चिनियाँ लगानी रहेको १३५ मेगावाटको मनाङ मर्स्याङदी हाइड्रोमा लगानी जुट्यो, निर्माण पनि सुरु



काठमाडौं । चिनियाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको १३५ मेगावाटको मनाङ मर्स्याङदी जलविद्युत् आयोजनामा लगानी जुटेको छ ।

शुक्रबार एक कार्यक्रमबीच आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) भएको हो । यो परियोजनाको निर्माण समेत सुरु भइसकेको छ ।

मनाङ मर्स्याङदी जलविद्युत कम्पनी प्रालि (‘कम्पनी) द्वारा प्रवर्द्धित यो आयोजनाको निर्माणको लागि  २०२४ अक्टोबर २२ मा चीनको एक्जिम बैंकसंग कर्जा सम्झौता सम्पन्न भएको छ । आयोजनाको वित्तिय व्यवस्थापनको कार्य सम्पन्न भएको र निर्माण कार्य समेत प्रारम्भ भएको कम्पनीले जनाएको छ । सो कर्जा सम्झौता अनुसार एक्जिम बैंकले एक अर्ब चौबिस करोड पच्चिस लाख चाइनिज युआन अर्थात १७ करोड ५२ लाख पचास हजार अमेरिकी डलर बराबर ऋण लगानी गर्नेछ ।

बाँकी ऋण रकम अन्य स्रोतबाट जुटाइएको छ । यस आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर रहेको छ । यस कम्पनीमा नेपालको नेतृत्वदायी जलविद्युत प्रवर्द्धक बुटवल पावर कम्पनी लिमिटेड, चिनियाँ लगानीकर्ताहरू एसीआईजी इन्टरनेशनल , सिङचेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, र क्यूवाईईसी इन्टरनेशनल कम्पनी लिमिटेड र सो कम्पनीहरूको संयुक्त लगानीको एसीआईजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट इनभेष्टमेन्ट कम्पनी प्रालिको संयुक्त लगानी रहेको छ । यस आयोजनामा ऋण तथा स्वपूँजी लगानीको अनुपात ८०:२० रहने छ ।

यस कम्पनीको स्वपूँजीमा २०% बुटवल पावर कम्पनीको लगानी र ८०% चिनियाँ लगानीको हिस्सा रहनेछ । साथै, यस कम्पनीले आयोजनास्थल आसपासका स्थानीय बासिन्दाहरूलाई प्रचलित कानूनको अधिनमा रही सेयर उपलब्ध गराउने योजना समेत बनाएको छ ।
हाल आयोजनाको निर्माणकार्य इपीसी ठेक्का अर्न्तगत् सिनो हाइड्रोले गरिरहेको छ भने आयोजनाको निर्माण कार्य निर्धारित कार्ययोजना अनुरूप तोकिएको समय ४२ महिना भित्रै सम्पन्न गर्ने योजना छ। योजनाका साथ निर्माण कार्य अघि बढाइएको छ ।


बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योतीले नेपाल र चीनबीच दिगो विकासका सहकार्य भएको बताए । उनले यो सहकार्यले भविष्यमा अरु परियोजनामा सहकार्यको  लागि समेत बाटो खुलेको बताए । ‘मनाङ मर्स्याङदी जलविद्युत् आयोजनाले अन्तर्रराष्ट्रिय सहकार्यलाई देखाउछ । यसले नेपालको दिगो ऊर्जा विकासलाई सहयोग गर्नेछ ,’ उनले भने, ‘ परियोजनामा जग्गा अधिग्रहणलगायतका समस्याहरु छन् ।’

सिचुआन प्रोभेन्सियल इन्भेष्टमेन्ट ग्रुपका जेनेरल म्यानेजर ली वोन्झीले चीनले नेपाललाई लगानीका लागि प्रोत्साहित गरेको बताए । उनले मनाङ मर्स्याङदी जलविद्युत् आयोजनाको काम सन्२०१८ देखिनै सुरु भएको बताए । ‘नेपाल र चीन हिमाल र नदीले जोडिएको छिमेकी घनिष्ठ मित्र हो । नेपालका सरकारी निकायहरुले सहयोग गरेकाले परियोजना यहाँसम्म आइपुगेको हो,’ उनले भने, ‘भविष्यमा सहकार्य गरेर काम गर्नेछौं ।’

प्रतिनिधिसभा सदस्य टेक बहादुर गुरुङले विना अवरोध समयमा आयोजना पूरा होस् भन्दै शुभकामना दिए ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले  नेपालमा लगानीको वातावरण बनाउनु सरकारको दायित्व भएको बताए । उनले त्यसका लागि सरकारले काम गरिरहेको बताए । सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट उत्पादन गर्ने लक्ष्य लिएको छ । ऊर्जा उत्पादकहरुका लागि सहयोग गर्न  सरकारी निकायहरुलाई सदैव तत्पर रहन आग्रह गरे ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले १३५ मेगावाटको मनाङ मर्स्याङदी शुभारम्भ भएको बताए । उनले नेपाल  र चीनबीचको सहकार्यलाई थप बलियो बनाएको बताए ।

यो जलविद्युत् आयोजन मनाङको मर्स्याङदी नदीमा निर्माण हुनेछ जुन अन्नपूर्ण संरक्षित क्षेत्रभित्र पर्छ । यो पिकिङ रन अफ दि रिभर (अर्ध-जलाशय) प्रकृतिको जलविद्युत् आयोजना हो । यो आयोजनाले वार्षिक ७६६.५९३ गिगावाट आवर उत्पादन गर्न सक्छ । ग्रस हेड ४३०.२० मिटर छ । हेडरेस ६.०७५ किमी निर्माण गर्नुपर्छ ।


क्लिकमान्डु