विश्वमा ४ करोडभन्दा धेरै ईभी, ब्याट्रीदेखि विद्युतीय सडक बनाउने सम्ममा भइरहेको छ काम



काठमाडौं । सन् २०२३ मा विश्वमा झन्डै १ करोड ४० लाख विद्युतीय गाडीहरुको बिक्री भएका छन् । यीमध्ये ९५ प्रतिशत विश्वकै ठूला बजार चीन, युरोप र अमेरिकामा रहेको छ ।

सन् २०२३ मा बिक्री भएका विद्युतीय गाडीहरूको संख्यालाई आधार बनाउँदा हाल विश्वमा ४ करोडभन्दा धेरै विद्युतीय गाडीहरू सडकमा रहेको इन्टरनेशनल इनर्जी एजेन्सीको ग्लोबल ईभी आउटलुक २०२४ ले जनाएको छ ।

सन् २०२२ को तुलनामा सन् २०२३ मा विश्वभरमा ३६ प्रतिशत धेरै विद्युतीय गाडीहरु बिक्री भएका छन् । पाँच वर्षअघिको अवस्था हेर्ने हो भने सन् २०१८ को तुलनामा सन् २०२३ मा ६ गुणा धेरै विद्युतीय गाडीहरु बिक्री भएका छन् ।

विश्व मानचित्रमा ईभीको प्रयोगमा व्यापकता आएको प्रष्ट छ । १० वर्षअघि सन् २०१३ मा वर्षभरि बिक्री भएको विद्युतीय गाडीहरूको संख्याभन्दा धेरै सन् २०२३ मा एक सातामा नै विद्युतीय गाडीहरु बिक्री भएका थिए । सन् २०२३ मा साप्ताहिक रुपमा २ लाख ५० हजार विद्युतीय गाडीहरू विश्वमा दर्ता भएका छन् ।

सन् २०२३ मा विश्वमा बिक्री भएका सबै किसिमका गाडीहरूमध्ये विद्युतीय गाडीहरु १८ प्रतिशत रहेका छन् । सन् २०२२ मा यो २२ प्रतिशत थियो भने पाँच वर्षअघि यो २ प्रतिशत मात्रै थियो ।

पछिल्लो समय देखिएका यस्ता परिद‍ृश्यहरुले विद्युतीय गाडीको बजार परिपक्व हुँदै गएको देखाएको छ । यद्यपि यो उद्योगलाई लिएर विकाशहरु दैनिक जसो भइरहेका छन्। विद्युतीय गाडीहरूलाई लिएर दैनिक जसो नयाँ प्रविधिको विकाश भइरहेको छ भने विकसित प्रविधिहरूलाई थप परिस्कृत बनाउँदै गइएको छ ।

कुन देशमा कस्तो छ ईभीको बजार ?

वैश्विक रुपमा विद्युतीय गाडीको प्रयोग र बिक्री बढिरहेको भए पनि यसको बजार मुख्य गरि केही देशहरुमा मात्रै सीमित छ ।

सन् २०२३ मा झन्डै ६० प्रतिशत विद्युतीय गाडीहरूको बजार चीनमा रहेको छ । विश्वकै ठूलो उपभोक्ता बजारमध्येको एक रहेको चीनमा विद्युतीय गाडीको व्यापार विश्वकै सबैभन्दा धेरै रहेको छ ।

त्यस्तै, सन् २०२३ मा विश्वकै दोस्रो ठूलो विद्युतीय गाडीको बजारमा भने युरोप रहेको छ । युरोपको बजारमा विद‍्युतीय गाडीको २५ प्रतिशत हिस्सा बिक्री हुने गरेको छ ।

त्यस्तै, तेस्रोमा अमेरिका रहेको छ । अमेरिकामा कुल विद्युतीय गाडीहरुमध्येको १० प्रतिशत विद‍्युतीय गाडी २०२३ मा बिक्री भएको छ ।

यद्यपि जापान र भारत जस्ता विकसित देशहरूका साथै अन्य देशहरूमा भने विद्युतीय गाडीहरूको बजार सीमित रहेको छ ।

कस्तो छ ईभीको विकाशक्रम?

ईभी म्यागजिनका अनुसार विद्युतीय गाडीमा पछिल्लो समय भइरहेका केही विकाशक्रमले यो क्षेत्रलाई नै परिस्कृत बनाइरहेका छन् । वातावरणीय पक्षलाई ध्यानमा राख्दै पछिल्लो समयमा भइरहेका विकाशक्रमले ईभीको बजारलाई थप विस्तार गर्दै गएको उसले जनाएको छ ।

विद्युतीय गाडीलाई लिएर पछिल्लो समय भइरहेका विकाशहरुमध्येमा एउटा ‘भ्वाइस युजर इन्टरफेस टेक्नोलोजी’ हो । बिवर्क्स अटोमेसन नामक कम्पनीमा रहेका इन्जिनियरहरुले यो प्रविधिको विकाशका लागि बेलायती अनुदान ‘युके डिजाइन फाउन्डेसन ग्रान्ट’ बाट ६८ हजार २ सय पाउन्ड पाएका छन् ।

‘भ्वाइस युजर इन्टरफेस टेक्नोलोजी’ को बारेमा अनुसन्धान र अध्ययनका लागि यो अनुदान पाएका हुन् । यो प्रविधिको विकाश भएमा यसले अपाङ्गता भएका व्यक्तिहरुले पनि विद्युतीय गाडीहरु प्रयोग गर्न सक्ने बताइएको छ ।

त्यस्तै, अर्को उत्कृष्ट विकाश भनेको साना चार्जरहरु हुन् । ईभीको चार्जिङ्ग स्टेसनको आकारलाई लिएर अहिले विश्वमा यस्तो विकाश भइरहेको छ । कनेक्टेड केर्ब जस्ता कम्पनीहरुले फाईभ जि र आइओटीको प्रयोग गरेर चार्जिङ पूर्वाधारको विकाश गरिरहेका छन् । यो विकाशले चार्जिङ स्टेसनलाई सानो बनाउने मात्रै नभएर यसलाई ग्रामिण र शहरी क्षेत्रमा गाडी राखिने ठाउँमा सजिलै राख्न मिल्ने हुनेछ ।

विद्युतीय गाडीमा तीव्र चार्जिङको कुरा लामो समयदेखि हुँदै आएको छ । विद्युतीय गाडीलाई छिटो चार्ज गर्ने कुरामा चाह भएतापनि यसको जोखिम पनि छ । यद्यपि यो प्रविधिलाई लिएर पनि काम भइरहेको छ । यो साता मात्रै चिनियाँ अटो उत्पादक जिक्रले विश्वकै सबैभन्दा चाडो चार्ज हुने ब्याट्री बनाएको दाबी गरेको थियो । उक्त कम्पनीले ८ सय भोल्टको लिथियम आइरन फोस्फेट (एलएफपी) ब्याट्रीलाई लिएर यो दाबी गरेको थियो । तर, हालसम्म पनि यसमा उल्लेखनीय रुपमा भने काम भइसकेको छैन । कतिपय स्थानमा डिसि फास्ट चार्जरहरु भएतापनि हाल यो अनुसन्धान वा प्रोटोटाइपका रुपमा रहेका छन् ।

ब्याट्रीको चार्जिङमा लाग्ने लामो समयका कारण त्यसलाई फेर्ने प्रविधिलाई पनि विकाश गर्न हाल काम भइरहेको छ । यो प्रविधिले गाडीमा भएको ब्याट्रीको चार्ज सकिएमा अर्को ब्याट्री हाल्ने विकल्प दिन्छ । यो प्रविधिलाई लिएर चिनियाँ अटोमोटिभ प्रविधि कम्पनी ज्हेजियाङ गिली होल्डिग ग्रुपले हालै यहि प्रविधिलाई लिएर रणनैतिक सम्झौता गरेको छ । उक्त सम्झौताकाअनुसार ब्याट्री परिवर्तन गर्ने प्रविधिका साथै ब्याट्रीको व्यवस्थापनलाई लिएर पनि काम गरिनेछ ।

विद्युतीय गाडीको साइबर सुरक्षालाई लिएर पनि काम भइरहेको छ । यस्ता गाडीहरूमा साइबर हमलाको जोखिम पनि धेरै हुने भएकाले त्यसलाई लिएर पनि विकाश भइरहेको छ । सन् २०२४ जुलाईमा युएनइसिइ साइबर सुरक्षा र युएनइसिइ सफ्टवेयर अपडेटिङ नियमनहरूलाई अनिवार्य गरेको छ, जसले विद्युतीय गाडीहरुलाई साइबर हमला हुनबाट बचाउँछ र गाडीमा अनाधिकृत प्रवेश हुनबाट पनि बचाउँछ ।

ब्याट्री र चार्जिङको कुरा गरिरहँदा अहिले वायरलेस चार्जिङलाई लिएर पनि काम भइरहेको छ । विट्राइसिटी नामक व्यवसायिक कम्पनीले वायरलेस चार्जिङमा काम गरिरहेको छ । यो सम्भाविक विकल्पले हालजस्तै सडक किनारमा ठूला चार्जिङ स्टेसन राख्नुपर्ने अवस्था नहुन सक्छ ।

यसका साथै पछिल्लो समय विद्युतीय सडकलाई लिएर पनि काम भइरहेको छ । यो विकाशक्रमलाई विद्युतीय गाडीहरुको भविष्य हुन सक्ने भन्दै कतिपयले अनुमान पनि गरेका छन् । इटलीको ‘एरिना डेल फ्युचुरो’ मा यो प्रविधिलाई लिएर विकाश गर्ने काम भइरहेको छ । यहाँ सडकमा गाडी कुदाउँदा नै चार्ज हुने प्रविधिलाई लिएर काम भइरहेको छ । त्यस्तै, स्विडेनमा पनि विद्युतीय रोडको विकाश गर्ने काम भइरहेको छ ।

चार्जिङकै विषयमा ‘बाइडिरेक्सनल’ चार्जिङ प्रविधिलाई लिएर पनि विकाश भइरहेको छ । यो प्रविधिले विद्युतीय गाडीमा नै उर्जा भण्डारण गर्ने र पछि त्यो उर्जालाई अति माग हुँदा वा ब्याकअपका रुपमा ग्रिडमा नै फर्काउन सकिने गरि विकाश गर्न खोजिएको छ ।

यी सबै विकाशक्रमसँगै स्वचालित प्रविधि विकाश गर्नका लागि पनि काम भइरहेको छ । ईभीमा यो विकाश क्रमलाई लिएर टेस्ला जस्ता विश्वकै ठूला विद्युतीय गाडी निर्माता कम्पनीहरूका साथै अन्यले पनि काम गरिरहेका छन् । यद्यपि यसमा हालसम्म भएको विकाशक्रमले गाडी पूर्णरुपमा चालक बिना नै चल्न सक्ने अवस्थामा भने छैनन् । तर, हाल विश्वमा रोबोट्याक्सी (रोबोट ट्याक्सी) को विकाशलाई लिएर पनि काम गरिरहेका छन् । विश्वकै ठूलो इकमर्श कम्पनी अमेजोनको स्वामित्वमा रहेको कम्पनी जोक्सले हाल रोबोट्याक्सी विकाश गर्न काम गरिरहेको छ । यी ट्याक्सीहरु हाल अमेरिकाको लास भेगस, नेभाडा र क्यालिफोर्नियाजस्ता क्षेत्रमा परिक्षणात्मक प्रयोगमा छन् ।


क्लिकमान्डु