ईभीको ब्याट्री व्यवस्थापन: गाडीको आयु सकिएपछि बाँकी रहेको ७०% क्षमता के गर्ने ?



काठमाडौं । विद्युतीय गाडी (ईभी) को ब्याट्री व्यवस्थापन कसरी गर्ने भन्ने बारेको प्रतिवेदन तयार भएको छ ।

बढ्दै गएको विद्युतीय गाडीका प्रयोगका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परामर्शदातामार्फत ईभीको ब्याट्री व्यवस्थापनको कार्ययोजना बनाउन प्रारम्भिक अध्ययन गरेको छ ।

अभियान्त्रिकी कर्मशाला प्रालि नामक तेस्रो पक्षसँग सम्झौता गरेर सरकारले ब्याट्री व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा प्रारम्भिक अध्ययन गरेको हो । र सो अध्ययनको प्रतिवेदन तयार भएको छ ।

नेपालमा पछिल्लो समय ईभी सवारीको प्रयोग बढ्दै गएको छ । वर्षेनी ठूलो संख्यामा आयात भइरहेको विद्युतीय गाडीको प्रयोग लोकप्रिय बने पनि त्यसको ब्याट्री व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा सरकारले व्यवस्था गरेको छैन ।

हालका लागि गाडी आयात गर्दा भन्सारमा नै आयातकर्ताहरुले ब्याट्री व्यवस्थापनको कार्ययोजना प्रस्तुत गर्नु पर्ने नीति सरकारको छ । जसअनुसार नेपालमा विद्युतीय गाडी आयात गर्नेहरुले नै नेपाल बाहिर लगेर वा नेपालभित्र नै ब्याट्रीको व्यवस्थापन गर्ने कार्ययोजनाअनुसार हाल ईभी भित्र्याइरहेका छन् ।

यद्यपि सरकारले ब्याट्री के गर्ने भन्नेबारेमा कुनै पनि व्यवस्था गर्न सकेको थिएन ।

हाल भने सरकारले तेस्रो पक्षमार्फत ब्याट्री व्यवस्थापनको विषयमा प्रारम्भिक अध्ययन गरेर प्रतिवेदन तयार गरेको छ।

प्रतिवेदनमा के छ ?

अभियान्त्रिकी कर्मशाला प्रालिसँग सरकारले गरेको सम्झौतापछि तयार गरिएको अध्ययन प्रतिवेदनमा ईभीको ब्याट्री व्यवस्थापनको विषयमा कसरी अघिबढ्न सकिन्छ भन्ने सुझावहरु दिइएको छ ।

पहिलो, ब्याट्रीको संकलनमा परिस्कृत प्रणाली अपनाउनु रहेको छ ।

ब्याट्रीको आयु सकिएपछिको पुनर्प्रयोगका लागि सबैभन्दा उत्तम उपाय भनेको त्यसलाई सुरक्षित र प्रभावकारीरुपमा संकलन गरिनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । यसको सहजताका लागि पूर्वाधार विकास गर्ने र ब्याट्री ‘ड्रप-अफ’ का लागि डिलरसिप, सर्भिस सेन्टर तथा संकलनकर्ताहरुले प्रयोगकर्ताहरुलाई वित्तीय प्रोत्साहनहरूसहितका योजना अवलम्बन गर्नु पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसका साथै ब्याट्रीको संकलन, डिस्पोजल र पुनर्प्रयोगको महत्त्वबारे उपभोक्तालाई जानकार गराउने गरि जनचेतनाका कार्यक्रमहरु पनि आयोजना गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

दोस्तो सुझाव, ब्याट्रीको गुणस्तर परीक्षण र ग्रेडिङ प्रोटोकल तयार गर्नु पर्ने भनिएको छ ।

यसका लागि प्रयोग भएको ब्याट्रीको अवस्था र क्षमताका आधारमा छुट्याउने एकरुप विधिहरु विकास गर्नु पर्ने प्रतिवेदनमा उल्लेख छ । ब्याट्री छुट‍्याउँदा अवस्था र क्षमता तथा ग्रेडिङ गर्नुले त्यसको स्वास्थ्य (ब्याट्री हेल्थ), क्षमता र प्रदर्शनका आधारमा विश्वव्यापी छुट्याएमा त्यसलाई अर्को चरणको प्रयोगका लागि मार्ग पहिल्याउन सकिने प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै ब्याट्री व्यवस्थापनका लागि ब्याट्रीको रिपरपोजिङ र दोस्रो जीवनका प्रयोगहरुलाई बढावा दिन पनि आवश्यक रहेको सुझाव प्रतिवेदनमा उल्लेख छ ।

ब्याट्री प्याकहरुको एक आयु समाप्त हुँदा पनि त्यसमा ७० प्रतिशत दक्षता बाँकी हुने भएकाले त्यसलाई दोस्रो चरणमा प्रयोग गर्न सकिने पक्षहरुलाई ध्यान दिनुपर्ने प्रतिवेदनमा भनिएको छ । यस्ता दोस्रो चरणका प्रयोगहरुमा सोलार पावर बैंक, पावर सव स्टेसन, अध्ययनसम्बन्धित परियोजनाहरु, मोबाइल चार्ज पावर बैंकलगायत रहेका छन् ।

दोस्रो चरणको प्रयोग गर्दा त्यसको सुरक्षा र भरपर्दो कति छ भन्ने कुरालाई परिक्षण गरेर मापन गर्नु पर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साथै राज्यको तर्फ र विभिन्न संस्थानहरुमार्फत लगानी गरेर ब्याट्रीको दोस्रो जीवनका लागि अध्ययन तथा विकासका लागि पनि काम गर्नु पर्ने प्रतिवेदनमा सुझाव दिइएको छ ।

पुनर्प्रयोगका लागि विस्तृत पुर्वाधारको विकासको पनि उत्तिकै आवश्यकता रहेको प्रारम्भिक अध्ययनबाट देखिएको छ । दोस्रो प्रयोगका लागि उपयुक्त अवस्थामा नरहेका ब्याट्रीहरूलाई रिसाइक्लिङ उद्योगहरुमा लैजान सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्ता रिसाइक्लिङ उद्योगहरुले ब्याट्रीमा रहेका महत्वपुर्ण सामग्री प्राप्त गर्न सकिने प्रतिवेदनमा उल्लख गरिएको छ ।

परिस्कृत रिसाइक्लिङ उद्योगबाट ब्याट्रीमा भएमा लिथियम, कोबाल्ट र निकलजस्ता सामग्रीलाई नयाँ ब्याट्री बनाउन प्रयोग गर्न सकिन्छ ।

त्यस्तै, नियामक फ्रेमवर्कहरु लागु गर्नु पनि उत्तिकै आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसका लागि आयु सकिएपछिको ब्याट्रीको दिगो अभ्यासहरूलाई प्रोत्साहन गर्न सहज नीतिहरु र वित्तिय प्रोत्साहनहरुले प्रभावकारी भूमिका खेल्ने गरि व्यवस्था गर्नु पर्ने अध्ययनबाट पाइएको छ ।

यी सुझावका साथै ब्याट्री व्यवस्थापनको प्रतिवेदनमा ब्याट्रीको संकलनपछि भण्डारण गर्दा अपनाउनु पर्ने पक्षहरुलाई समेत राखिएको छ ।

ब्याट्री कसरी भण्डारण गर्ने ?

ब्याट्री व्यवस्थापनका लागि संकलनपछि भण्डारण गर्ने ठाउँ राम्रोसँग भेन्टिलेसनको व्यवस्था भएको र तापक्रम नियन्त्रण गर्न मिल्ने हुनुपर्छ । साथै यो क्षेत्र सुरक्षित, आगलागी नहुने र आगलागी रोक्ने गरि उपकरण जडान भएको हुनुपर्नेछ ।

सुरक्षाका मापदण्ड कस्तो हुनुपर्छ ?

नन-कन्डक्टिभ सतह (विजुली प्रवाह नहुने) रहेको क्षेत्रमा ब्याट्रीको भण्डारण गरिनुपर्छ, जसले गर्दा सर्ट सर्किट हुनबाट जोगाउँछ ।

साथै भण्डारण गरिने ब्याट्री प्याकहरुबीचमा निश्चित दुरी कायम गर्नुपर्छ जसले गर्दा थर्मल रनअवे (तापक्रम बढ्ने गरि हुने रासायनिक प्रकिया) हुने जोखिम कम हुन्छ ।

भण्डारण गर्दा के ध्यान दिने ?

भण्डारण गर्दा त्यहाँ राखिने सम्पूर्ण ब्याट्री प्याक र अन्य सामग्रीहरुलाई राम्रोसँग नामाकरण गरेर तीनिहरुको अवस्था के छ र भविष्यमा पुनर्प्रयोग (रिसाइक्लिङ) गर्ने हो वा त्यसलाई अर्को स्वरुपमा रुपान्तरण गर्ने हो (रिपरपोजिङ) गर्ने भन्नेबारेमा पनि अभिलेखिकरण गर्नुपर्छ ।

साथै, हरेक ब्याट्री प्याकको अवस्था के छ र कति समयबाट भण्डारण भईरहेको छ भनेर निगरानी गर्न मिल्ने ट्र्याकिङ प्रणाली पनि हुनुपर्छ ।

नियमित अनुगमन कसरी गर्ने ?

भण्डारण गरिएका ब्याट्रीहरुको नियमित अनुगमन आवश्यक छ । यसो गर्दा कुनै क्षति भएको वा कुनै लिकेज भएको वा कुनै किसिमले खराब भउको भनि हेर्नुपर्छ । साथै अनुगमन गर्दा कुनै अवस्थामा क्षति भएको ब्याट्री छ भने त्यसलाई तत्कालै हटाउने र व्यवस्थापन राम्रोसँग गर्नुपर्छ ।

ब्याट्रीलाई एक ठाउँबाट अर्को ठाउँमा कसरी लैजाने ?

ब्याट्रीलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा पनि त्यसलाई सुरक्षितरुपमा गर्नुपर्छ । यसका लागि विश्वव्यापी मापदण्ड अपनाएर गाडीमा लेबल लगाउनका साथै अन्य कुराहरुको पनि ख्याल गर्नु पर्ने हुन्छ ।

यस्ता कुराहरुमा यात्रा गरिरहँदा ब्याट्री कतै नहल्लिने गरि राखिनुपर्छ । र, सम्भव भएसम्म तापक्रम नियन्त्रण गर्न मिल्ने किसिमको गाडीमा राखेर यसलाई लैजानुपर्छ । गाडीमा आपतकालीन अवस्थामा चाहिने सम्पूर्ण सामग्री र दक्ष व्यक्ति पनि हुनुपर्छ ।


युवराज भट्टराई