प्राधिकरणले जोड्न थाल्यो उद्योगमा लाइन, सबैमा जोडिने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा लाइन जोड्न थालेको छ । मंगलबार राती केही उद्योगमा लाइन जोडिएको नेपाल विद्युत प्राधिकरणका लोड डिस्प्याज सेन्टरका प्रमुख चन्दन घोषले बताए ।
‘केहि उद्योगमा जोडिएको छ । ६ वटा उद्योगमा जोड्दैछौं । त्यसपछि सिस्टममा हेर्छौं । बाँकी सबैको जोड्दै जान्छौं,’ उनले भने, ‘ रातभरीमा सबै जोडिन्छ ।’ उद्योगी पशुपति मुरारकाले पनि उद्योगमा लाइन जोड्ने भन्दै प्राधिकरणबाट करिब १ घण्टा पहिले फोन आएको बताए । ‘मेरो उद्योगमा बिहान जोडिदिने भनेर खबर आएको छ । अरु केहि उद्योगमा जोड्न आउछौं भन्दै प्राधिकरणका कर्मचारीहरुले फोन गरेका छन् । लाइन जोड्न थालेको छ,’ उनले भने ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै २४ घण्टाभित्र उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्ले लाइन जोड्ने निर्णय गरेपछि सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठक बोलाए । सञ्चालक समितिको बैठक बोलाएपनि ८ मध्ये ४ जना काठमाडौं बाहिर भएपछि कोरम पुगेन । बैठक बस्न सकेन ।
साँझ मन्त्री खड्काले पत्रकार सम्मेलन गरेर लाल आयोगको प्रतिवेदन सार्वजनिक गरे । उनले उद्योगमा लाइन जोड्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेकाले सञ्चालक समितिको बैठक बसिरहनु नपर्ने बताए । लाइन जोड्ने र विस्तारै सञ्चालक समितिको बैठक बस्दै गर्ने उनको भनाई थियो ।
मंगलबार साढे ११ बजेका लागि सञ्चालक समितिको बैठक बोलाइयो । उक्त बैठकमा पनि कोरम नपुग्ने भएपछि सञ्चालकहरु काठमाडौं आइपुग्ने समयसम्म कुरियो । करिब ३ बजेतिर कोरम पुग्ने भएपछि प्राधिकरण सञ्चालक समितिको बैठक बस्यो । उक्त बैठकले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्ने निर्णय गर्यो । प्राधिकरणले लिखित निर्देशन दिएपछि क्षेत्रीय कार्यालयहरुले लाइन जोड्न थालेका हुन् ।