१ लाख २० हजार पर्ने ल्यापटपको मूल्य दराजमा १९ सय ६ रुपैयाँ राखिएपछि…
काठमाडौं । अंग्रेजी महिना नोभेम्बरको ११ तारिखबाट नेपालको इकमर्श प्लेटपर्म दराजले आफ्नो सबैभन्दा ठूलो छुटसहितको ‘सेल’ चलाइरहेको छ । विभिन्न सामानहरु अन्य बेलामा पर्ने मूल्यभन्दा छुट तथा विभिन्न प्रोमोकोडमार्फत थप कम मूल्यमा पाउने गरि दराजमा यो सेल चलिरहेको छ ।
तर यसबीच दराजमा कतिपय कुराहरु भने निकै असामान्यजस्तै देखिएका छन् । मूल्य राख्ने क्रममा अत्याधिक छुटका साथ राखिनुका साथै कतिपय कम मूल्य पर्ने सामानको मूल्य छुटमा थप बढेर राखिएको अवस्था छ ।
यस्तैमा सोमबारबाट सुरु भएको छुट मेलामा दराजमा १ लाख २० हजार पर्ने एक ल्यापटपको मूल्य जम्ममा १९ सय ६ रुपैयाँ राखिएको थियो ।
एचपी ब्रान्डको भिस्टस ल्यापटपको मूल्य सामान्य अवस्थामा दराजमा नै १ लाख २० हजारमा किन्न सकिन्छ । तर सोमबारबाट भएको छुटमा भने त्यसको यथावत मूल्यमा ९८ प्रतिशत कम गरेर १९ सय ६ रुपैयाँ मूल्य कायम गरिएको थियो ।
उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा तस्बिरहरु आएसँगै दराजले भने मूल्य राख्ने क्रममा गल्ती भएको बताएको छ । दराजले सामाजिक सञ्जालमा यो विषयलाई उठान गर्नेको कमेन्टमा गएर विषयमाथि प्रकाश पारेकोमा धन्यवाद दिँदै मूल्य राख्ने क्रममा गल्ती भएको र त्यसका कारण सिर्जना भएको दुविधाका लागि क्षमा मागेको छ ।
तर रमाइलो कुरा त के छ भने कतिपय उपभोक्ताले भने त्यहि कम मूल्यमा नै रहँदा ल्यापटप अर्डर गरिसकेको स्क्रिनसट सामाजिक सञ्जालमा हालेका छन् । के अब दराजले १ लाख २० हजार पर्ने यो ल्यापटप १९ सय ६ रुपैयाँमा डेलिभर गर्ला त ?