राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउने चर्चासँगै सेयर बजारमा बहार

588
Shares


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिका विषयमा भइरहेको चर्चाको प्रभाव सेयर बजारमा परेको छ ।

सत्ता साझेदार दल नेकमा एमाले र नेपाली कांग्रेसबिच कसले राष्ट्र बैंकको गभर्नर लिने भन्ने विषयमा लामो समयदेखि प्रतिस्पर्धा जारी छ । गभर्नरको नियुक्तिको विषयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवाबिच सहमति भइसकेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताएका छन् । योसँगै आगामी १८ औं गभर्नर कांग्रेसको भागमा परेका सूचना बाहिरिएसँगै त्यसको प्रभाव सेयर बजारमा समेत परेको छ ।

नेपाल राष्ट्र बैंकले लिने कैयन नीतिले बजारलाई समेत सिधै प्रभावित बनाउँछ । राष्ट्र बैंक, धितोपत्र बोर्डमा काँग्रेसले रुचाएको नेतृत्व जाँदा त्यसको प्रभाव सिधै सेयर बजारमा देखिने गरेको छ । आगामी गभर्नर काँग्रेसले पाउने चर्चासँगै त्यसको प्रभावले सेयर बजार बढेको मात्रै छैन, कारोबार रकम समेत बढेको छ ।

आज बजार मापन गर्ने सूचक २६.४९ अंकले बढेर परिसूचक २७२२.७३ बिन्दु कायम भएको छ । ३११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको घटेको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।