
विराटनगर । सरकारले पुँजीगत खर्च गर्न नसक्दा र विकास निर्माणका काम ठप्पप्राय हुँदा उत्पादित वस्तुको बजारमा माग नभएपछि निमार्णजन्य सामग्री उत्पादन गर्ने उद्योग धमाधम बन्द हुन थालेका छन् ।
यसको पछिल्लो उदाहरण हो, कोशी प्रदेशमा खुलेका १५ वटा सिमेन्ट उद्योग मध्ये यसबेला दर्जन उद्योग बन्द भएका छन् । ति उद्योग खुल्नु पहिला बजारमा भारतीय सिमेन्टको एकाधिकार थियो । उद्योग खुलेसँगै भारतीय सिमेन्टको आयत पूर्णरुपमा बन्द भएको थियो । पछिल्लो दशकयता भारतीय सिमेन्ट आयात भएको विराटनगर भन्सारको तथ्यांक छैन ।
उत्पादित वस्तु बिक्री नभएपछि सिमेन्टको कच्चा पदार्थ क्लिङ्कर आयात गरेर सिमेन्ट उत्पादन गर्ने प्राय: सबै उद्योग बन्द भइसकेका छन् । आफैं क्लिङ्कर उत्पादन गरेर सिमेन्ट उत्पादन गर्दै आएको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट र धनकुटाको निगाले सिमेन्ट उद्योग पनि बन्द भएका छन् । ति उद्योग बन्दसँगै अर्बौं लगानी प्रभावित भएको छ भने पाँच सयबढीले रोजगारी गुमाएको सम्बद्ध उद्योगीको भनाइ छ ।
देशमा विकास निर्माणका ठूला योजना सञ्चालन नहुँदा र गृह निर्माण समेत न्यून नहुँदा बजारमा सिमेन्टको माग नै छैन । त्यसमा पनि क्लिङ्कर आयात गरेर सिमेन्ट उत्पादन गर्दै आएका उद्योगले आफैंले क्लिङ्कर उत्पादन गरेर सिमेन्ट उत्पादन गर्दै आएका उद्योगसँग मूल्यमा प्रतिष्पर्धा गर्न नसक्दा सिमेन्टका सवै ग्राण्डिङ उद्योग बन्द भएको सिमेन्ट उत्पादक संघ कोशीका अध्यक्ष राजेन्द्र राउतले बताए ।
झापा, सुनसरी, मोरङ, धनकुटा, सिराह र उदयपुरमा १५ वटा सिमेन्ट उद्योग सञ्चालनमा थिए । ति मध्ये अन्नपूर्ण, निगाले, बन्धन, स्टन, कसमस, जानकी, अल्ट्राटेक मित्तल, उदयपुर लगायतका सिमेन्ट उद्योग बन्द छन् । राउतले भने, ‘आफैं कच्चा पदार्थ क्लिङ्कर उत्पादन गरेर सिमेन्ट उत्पादन गर्दै आएका उद्योग पनि उत्पादन क्षमताको ५० प्रतिशतमा मात्र सञ्चालनमा छन् ।’
मधेश प्रदेशको सिराहसहित कोशीमा यसबेला मारुती, सौर्य र सप्तकोशी सिमेन्ट उद्योग उत्पादन क्षमताको ५० प्रतिशतमा सञ्चालित छन् । उत्पादित सिमेन्टको बजारमा माग नै छैन
खर्बौं जोखिममा देख्दादेख्दै सिमेन्ट उद्योगमा थप १ खर्ब बढी लगानी प्रतिबद्धता
‘बजारमा माग नै नभएपछि दैनिक ३३ सय टन उत्पादन क्षमता भएको मारुती सिमेन्ट उद्योगले अहिले उत्पादन क्षमताको ५० प्रतिशत मात्र उत्पादन गर्दै आएको छ,’मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठीले भने, ‘क्लिङ्कर ल्याएर ग्राण्डिङ गर्ने प्राय सबै सिमेन्ट उद्योग बन्द भइसके । आफैं क्लिङ्कर उत्पादन गरेर सिमेन्ट उत्पादन गर्दै आएका उद्योगको पनि उत्पादन बिक्री नभएर आधा क्षमतामा चलेका छन् ।’
यसबेला विकास निर्माणका योजना सञ्चालन नहुँदा उत्पादन नै बिक्री नभएर स्थानीय उद्योग नै बन्द हुँदा भारतबाट आयात हुने सम्भावना नभएको उनले बताए ।
‘यहाँका उद्योगले ओपिसी र पिपिसी दुवै सिमेन्ट उत्पादन गर्दै आएका छन् । ति दुवै उत्पादनको माग बजारमा छैन, राठीले भने।
सरकारले पुँजीगत खर्च बढाएर विकास निर्माणले गति लिँदा र भारत निकासी गर्न पाउँदा सबै सिमेन्ट उद्योग पुन: सञ्चालन हुन सक्ने उनी बताउँछन् ।
‘सरकारले पुँजीगत खर्च गर्न नसक्दा विकास निर्माण ठप्प प्राय हुँदा सिमेन्ट उद्योग संकटमा परेका हुन्,’ उनले भने, ‘विकास निर्माण बढ्ने र निर्यात गर्ने अवस्था बन्यो भने सबै उद्योग चल्न सक्छन् ।’
नेपाली सिमेन्टको सीमावर्ती भारतीय क्षेत्रमा राम्रो प्रभाव छ । तर निकासीका लागि यहाँका उद्योगलाई भारतले ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बिआइएस) नै दिएको छैन । पश्चिमका अर्घाखाँची, तानसेन, सिजी लगायतका सिमेन्ट उद्योगले भारत निकासीका लागि ब्यूरो अफ इन्डियन सर्टिफिकेट पाएका छन् । ‘पूर्वका उद्योगले त्यसका लागि पहल गरेको डेढवर्ष बित्न लाग्दा पनि निकासीका लागि ब्यूरो अफ इन्डियन सर्टिफिकेट नपाउँदा उद्योग संकटमा परेका हुन्,’ राठीले भने, ‘ब्यूरो अफ इन्डियन सर्टिफिकेटका लागि सरकारले पहल नगर्दा भारतको वाणिज्य मन्त्रालयले स्वीकृति दिएको छैन ।’
गार्मेन्टजस्तै खराब नियतिको बाटोमा सिमेन्ट उद्योग, खर्बौं लगानी जोखिममा
विकास निर्माणका ठूला योजना मात्र नभएर आर्थिक संकुचले घर निर्माण पनि सुस्त भएकाले एकपछि अर्को सिमेन्ट उद्योग बन्द भएको उनको भनाइ छ ।
‘चालु अवस्थामा रहेकाले पनि क्षमताको आधा मात्र उत्पादन गर्दा पनि उत्पादित वस्तुको खपत भएको छैन । भारत निकासी गर्न पाउने हो भने उद्योग टिकाइ रहन सकिन्थ्यो,’ राठीले भने,’न त स्थानीय खपत छ । नत निकासी नै गर्न पाइन्छ । अनि उद्योग कसरी टिक्छ ।’
विकास निर्माणले गति नलिने र भारत पनि निकासी गर्न नपाउने हो भने हाल सञ्चालनमा रहेका बाँकी उद्योग पनि चाँडै बन्द हुने स्थिति रहेको उनी बताउँछन् ।







प्रतिक्रिया