उत्पादन गर्न बिर्सिएको नेपालमा हुण्डाइले जगाउला त आशा ?
नेपालमा आधा दर्जनबढि दुईपांग्रे सवारी साधन एसेम्बल हुन थालिसकेका छन्
काठमाडौं । नेपालमा नै कच्चा पदार्थ भएको तथा सहजै आयात प्रतिस्थापन गर्न सकिने वस्तु उत्पादन गर्न पनि नेपालले बिर्सिसकेको छ । किनकि पछिल्लो एक दशकमा नेपालमा बनेका तथा संशोधन भएका कानुन नेपालमा उत्पादन प्रवर्धन गर्नुभन्दा आयात गर्न सहज हुने प्रकारले ल्याइएका छन् ।
उद्योग दर्ता प्रक्रियादेखि धेरैवटा नियामकीय निकाय, कर कर्मचारीको असिमीत तजबिजी अधिकार अनि सरकारको नीतिगत अस्पष्टताले नेपालमा उत्पादनमुलक उद्योगमा लगानी गर्नु झन् झन् कठिन हुदै गइरहेको नेपाल उद्योग परिसंघ (सीएनआइ)का पूर्वअध्यक्ष हरिभक्त शर्माको अनुभव छ ।
परिसंघले मंगलबार आयोजना गरेको ‘मेक इन नेपालः स्वदेशी’ सम्मेलनको एक सत्रमा बोल्दै शर्माले नेपालमा पछिल्लो एक दशकमा संशोधन भएका तथा बनेका नयाँ कानुन पनि सबैजसो औद्योगिक विकासका लागी प्रतिगामी रहेको बताए ।
तर, यसैबीच, बिहीबार (बैशाख २८ गते) लक्ष्मी समूहले दक्षिण कोरियाको गाडि उत्पादक हुण्डाई कम्पनीसँगको सहकार्यमा नेपालमै हुण्डाईका गाडी उत्पादन गर्न नवलपरासीको रामग्राम-६ मा एसेम्ब्लिङ प्लान्ट उद्घाटन गर्दै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेपछि नेपालमा नै व्यावसायिक उत्पादन थाल्ने तयारीमा रहेको लक्ष्मी समूह नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता पनि हो ।
दक्षिण कोरियाले पनि सुरुमा गाडि एसेम्ब्लिङ गरेर नै आफ्नो क्षमता विकास गर्दै गएको कारण आज विश्व बजारमा हुण्डाई गाडी उत्पादकको रुपमा स्थापित भएको हो ।
‘हामीले पनि सुरुमा गाडी एसेम्ब्लिङ प्लान्टबाटै विकास गर्दै गएको हो,’ नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क ताई योङले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा बुधबार अनुभव सुनाए ।
वास्तवमा आज विश्वको उत्कृष्ट १० कम्पनीको सूचीमा रहेको हुण्डाईको सुरुवात पनि अमेरिकी गाडी उत्पादक फोर्डको सहकार्यमा एसेम्ब्लिङबाट नै भएको हो ।
चुंग जु-युङ नामक उद्यमीले सन् १९४७ मा हुण्डाई इन्जिनियरिङ् एण्ड कन्स्ट्रक्सन कम्पनी नामक सानो व्यवसायको स्थापना गरे । उनको उद्देश्य थियो- दोस्रो विश्वयुद्धको विनाश पछि दक्षिण कोरियालाई पुनर्निर्माण र औद्योगिकीकरण गर्न मद्दत गर्ने ।
तर, दुर्भाग्यवश, कोरियाली युद्धले उनको आशा र योजनालाई ध्वस्त बनायो । चुङ जु-युङले तत्कालका लागि आफ्ना योजना त्यागे र यसको सट्टा कोरियाली यातायात मन्त्रालयमा काम खोजे । सन् १९६० को दशकको उत्तरार्धमा मात्रै फेरि उनको सपना साकार भयो ।
हुण्डाई मोटर कम्पनीले आधिकारिक रूपमा सन् १९६८ मा आफ्नो पहिलो मोडेल कोर्टिना उत्पादन गर्यो । तर, कोर्टिना उत्पादन गर्न हुण्डाइले पनि फोर्ड मोटर कम्पनीसँग सहकार्य गरेको थियो ।
फोर्डको सहयोगमा हुण्डाईले दक्षिण कोरियामा कोर्टिना मोडेल उत्पादन गरेको ५६ वर्षपछि अनि नेपाल तथा दक्षिण कोरियाको दौत्य सम्बन्धको ५० वर्षपछि हुण्डाई नेपालमा एसेम्ब्लिङ प्लान्टको लागी लक्ष्मी समूहसँग सहकार्य गर्दैछ ।
आज नेपालमा दक्षिण कोरियाको चिनारी उत्कृष्ट रोजगारदाता देशको रुपमा मात्र रहेको छ ।
राजदूत पार्कले पनि सन् २००७ मा नेपालसँग रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता भएयता हालसम्म एक लाखभन्दा बढी नेपालीले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेको बताए ।
‘हाल दक्षिण कोरियामा इपिएसअन्तर्गत ४३ हजार नौ सय ६३ नेपाली विभिन्न क्षेत्रमा रोजगारीमा छन्,’ उनले भने ।
तर, साथसाथै, उनले इपिएस सम्झौताअन्तर्गत कोरिया गएर फर्केका नेपाली युवालार्ई कसरी नेपाल फर्केपछि उद्यमी बनाउने भनेर पनि लगानी गरिरहेको पनि थपे ।
तर, यक्ष प्रश्न के हो भने, कोरियाजस्ता मित्रराष्ट्रका यी प्रयासहरुले उत्पादन गर्न बिर्सिएको नेपाललाई उद्यमशीलता र औद्योगिकीकरणमा झक्झकाउँछ ?
टाढा जानै पर्दैन नेपालकै छिमेकि भारतमा पनि सन् १९२८ मा सुरुवाती चरणमा जनरल मोटर्स र ग्राहम पेजका दुईवटा एसेम्ब्लिङ प्लान्ट स्थापना भएका थिए । त्यसपछि फोर्ड पनि भारतमा एसेम्ब्लिङ प्लान्ट राख्न आयो ।
तर, सन् १९९१ को भारतमा आएको आर्थिक उदारीकरणका कारण सरकारी नियन्त्रण हटेसँगै धेरै भारतीय र बहुराष्ट्रीय कार कम्पनीहरु भारतीय बजारमा आक्रामकरुपमा आए, आफै उत्पादन गर्न थाले ।
त्यसैको देखासिकी गर्दै नेपालमा पनि सरकारले केही सहुलियत दिएका कारण पछिल्ला वर्षहरुमा केहि दुईपाँग्रे सवारी साधन एसेम्ब्लिङ प्लान्ट सुरु भएका छन् भने चारपाँग्रे सवारी साधनमा नेपालमा एसेम्ब्लिङ प्लान्ट स्थापना गर्ने हुण्डाईले सकृयता देखाएको छ ।
हुनत नेपालमा यसअघि हुलास ग्रुपले नै चारपाँग्रे गाडीहरु ‘एसेम्बल’ गरेको थियो। जसलाई प्रोत्साहन दिन डा.बाबुराम भट्टराईले प्रधानमन्त्री भएको समयमा ‘मुस्ताङ’ म्याक्स चढेका थिए । तर सरकारको नीतिगत अस्पष्टता तथा कर्मचारीतन्त्रको कोपभाजन भएर उक्त उद्योग बन्द भयो ।
त्यसपछि लगानी बोर्डमार्फत् कोरियन कम्पनी मोट्रेक्सले १० अर्ब ५४ करोडमा सवारीसाधन उत्पादन गर्ने कम्पनी नेपालमा स्थापना गर्न खोजेको भएपनि राजनीतिक अस्थीरताका कारण उक्त कम्पनीले कुनै चासो देखाएन ।
तर, एक शताब्दी अघि नेपालीको काँध चडेर राणा प्रधानमन्त्री चन्द्रशम्सेरका लागि काठमाडौं खाल्डो भित्रिएको मोटर अब काठमाडौं खाल्डोबाट २०० किमि टाढा नवलपरासीको रामग्राम-६ मा हुण्डाईको रेखादेखमा लक्ष्मी समूहको एसेम्ब्लिङ प्लान्टमा नेपालमा नै बन्दैछ ।
हुण्डाईले पहिलो चरणमा भेन्यु गाडी उत्पादन गर्ने तयारी गर्दै गर्दा हाल पाँच कम्पनीका दुईपाँग्रे सवारी साधन नेपालमा एसेम्बल हुन थालिसकेका छन् ।
नेपालमा हाल हुलास अटो क्राफ्टले बजाज, जगदम्बा अटो ग्रुपले टीभीएस, ग्लोबल अटोमोबाइल्सले सुजुकी, मोरङ अटो वक्र्सले यामाहा, हिमाल मोटोले होन्डा, सीजी मोटर्सले हिरो, त्रिवेणी ग्रुपले रोयल इन्फिल्ड एसेम्ब्लिङ गरिरहेका छन् ।
सरकारले नीतिगत स्थीरता राख्ने आशामा नेपालमा सवारीसाधन एसेम्बलिङ प्लान्ट स्थापनामा व्यवसायीहरुमा राम्रै चासो बढेको देखिन्छ। जसका कारण करिब १२ अर्ब रुपैयाँ बराबरको २ दर्जन बढि सवारीसाधन एसेम्बलिङ उद्योग दर्ता भइसकेका छन् ।
व्यवसायिक घराना शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले १ अर्ब रुपैयाँको लगानीमा बाराको सिमरामा टीभीएस मोटरसाइलकको एसेम्बल सुरु गरेको थियो । यामाहाको मोटरसाइकल र स्कुटर पनि नेपालमा एसेम्बल भइरहेको छ ।
यस्तै होण्डा र हिरोले पनि एसेम्बल गर्न सुरु गरिसकेका छन् । भारतको हिरो मोटरकर्पको साझेदारीमा चौधरी ग्रुपको सीजी मोटर्सले नेपालमै हिरो मोटरसाइकलको ‘एसेम्बल’सुरु गरेको हो ।
यस्तै अर्को व्यवसायिक घराना गोल्छा अर्गनाइजेशनको हुलास अटो क्राफ्ट प्रालिले २ करोड ४० लाख रुपैयाँ पुँजीमा कम्पनी दर्ता गरेको थियो भने पछि लगानी बढाएर ७० करोड रुपैयाँ पुर्याइको थियो । हुलास अटो क्राफ्टले पनि नवलपरासीमा एसेम्बलिङ उद्योग सञ्चालन गरिरहेको छ ।
नेपालमा ‘कस्मिक’ ब्रान्डको बाइकको पनि उत्पादन गर्ने गरिएको थियो । तर, विदेशबाट आयातीत सवारीसाधनसँग प्रतिस्पर्धा गर्न नसेकपछि उक्त एसेम्बलिङ प्लान्ट बन्द भयो ।
एसेम्ब्लिङ प्लान्टहरु स्थापन भएपछि सवारी साधनका अन्य पार्ट्सका उद्योग सञ्चालनमा आउन सक्छन् । तर यसका लागि सरकारको स्थीर तथा दीर्घकालीन नीति आवश्यक छ । किनकि सरकारले अन्तःशुल्क, भन्सारलगायतमा छुट सुविधा दिएसँगै स्वदेशमै एसेम्बल गर्ने उद्योगको संख्या अहिले बढन थालेका हुन् ।
तर, देशभित्रै कच्चा पदार्थ भएको तथा सहजै आयात प्रतिस्थापन गर्न सकिने वस्तु उत्पादन गर्न पनि बिर्सिसकेको नेपालमा सवारी साधन उद्योगका अगाडिका बाट सहज छैनन् ।
जसरी नेपालभर सहजै एउटै गतीमा सवारी साधन चलाउन मिल्ने फराकिला र स्तरीय बाटा नै छैनन्, त्यसैगरि नेपालमा शासकका सोच ती बाटाघाटाभन्दा पनि साँघुरो छ । नीतिगत अस्थीरता, दलपिच्छे मात्र होइन, नेतैपिच्छेका सोच र साँघुरो चिन्तनले पछिल्लो एक वर्षमा बनेका कानुन झन् निजीक्षेत्र तथा औद्योगिक विकासका लागि प्रतिगमनकारी छन् ।
सरकारले जुन सहुलियत दिएको छ, त्यो कुनै पनि दिन खोस्न बेर लाउन्न । किनकि सरकार दिने र निजी क्षेत्र लिने भन्ने संकिर्ण सोच नेपालका शासकमा छ । त्यसोभएपछि मुस्तांग म्यक्स वा कस्मिक बाइक झैं यी एसेम्बलिङ प्लान्टको अवसान भए नेपालमा अर्को एक शताब्दी कसैले पनि औद्योगिकरणको कुरा गर्दैन ।
त्यसैले, नेपालमा सवारी साधनका उद्योगको विकासले प्रबिधी हस्तान्तरण, रोजगारी सिर्जना, सवारी साधनसँग जोडिएका दर्जनौं पार्टपुर्जाका अन्य उद्योगसँगै औद्योगिकीकरणको संभावनाजस्ता यावत् विकासका लागि देशैभर फराकिलो सडक चाहिए झैं नीतिनिर्माताका सोच पनि फराकिलो चाहिन्छ ।
नेपालका शासकको निजी क्षेत्रप्रतिको फराकिलो सोचले नेपालमा सवारी साधनका उद्योगमात्र नभएर विभिन्न उत्पादनशील उद्योगलाई पनि फस्टाउन मद्दत गर्दछ । र नेपाल विकास हुन्छ, अन्यथा नेपालले उत्पादन गर्न त बिर्सिएकै छ, विकास गर्न पनि बिर्सनेछ ।
स्वाधीन अर्थतन्त्र बनाउने बहानामा पछिल्लो एक दशकमा जसरी अर्थतन्त्र ध्वस्त पार्दै लगिएको छ, त्यसले नेपाल झन् झन् पराधीन हुदै गइरहेको छ । र पराधीन अर्थतन्त्रले राष्ट्रियता जोगाउन सक्दैन । स्यामुएल जोन्सन भन्छन् नि- ‘राष्ट्रियता ठगहरुको अन्तिम आश्रय हो।’