
काठमाडौं । हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले कपाल दाह्री काट्ने एक सैलुनलाई एसीसहित इन्भर्टर उपलब्ध गराएकी छन् ।
हेटौंडा ४ स्थित शितलमहल चौकस्थित वार्वर द नाइन्टिन सैलुनलाई मेयर लामाले उपमहानगरको बजेटबाट एसी र इन्भर्टर उपलब्ध गराउन तोकआदेश गरेकी छन् ।
सैलुनलाई सित्तैमा एसी र इन्भर्टर दिन उनले गरेको तोकाआदेशको अहिले सामाजिक बिरोध भइरहेको छ । मेयर लामाले केहि दिनअघि मात्रै उक्त सैलुनको उदघाट्न गरेकी थिइन् ।
सैलुनको उदघाट्न गर्दै मेयर लामाले भनेकी थिइन,‘सैलुनमा गर्मी धेरै छ, म एसी जडानको लागि सहयोग गर्छु ।’

यो आश्वासन पाएपछि सैलुनका सञ्चालक सुसन घलानले बुधबार मात्रै मेयर लामालाई सम्बोधन गर्दै एसी र इन्भर्टर उपलब्ध गराइदिन हेटौंडा उपमहानगरपालिकामा निवेदन दिएका थिए ।
‘हाल गर्मीयाम अत्यधिक भएको र हाम्रो सैलुनमा ग्राहकको भीड बढिरहेकाले आरामदायक सेवा दिन अत्यावश्यक रुपमा एक थान एसीको आवश्यकता परेको छ, साथै हालसालै हेटौंडामा लोडसेडिङ्ग तथा अनियमित विद्युत आपूर्तिका कारण सैलुनको सेवा अवरुद्ध हुने अवस्था आउँछ । ग्राहकको सेवा गुणस्तरीय बनाउन इन्भर्टर(बैकअप पावर) को आवश्यकता पनि उत्तिकै महत्वपूर्ण भएको छ,’ मेयर लामालाई सम्बोधन गर्दै लेखिएको निवेदनमा घलानले उल्लेख गरेका छन्,‘अतः आफ्नो सैलुनलाई एसी र इन्भर्टर जडानको लागि तपाईको सहयोग र समर्थनको अपेक्षा गर्दै यो निवेदन पेश गरेका छौं ।’
घलानले मेयर लामाको सहयोगले युवा प्रयासलाई अझ सफल र प्रेरणादायी बनाउने उल्लेख गर्दै निवेदन दिएका थिए ।
यो निवेदनमा मेयर लामाले ‘माग भएको सामग्रीको लागत अनुमान तयार गरी दिनु हुन’ भनेर बुधबार नै तोकआदेश दिएकी थिइन् ।
अहिले यो तोकआदेश भएको यो पत्र सामाजिक सञ्जालमा निक्कै भाइरल भएको छ ।








प्रतिक्रिया