अटो एसेम्ब्लिङको हब बन्यो नवलपरासी: ४ कम्पनीको उत्पादन, महिन्द्रालगायतले पनि प्लान्ट लगाउने

व्यवसायीको रोजाइमा किन पर्‍यो रामग्राम ?



काठमाडौं । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेपछि नेपालमै हुण्डाईको भेन्यु गाडी एसेम्बल हुन थाल्यो ।

लक्ष्मी समूहले नवलपरासीको रामग्राम-६ मा एसेम्बल प्लान्ट निर्माण गरेको हो ।  १० बिघामा डेढ अर्ब रुपैयाँको लगानीमा आधुनिक इक्विपमेन्ट लगाएर प्लान्ट तयार पारिएको छ । पहिलो चरणमा करिब १०० जनाले रोजगारी पाएको यो प्लान्टले वार्षिक १५ हजार गाडी उत्पादन गर्न सक्छ ।

रामग्रामस्थित हुन्डाईको एसेम्बल प्लान्ट । यो नेपालमा चारपांग्रे सवारीसाधन उत्पादनको पहिलो प्लान्ट हो ।

नवलपरासीमा पछिल्लो समय एसेम्बल प्लान्ट लाग्ने लहर चलेको छ । ६ वर्षदेखि अटो एसेम्बलमा लगानी गर्न थालेका व्यवसायीहरुको पहिलो रोजाई नवलपरासी बनेको छ । बजाज, यमाहा ,हुण्डाईका सवारीसाधन यहिबाट एसेम्बल हुन थालेका छन् भने महिन्द्रालगायतका केहि कम्पनीहरुले निकट भविष्यमा नै प्लान्ट राख्ने तयारी गरेका छन् ।

रामग्रमस्थित बजाजको एसेम्बल प्लान्ट

नवलपरासीमा बजाजले पहिलो पटक एसेम्बल प्लान्ट बनाएको थियो । गोल्छा समूहले नवलपरासीको रामग्राममा बजाजका मोटरसाइकल उत्पादनका लागि एसेम्बल प्लान्ट निर्माण गरेको हो । बजाजको पल्सर बाइकको बिक्री ह्‍वात्तै बढेपछि गोल्छा ग्रुपको हंसराज हुलासचन्द्र एण्ड कम्पनी मातहतको हुलास अटो क्राफ्ट एसेम्बल प्लान्ट लगाएको हो ।

कम्पनीका अनुसार २०७१ सालमा उद्योग विभागमा दर्ता भएर २०७५ सालदेखि बजाजको मोटरसाइकल व्यवसायिक उत्पादन हुँदै आएको छ । हुलास अटो क्राफ्टले बजाजका सवारीसाधन बिक्री गर्दै आएको छ । बजाजले एसेम्बल प्लान्ट राखेपछि आधा दर्जनबढी कम्पनीले जग्गा किनेका थिए ।

मोरङ अटो वर्क्स (एमएडब्लु) ले नवलपरासीको रामग्राममा एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको छ । त्यहाँ यामाहा ब्राण्डका मोटरसाइकल तथा स्कुटर एसेम्बल भइरहेको छ । डेढ अर्ब रुपैयाँ लगानीमा कम्पनी एसेम्बल प्लान्ट तयार पारेको हो । ८ बिघामा फैलिएको यो प्लान्ट गत वर्ष सञ्चालनमा ल्याइएको हो ।

त्यस्तै हालैमात्र चाैधरी ग्रुपले हिरो ब्रान्डका दुई पांग्रे सवारी साधन नेपालमै एसेम्बल सुरु गरेको छ । हिरोकाे भने नवलपरासी पूर्व देवचुलीमा रहेको सिजी ‌‍‍औद्योगिक ग्राम परिसरभित्र प्लान्ट छ ।

अटो व्यवसायीको रोजाइमा किन पर्‍यो रामग्राम ?

रामग्राम धार्मिक तथा पर्यपटकीय स्थल समेत हो । भगवान गौतम बुद्धको पवित्र अस्थिधातु रहेको प्राचिन रामग्राम स्तुपका नाममा यो नगरपालिकाको नामाकारण गरिएको हो । यो ठाउँ गौतम बुद्धको मामाघरको रुपमा वुद्धधर्मावलम्बीले मान्ने गरेका छन् । सरकारले नवलपरासीको रामग्राम स्तुप क्षेत्रको विकासका लागि गुरुयोजना समेत तयार पारेको छ। ७ अर्ब रुपैयाँ लागतको गुरुयोजना बनाएको छ । ग्रेटर लुम्बिनी अन्तर्गत १७ बिघामा रामग्राम स्तुप बनाउन लागिएको छ ।

नवलपरासी उद्योग, वाणिज्य संघका  अध्यक्ष ओम प्रकाश अग्रहरीले नवलपरासी मुलुकको केन्द्रविन्दुमा रहेको दाबी गरे । ‘नवलपरासी नेपालको केन्द्रमा पर्छ । यहाँबाट छोटो दुरीमा भारतसँग जोडिने दुईवटा भन्सार नाकाहरु छन् । सामान ल्याउन र लैजान सहज हुन्छ,’ उनले भने, ‘सबै हिसाबले राम्रो भएकाले यो अटो हब बन्नका लागेको हो ।’

रामग्रमस्थित यामाहाको एसेम्बल प्लान्ट

यहाँबाट नजिक सुनौली र महेशपुर भन्सार कार्यालय रहेका छन् । महेश्वर भन्सार कार्यालय पश्चिम नवलपरासीमा पर्छ । भैरहवामा सुनौली भन्सार कार्यालय रहेको छ ।

रामग्रामबाट भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल समेत नजिकै दुरीमा पर्छ । करिब २० मिनेटमा विमानस्थल पुग्न सकिन्छ । ‘राम्रा सडकहरु बनेका छन् । जग्गा सस्तो छ । बिजुलीको कुनै समस्या छैन । विद्युत प्राधिकरणले राम्रो पूर्वाधार बनाइदिएको छ, ‘ उनले भने, ‘सबै हिसाबले राम्रो भएकाले उद्योगहरु आइरहेका छन् ।’

भैरहवास्थित होन्डाको एसेम्बल प्लान्ट

अग्रहरीका अनुसार विश्व सम्पदा सूचीमा रहेका कारण लुम्बिनी वरिपरि अहिले उद्योग राख्न पाइँदैन । नयाँ उद्योगका लागि अनुमति दिइदैन । भने चलिरहेका उद्योगहरु समेत सरकारले हटाउन लागेको छ। त्यताका उद्योग समेत नवलपरासीतिर आइरहेको उनको भनाइ छ ।

नवलपरासीमा जग्गाको मूल्य ५ लाख रुपैयाँ देखि १२ लाख रुपैयाँ प्रतिकठ्ठा सम्म पाइन्छ ।

‘एकातिर सस्तोमा जग्गा पाइन्छ भने अर्कातिर कामदारहरु समेत सहजै पाइन्छ, ‘ अग्रहरीले भने, ‘लगानी गर्ने मान्छेले सबै दृष्टिकोणले हेर्छ । सबै हिसाबले नवलपरासी उत्कृष्ट छ ।’

रामग्रामस्थित हुण्डाई गाडीको प्लान्ट उद्घाटनपछि अवलोकन गर्दै प्रधानमन्त्री प्रचन्ड

नाकाबन्दी हुँदा वीरगन्ज भन्सार कार्यालय पूर्णरुपमा ठप्प भएको थियो । तर सुनौली नाका बन्द भएन । मधेश आन्दोलनका कारण वीरगंज प्रभावित भएको थियो । नवलपरासीलाइन मधेश आन्दोलनले प्रभाव पार्दैन ।

‘यहाँ सवारीसाधनका एसेम्बल प्लान्टहरु बढिरहेका छन् । महिन्द्राले समेत एसेम्बल प्लान्ट लगाउन लागेको छ,’ उनले भने,’अरु कम्पनी पनि थपिदैछन । नवलपरासी धेरै ठूलो ‍औद्योगिक हब बन्दैछ ।’

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दिपक थपलियाले नवलपरासीमा एसेम्बल प्लान्ट लगाउनेहरु बढिरहेको बताए । ‘एसेम्बल प्लान्ट लगाउने धेरै भइसके । बोर्डरको हिसाबले नजिक पर्छ । रोड नेटवर्क राम्रो छ ।  नाकाबन्दीले समेत प्रभावित नभएका कारणले हुन सक्छ, ‘ उनले भने, ‘अब त अटो उत्पादनको हब बन्दै छ । ‘

सरकारले एसेम्बल प्लान्टलाई प्रोत्साहन गर्ने नीति लिएपछि धमाधम खुल्न थालेका हुन् । बजेट मार्फत स्वदेशमा नै एसेम्बल राख्ने उद्योगलाई सिकेडी आयात छुट दिने निर्णय गरेको छ । त्यसपछि उद्योगीहरुले प्लान्टमा लगानी बढाएका हुन् । केहि कम्पनीले निकट भविष्यमा नै प्लान्ट लगाउने तयारी गरेका छन् ।

सरकारले नीतिगत स्थीरता राख्ने आशामा नेपालमा सवारीसाधन एसेम्बलिङ प्लान्ट स्थापनामा व्यवसायीहरुमा राम्रै चासो बढेको देखिन्छ । जसका कारण करिब १२ अर्ब रुपैयाँ बराबरको २ दर्जन बढी सवारीसाधन एसेम्बलिङ उद्योग दर्ता भइसकेका छन् ।

आधा दर्जन एसेम्बल प्लान्ट सञ्चालनमा आइसकेका छन् । यी प्लान्टहरुले कम्प्लिट नक्ड डाउन (सिकेडी) अर्थात पाट पूर्जाहरु आयात गरेर सवारीसाधन एसेम्बल गर्दै आएका छन् ।

बाराको सिमरास्थित टिभीएसको प्लान्ट

दुई पांग्रेमा ७ वटा ब्राण्डका सवारी साधन एसेम्बल गर्नका लागि नेपालमा प्लान्ट सञ्चालनमा रहेका छन् । जसमा बजाज, हिरो, सुजुकी, यामाहा, रोयल इन्फिल्ड, टिभीएस र होण्डा बाइक तथा स्कुटरका एसेम्बल प्लान्ट सञ्चालनमा रहेका छन् ।

होण्डाको प्लान्ट भैरहवामा छ भने रोयल इन्फिल्डको प्लान्ट पर्साको बीरगन्जमा र टीभिएसको प्लान्ट बाराको सिमरामा रहेको छ । हिरोकाे भने नवलपरासी पूर्व देवचुलीमा रहेको सिजी ‌‍‍औद्योगिक ग्राम परिसरभित्र छ ।

पर्साको बीरगन्जस्थित रोयल इन्फिल्डको प्लान्ट


दिनेश खड्का