखि रिटार्यड हुन लागेका उपकार्यकारी निर्देशक सिलवाल माघ १ गतेदेखि नै बिदा बसेका हुन् । उनले मातहतका सबै निकायलाई धन्यवादसहितको मेसेज लेखेर बिदा बसेका हुन् । सिलवालले पदमा टासिएर बस्न नहुने बताए । ‘पदमा टासिएर बस्न हुँदैन । त्यहि भएर म बिदा बसेको हु । न्याय सेवा, नेपाली सेनामा रिटार्यड हुनुभन्दा अगावै बिदा बस्ने अभ्यास छ । यो राम्रो अभ्यास हो ,’ उनले भने, ‘चाडै बिदा बस्नु सबैका लागि राम्रो हो । संस्थाले रिटार्यड हुँदैछ भने त्यो ठाउँमा बस्ने मान्छे तयार पार्छ । आउनेलाई समय हुन्छ । व्यवस्थापनलाई पनि सहज हुन्छ ।’
सिलवाल रिटार्यड हुनु अघि वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुखका रुपमा कार्यरत थिए । यो निर्देशनालय प्राधिकरणको सबैभन्दा महत्वपूर्ण छ । जसलाई प्राधिकरणको ब्याक बोनका रुपमा समेत हेर्ने गरिन्छ । सिलवाल निर्णय क्षमतामा अब्बल मानिन्छन् ।
सिलवाल २०४७ सालमा करारमा ओभरसियरका रुपमा कार्यरत थिए । उनले प्राधिकरण मातहतको साना जलविद्युत विभागबाट जागिर सुरु गरेका थिए । उनीलामो समय सम्म त्यहि बसे । पछि स्थायीमा नाम निकाले । १० तहमा बढुवा भएपछि बुटवल-कोहलपुरको आयोजनामा सरुवा भए ।
अत्तरिया क्षेत्रिय कार्यालयमा काम गरे । मध्यभोटेकोसीमा जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा काम गरे ।
प्रबन्ध निर्देशकको सचिवालय, आयोजना व्यवस्थापन कार्यालय, इन्जिनियरिङ सेवा निर्देशनालयमा समेत काम गरेको अनुभव उनीसँग छन् ।