प्रधानमन्त्री ओली र एलन मस्कबीच कुराकानी, नेपालमा स्टारलिंक भित्र्याउन दिन लागिएको हो ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र विश्व धनाढ्य एलन मस्कबीच शुक्रबार भर्चुअल कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत मस्कसँग भिडियो कुराकानी भएको सार्वजनिक गरेका छन् ।

नेपालमा एलन मस्कले सूचना प्रविधिको व्यापार गर्न खोजिरहेको र यस अघि ओलीलाई नै भेटेर डेमोसमेत देखाइसकेकोले ओलीसँगको कुराकानीले औपचारिक रुपमकै स्टार लिंकलाई भित्र्याउन खोजिएको अथ्र्याइएको छ ।

नेपालमा मस्कको कम्पनी स्टारलिंकले इन्टरनेट सेवा विस्तार गर्न उच्च सरकारी नेतृत्वबाटै सहमति लिएर जान यस अघि पटकपटक पहल गरिसकेको छ ।

स्टारलिंकका प्रतिनिधिले समेत प्रधानमन्त्री, सञ्चार मन्त्रीदेखि नेपाल दूरसञ्चार प्राधिकरणका नेतृत्वसमक्ष नेपालमा इन्टरनेटको विस्तार गर्न खोजेको विषयमा पटक पटक छलफल गरेरेर स्टारलिंकले कसरी काम गर्छ र नेपालमा आउन किन चाहन्छ भन्ने सहितको विषयमा डेमो देखाइसकेको छ।

स्टारलिंकका प्रतिनिधिले गत कात्तिक १० गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसकाे सेवा र सुविधाका विषयमा डेमाे देखाएका थिए ।

स्टारलिंकले नेपालमा आफ्नो फ्रिक्वेन्सी आउँदा २० प्रतिशत स्थानीय लगानीको शर्त हटाएर सहजीकरण गरिदिन प्रस्ताव गरेको छ ।

स्टारलिंक नेपालमा स्थानीय साझेदारबिना नै आउन जोडबल गरिरहेको छ । यसका लागि नेपाल दूरसञ्चार ऐनमा भएको २० प्रतिशतको स्थानीय साझेदार हुनैपर्ने व्यवस्था परिवर्तन गर्नुपर्ने शर्तसमेत अगाडि तेर्साइरहेहेको छ । यो कम्पनीले बिना साझेदार शतप्रतिशतको विदेशी लगानीमा नेपाल भित्रन चाहेको र सोही विषयमा लविइङ गरिरहेको सञ्चार मन्त्रालयकै अधिकारीले बताएका छन् ।

स्टारलिंकका प्रतिनिधिले प्रधानमन्त्री तहदेखि मन्त्रालयतहसम्म विभिन्न चरणमा छलफल अघि बढाइरहेका छन । ‘दूरसञ्चार ऐनमा भएको २० प्रतिशतको स्थानीय साझेदारको व्यवस्था परिवर्तन गरेर शतप्रतिशत आफ्नो स्वामित्वमा भित्रन लविइङ गरिरहेको सञ्चार मन्त्रालयका उच्च अधिकारीकाे भनाइ छ ।

नेपालमा भएकै व्यवस्थाअनुसार आउने वा शत् प्रतिशतको विदेशी लगानी गर्न पाइने अवस्थामा मात्रै आउने भन्ने विषयमा भने उसले स्पष्ट पारिसकेकाे छैन् ।


क्लिकमान्डु