हुलास मोटर्समा बनिरहेको त्यो गाडी, जुन गर्भमै तुहियो



बिराटनगर । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले मुस्ताङ म्याक्स चढेपछि यसको चर्चा चुचुरोमा पुग्यो । बिराटनगरको हुलास मोटर्समा सयौं फोन आए । अर्डर गर्नेहरु पनि उत्तिकै थिए ।

खुसी र ‘एक्साइटमेन्ट’ यतिधेरै भएको थियो कि कम्पनीमा काम गरिरहेका २ सय कर्मचारी ‘हावामा उडिरहेका’ थिए । कर्मचारीको उत्साह देखेर हुलास मोटर्सका सञ्चालक सुरेन्द्र गोल्छा दंग थिए ।

त्योबेला हुलास मोटर्सका सयौं मुस्ताङ म्यास गाडी मुलुकको पहाडी क्षेत्रमा कुदिरहेका थिए ।

मुस्ताङ म्याक्सलाई प्रधानमन्त्रीको कार्यालयसम्म पुर्याएको हुलास मोटर्सको टिम भने अर्को प्रोजेक्टमा भिडिरहेको थियो । जुन प्रोजेक्टको नाम थियो- ब्राबो ।

बिराटनगर, रानीस्थित हुलास माटर्सको कारखानामा त्यो गाडी अहिले पनि जस्ताको त्यस्तै छ ।

‘ल हेर्नुस्, यही हो हाम्रो अन्तिम प्रोजेक्ट,’ गाडी देखाउँदै हुलास मोटर्स जेनेरल म्यानेजर प्रफुल्ल दासले क्लिकमाण्डूसँग भने, ‘जसको नाम ब्राबो राखिएको थियो ।’

गाडीको बडी बनिसकेको छ । आकार आइसकेको गाडीमा एउटा पाङग्रा हाल्नै बाँकी छ । झ्यालका सिसाहरु खाली नै छन् । लामो समय कारखानको कुनामा धन्काएर धुलै भएको गाडी छेवैमा विभिन्न सामग्रीहरु छन् । जुन गाडीको लागि ल्याइएका थिए ।

गाडीको छेवैमा सेतो बोराले छोपेर राखेको वस्तु देखाउँदै दासले भने, ‘यो यस गाडीको लागि ल्याइएको नयाँ इन्जिन हो । जुन जडान गर्नै पाइएन ।’

मुस्ताङ गाडी पहाडी जिल्लाको लागि उपयुक्त छ भन्ने प्रतिक्रिया आएसँगै कम्पनीले ‘लक्जरियस’ गाडी उत्पादन गर्ने सोच अगाडि बढाएको थियो । जुन गाडी सहरका लागि उपयुक्त होस् । जसलाई लक्जरियस गाडी चढ्न रुची राख्ने सहरी व्यक्तिको रोजाइमा पनि परोस् ।

हुलास मोटर्सका इन्जिनियरहरु उत्कृष्ट गाडी बनाउने योजनासहित लागिरहेका थिए ।

‘ल, हेर्नुस्, मुस्ताङको भन्दा लुक्स फरक छ,’ दास गाडी देखाउँदै भने, ‘यो पनि पूर्णरुपमा फाइबरको हो ।’

उनीहरुले ब्राबोको बडी बनाए । चेसिस र सस्पेन्सन पनि बनाए । उनीहरुले गाडीको सामान्य परीक्षण पनि गरिरहेका थिए । शुरुमा प्रयोग गरिएको इन्जिनको पावरले सोचेअनुसारको प्रर्फमेन्स गरेन । त्यसपछि उनीहरुले अर्को पावरफुल इन्जिनको लागि काम गरिरहेका थिए ।

‘इन्जिन हाई पावरको हुनुपर्छ भन्ने हाम्रो उद्देश्य थियो,’ अन्तिम प्रोजेक्टको बारेमा सुनाउँदै इन्जिनियर दासले भने, ‘यस्तो राम्रो लुक्स निस्कियो हामीले त्यो लेवलको गाडी बनाउन सक्ने रहे छौं भन्ने लागिरहेको थियो ।’

ब्राबो गाडीमा १३ जनासम्म चढ्न मिल्छ । बजारमा उपभोक्ताले किन्दा २५ लाखभन्दा धेरै मूल्य नपरोस् भन्ने योजनाअनुसार उनीहरुले गाडीको डिजाइन गरेको उनी बताउँछन् । जुन गाडी पहाड, तराइ, गाउँ, सहर जता पनि चलाउन सकिने थियो ।

यस्तै किसिमको गाडी बनाउन माग पनि आएको थियो ।

‘त्यही चाहनालाई पूरा गर्न यो प्रोजेक्ट अगाडि बढाएका थियौं,’ गोल्छा भन्छन्, ‘जसलाई हामीले पूरा गर्न पाएनौं ।’

ब्राबो गाडीले जन्मिन तरखर भइरहँदा सुरेन्द्र गोल्छा भने हुलास मोटर्सलाई बचाउन सिंहदरबार धाइरहेका थिए । सरकारले २०७१ असार ३१ पछि युरो वान र युरो टुका गाडी बिक्री गर्न नपाइने नीति ल्यायो । युरो थ्रिका मात्र गाडी चलाउन पाइने नीति घोषणा गरेको थियो ।

सरकारको नीतिअनुसार हुलास माटर्सले युरो थ्रिका गाडी उत्पादनमा जान अनिवार्य थियो । गोल्छा भने युरो थ्रिमा जानलाई सरकारसँग केही समय मागिरहेका थिए ।

‘हामीलाई त्योबेला युरो थ्रिमा जानलाई २ देखि ३ वर्ष लाग्थ्यो,’ क्लिकमाण्डूसँग कुरा गर्दै गोल्छाले भने, ‘प्रविधिको अपग्रेड, युरो थ्रिको प्रोडक्सन सेटअप लगाउनुपर्थ्यो । जसको लागि उक्त समय चाहिन्थ्यो ।’

सरकारले उनको मागेको समय दिएन । गोल्छासँग उत्पादन बन्द गर्नुको विकल्प रहेन ।

त्यही अप्रिय निर्णयसँगै हुलास मोटर्सको उत्पादनहरु बन्द भए । जसको मारमा पर्यो ब्राबो । हुलास माटेर्सले लामो समयको मेहनत र पसिना बगाएपछि ब्राबोको प्रोजेक्टमा आएको थियो ।

किसानको लागि भनेर ३० वर्षअघि पावर कार्ट गाडी उत्पादन गरेका थिए । जुन गाडी खेतबारीबाट अन्नवाली ओसार्न, थ्रेसरको रुपमा प्रयो गर्न सकिन्थ्यो ।

पहिलो पटक उत्पादन गरेको पावर कार्ट ५-६ वटाभन्दा धेरै उत्पादन हुनसकेन ।

पावरकार्टलाई सुधार गर्दै हुलास मोटर्सले अर्को गाडी उत्पादन गर्यो- शेर्पा । पावर कार्टमा देखिएका कमजोरीलाई हटाउँदै शेर्पा बनाएका थिए । यसको इन्जिन पावर, सस्पेनस, स्पिडलगायतमा सुधार भएको थियो ।

शेर्पामा पनि धेरै सुधारको माग आयो । त्यसपछि हुलास मोटर्सले उत्पादन गरेको थियो, मुस्ताङ । मुस्ताङ म्याससम्म आउँदा भने यसको प्रयोग र चर्चा बढिरहेको थियो । कम्पनीले दिनानुदिन गाडीको क्षमता र डिजाइन सुधार गर्दै गएको थियो । जसको प्रयोग पनि बढ्दै थियो ।

लामो अनुभव संगालिसकेको हुलास मोटर्सको टिमले अन्तिम चरणमा बनाइरहेको थियो ब्राबो ।

ब्राबो उत्पादन भएर बजारमा आउन पाएको भए, अहिलेसम्म बजारमा यसको उपस्थिति र लोकप्रियता कस्तो हुन्थ्यो होला ? अनुमानका गर्नुबाहेक अरु के बाँकी रह्यो र ?


सन्तोष न्यौपाने