
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन र सार्वजनिक विदाका कारण पाँच दिनपछि सोमबार सेयर बजार खुल्यो । फागुन १९ मा सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.५२ अंकले बढेर २७१२ बिन्दुमा कायम भएको थियो ।
त्यसको पाँच कारोबार दिनपछि अर्थात् निर्वाचन सम्पन्न भएपछि सोमबार (फागुन २५) मात्रै बजार खुल्यो ।
निर्वाचन मतरिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई–तीहाईको सरकार बन्ने देखिएपछि सोमबार सेयर बजारमा तीन सकारात्मक सर्किट ब्रेक लागेर पुरा दिन कारोबार हुन नपाउँदै बन्द भयो ।
समग्रमा सोमबार नेप्से १६२.९३ अंकले बढ्दै २८७५ बिन्दुमा उक्लियो । सोमबार सर्किट ब्रेक लागेर बजार बन्द भएकोमा मंगलबार भने ३४.१२ अंकले घट्दै २८४१ बिन्दुमा खुम्चियो ।
सकारात्मक सर्किट ब्रेक लागेको यसअघिका अधिकांश समयलाई हेर्ने हो भने पनि त्यसको भोलिपल्ट बजार दोहोरो अंकले घटेर बन्द हुने गरेको देखिन्छ । तर, नेपाली पुँजीबजारमा दुई दिन लगातार सकारात्मक सर्किट ब्रेक लागेर तेस्रो दिन भने नकारात्मक सर्किट ब्रेक लागेको इतिहास पनि छ, जुन निकै रोचक मानिन्छ ।
विश्वभर कोरोना महामारी फैलिरहेको समयमा २०७६ चैत ९ (२०२० मार्च २२) पछि नेपाली सेयर कारोबार बन्द गरियो । झन्डै दुई महिनापछि वैशाख ३० र ३१ गते दुई दिन फेरि सेयर बजार खोलिएपनि नियामक नेपाल धितोपत्र बोर्डको निर्देशनमा बन्द गरियो ।
यस समयमा वैशाख २६ गते धितोपत्र बोर्डले संक्रमण अवस्थामा बजार सञ्चालनका लागि १४ बुँदै निर्देशन जारी गरेको थियो । त्यसमा बजार खोल्ने समय, सेयरको मूल्य परिवर्तन हुने समय, कारोबार भइसकेपछि रकम भुक्तानी, सर्किट ब्रेकर सम्बन्धी विषय उल्लेख थियो ।
बोर्डको निर्देशनअनुसार नै खुलेको दुई दिनमा बजार लगातार घटेर कारोबार स्थगित भएको थियो । पहिलो दिन १० करोड रुपैयाँ र दोस्रो दिन ३६ लाख रुपैयाँ बराबरको कारोबार भए पनि नेप्से उच्च अंकले घटेपछि लगानीकर्ताले नै बजार बन्दको माग राखेका थिए ।
सो समयमा सेयर लगानीकर्ताका पाँच संघहरूले तुरुन्त बजार बन्द गर्न माग राख्दै विज्ञप्ति जारी गरेका थिए । उनीहरूको माग दुई दिन भएको कारोबार पनि रद्द गर्नुपर्ने थियो । तर, बोर्डले भने त्यसो गर्न मानेन र फेरि, कोरोना महामारी भन्दै बजार स्थगित गर्ने निर्णय गर्यो ।
अर्थात् कारोना संक्रमण फैलिने सम्भावना ज्यादा भएकाले दुई दिन खोलिएको बजार पनि बन्द गर्ने निर्णय नियामक धितोपत्र बोर्डले गर्यो । वैशाख ३१ गतेपछि बजार एकैपटक २०७७ असार १५ मा मात्रै खुल्यो ।
लामो समयपछि २०७७ असार १५ मा खुलेको बजारमा उक्त दिन नेप्से १३ अंकले घट्दै ११३८ बिन्दुमा कायम भयो । तर, त्यसको भोलिल्ट अर्थात् २०७७ असार १६ (२०२० जुन ३०) मा नेप्से सकारात्मक सर्किट लागेर पूरा दिन कारोबार हुन नपाउँदै बन्द भयो । यस दिन नेप्से ६ प्रतिशत अर्थात् ७२ अंकले बढेर १२६० बिन्दुमा पुग्यो ।
यसको अर्को दिन अर्थात् २०७७ असार १७ (२०२० जुलाई १) मा पनि नेप्सेमा फेरि सकारात्मक सर्किट ब्रेक लागेर नै कारोबार स्थगित भयो । यस दिन पनि नेप्से ६ प्रतिशत नै अर्थात् ७६ अंकले बढेर १३३६ बिन्दुमा उक्लियो ।
नेप्सेमा यसरी एकैपटक लगातार दुई दिन सकारात्मक सर्किट ब्रेक लागेर कारोबार बन्द हुँदा लगानीकर्ता निकै उत्साहित देखिएका थिए । तर, दुई कारोबार दिन लगातार सकारात्मक सर्किट ब्रेक लागेपछिको अर्को दिन भने नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको थियो ।
दुई कारोबार दिन लगातार सकारात्मक सर्किट ब्रेक लागेको नेप्सेमा २०७७ असार १८ (२०२० जुलाई २) मा भने नकारात्मक सर्किट ब्रेक लागेर पुरा दिन कारोबार हुन नपाउँदै बजार बन्द भयो । यस दिन नेप्से परिसूचक छ प्रतिशत अर्थात् ८०.४१ अंकले घटेर १२५६ बिन्दुमा खुम्चियो ।

कोरोना महामारी र लकडाउनका कारण लामो समय बन्द रहेको सेयर बजार करिब ३ महिनापछि नियमित कारोबारका लागि खुला गरिएको थियो । साथै, विश्वभर कोरोना महामारी साम्य भएर जाने चर्चाहरु पनि चलिरहेका थिए ।
सोही कारण लामो समयपछि बजार खुल्नेबित्तिकै लगानीकर्ताको उच्च चाप देखियो । जसका कारण असार १६ मा कारोबार सुरु भएको केही मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेटका लागि कारोबार रोकियो ।
त्यसपछि खुलेको बजार पुनः ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि बन्द भयो । अन्त्यमा, ६ प्रतिशत अर्थात् ७२ अंकले बढेर १२६० बिन्दुमा पेगि ‘सकारात्मक सर्किट’ लागेर दिनभरका लागि कारोबार बन्द भयो ।
उक्त दिन जम्मा ४ करोड ९३ लाखको मात्र सेयर कारोबार भएको थियो । यस दिन बजारमा सेयर खरिद गर्नेको संख्या ठूलो थियो तर, बिक्री गर्ने भने कम हुँदा केही मिनेटमा नै सकारात्मक सर्किट लागेर कारोबार बन्द भयो ।
यो क्रमले असार १६ मा पनि निरन्तरता पायो । लगातार दोस्रो दिन पनि नेप्से ६ प्रतिशत अर्थात् ७६ अंकले बढेर १३३६ बिन्दुमा कायम भयो । ‘लगानीकर्ताहरूमा बैंकको ब्याजदर घटेको र अनलाइन प्रणालीबाट सेयर खरिद गर्ने प्रणालीका कारण बजारमा आकर्षण बढेको थियो ।
यस दिन कारोबार रकम भने ३ करोड ८६ लाख रुपैयाँ बराबरको मात्रै भएको थियो । समग्रमा दुई दिनमा नेप्से १४८ अंकले बढ्न पुग्यो । दुई दिनमै नेप्सेमा उच्च अंकको वृद्धि भएसँगै असार १८ मा भने नाफा बुक गर्ने लहरका कारण बजार खुलेदेखि नै बिक्रीको चाप बढ्यो ।
नभन्दै, बजार खुलेको केही मिनेटमा नै नेप्से ५ प्रतिशत अर्थात् ८० अंकले घट्दै नकारात्मक सर्किट लाग्यो । नेप्से परिसूचक पनि खुम्चिएर १२५६ बिन्दुमा सीमित भयो ।
दुई दिनको सकारात्मक सर्किट ब्रेकपछि तेस्रो दिन भने नाफा सुरक्षित गर्र्न र बजार फेरि घट्छ कि भन्ने डरले सेयर बेच्न हतारिनेको संख्या बढेको थियो । यसरी, नेप्सेमा लगातार दुई कारोबार दिन सकारात्मक सर्किट लागेपछि तेस्रो कारोबार दिन भने नकारात्मक सर्किट लागेको थियो ।
हुन त, नेपाली बजारमा करिब दर्जन पटक सकारात्मक तथा नकारात्मक सर्किट ब्रेक लागेर बजार बन्द भइसकेका छन् । यो बीचमा २०७६ फागुन १९, २०७६ फागुन १७, २०७७ असार १८, २०७७ पुस ४ र २०८२ असोज २ मा नकारात्मक सर्किट ब्रेक लागेर कारोबार बन्द भएका छन् ।
यस्तै, २०७७ असार १६, २०७७ असार १७, २०७७ साउन ४, २०७८ मंसिर २८ र २०८० मंसिर २४, २०८० फागुन २१ र २०८२ फागुन २५ मा भने सकारात्मक सर्किट ब्रेक लागेर कारोबार बन्द भएको देखिन्छ ।
कुनै पनि सेयर बजारमा विभिन्न घटनाक्रमले अत्यधिक उत्साह र अत्यधिक निराशापूर्ण अवस्थामा सिर्जना हुने गर्दछ । यस्तो अवस्थामा लगानीकर्ताले गर्ने व्यवहारबाट बजार नै संकटको (क्र्यास) हुने अवस्था नआओस् र एकै पटक लगानीकर्ताले पनि ठूलो मात्रामा लगानी नगुमाउन् भन्ने उद्देश्यले सर्किट ब्रेक प्रणाली अपनाइने गरिन्छ ।
विश्वको इतिहासमा सन् १९८७ मा अमेरिकी स्टक मार्केट डो जोन इन्डस्ट्रियल एभरेज एकै दिन २२.६ प्रतिशतले घटेको थियो । सोही समयदेखि बजारमा सर्किट ब्रेक प्रणालीको थालनी भएको देखिन्छ । नेपालको हकमा भने २०७४ देखि यो प्रणाली सुरुवात भएको थियो ।
नेप्सेमा कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि स्थगित हुने गर्दछ ।
यसपछि, कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट कारोबार स्थगित हुन्छ । त्यस्तै, कारोबार सुरु भएको तेस्रो घण्टामा नेप्से परिसूचक ६ प्रतिशतले घटे वा बढेमा बाँकी पुरै दिनको कारोबार स्थगित हुने गर्दछ ।







प्रतिक्रिया