सम्पूर्ण अपडेट

६ वर्षका १२ सर्किट ब्रेकः कहिले–के कारणले लाग्यो?

3.8k
Shares

काठमाडौं । फागुन २१ मा सम्पन्न निर्वाचनको मतपरिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई–तिहाईको सरकार बनाउने देखिएपछि सेयर बजारमा उत्साह छाएको छ । सँधै राजनीतिक अस्थिरता, नीति र नेतृत्वमा भइरहने फेरबदलका कारण अस्थिर देखिने नेपाली सेयर बजार स्थिर सरकार बन्ने देखिएसँगै सकारात्मक बनेको हो ।

लामो समयदेखि नेपाली राजनीतिको केन्द्रमा रहेका नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीलाई पछि पार्दै रास्वपाको दुई–तिहाईको सरकार बन्ने करिबकरिब निश्चित भइसकेको छ । अधिकांश स्थानको प्रत्येक्षतर्फको मतरिणाम सार्वजनिक भइसकेको र दुई तिहाई बढी समानुपातिकतर्फको मतगणना भएको स्थितिमा रास्वपाको एकल सरकार बन्ने भइसकेको छ ।

यस्तो स्थितिमा आगामी पाँच वर्ष स्थिर सरकार बन्ने र नीति तथा नेतृत्व पनि स्थिर हुने अपेक्षा लगानीकर्ताले गरेका छन् । साथै, रास्वपाले आफ्नो निर्वाचन बाचापत्रमा पनि पुँजीबजारको विषयलाई प्राथमिकताका साथ राखेकोले पनि लगानीकर्ता यस पार्टीप्रति सकारात्क बनेका छन् जसका कारण सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) छ प्रतिशतले बढ्दै बन्दै भएको छ ।

निर्वाचनपछि सोमबार कारोबार खुल्नसाथ नेप्से चार प्रतिशत अर्थात् १०८ अंकले बढेर २८२१ बिन्दुमा पुग्यो । कारोबार खुल्नसाथ चार प्रतिशतको वृद्धिपछि २० मिनेट स्थगित भएर खुलेको कारोबार फेरि पाँच प्रतिशत अर्थात् १३५ अंकले बढ्दै दोस्रो सर्किट ब्रेक लाग्यो ।

दोस्रो सर्किट ब्रेक लागेर त्यसको ४० मिनेपछि खुलेको बजार पनि फेरि छ प्रतिशतको वृद्धि भएर सोमबारका लागि कारोबार बन्द भयो । समग्रमा सोमबार नेप्से १६२.९३ अंकले बढ्दै २८७५.४३ बिन्दुमा उक्लिएको छ ।

सोमबार नेप्सेमा कुल ५५ करोड ५९ लाखको कारोबार हुँदा २५२ कम्पनीको सेयर मूल्य बढ्यो । यद्यपि, एक कम्पनीको सेयर मूल्य भने घट्यो । नेप्सेमा कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि स्थगित हुने गर्दछ ।

यसपछि, कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट कारोबार स्थगित हुन्छ । त्यस्तै, कारोबार सुरु भएको तेस्रो घण्टामा नेप्से परिसूचक ६ प्रतिशतले घटे वा बढेमा बाँकी पुरै दिनको कारोबार स्थगित हुने गर्दछ । यहि व्यवस्थाअनुसार नेप्से ६ प्रतिशतले बढ्दै सोमबारका लागि कारोबार बन्द भएको हो ।

खासगरी, नेपाली बजारमा सर्किट ब्रेकर प्रणाली सुरु भएको करिब एक दशक भएको छ । बजारमा विभिन्न कारणले हुने उतारचढावका कारण लगानीकर्ताको सम्पत्तिमा हुने अस्वाभाविक घटबढलाई अन्त्य गर्न २०७४ भदौ ४ गतेदेखि यो प्रणाली सुरुवात भएको थियो । यस बीचमा करिब दर्जन पटक सर्किट ब्रेक लागेर बजार बन्द भइसकेका छन् ।

कहिले र के कारणले बजारमा लाग्यो सर्किट?

२०७६ फागुन १९ मा नकारात्मक सर्किट
२०७६ फागुन १९ (२०२० मार्च २) मा नेकपा एमालेका नेता डा. युवराज खतिवडाले अर्थमन्त्रीमा निरन्तरता पाउने चर्चापछि सेयर बजारमा तीन नकारात्मक सर्किट ब्रेक लागेको थियो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले निरन्तरता पाउने समाचारपछि त्यो दिन बजारमा नकारात्मक सर्किट लागेको थियो ।

त्यस दिन बजार परिसूचक ९६.०६ अंकले घटेर १४९५.३० बिन्दुमा झरेको थियो । यो दिन बजार परिसूचक ६ प्रतिशतले घटेसँगै दिनभरका लागि कारोबार बन्द भएको थियो ।

२०७६ फागुन १७ मा नकारात्मक सर्किट
२०७६ फागुन १७ (२०२० मार्च १०) मा पनि नकारात्मक सर्किट लागेर दिनभर कारोबार नभई बजार बन्द भएको थियो । २०७६ फागुन १९ मा सकारात्मक सर्किट लागेको ८ दिनपछि कोरोना महामारीका कारण आर्थिक अवस्था धराशायी हुने अवस्थाको आशंकमा बजार घटेको थियो ।

बिक्रीको चाप अत्याधिक परेको समयमा नेप्से ८६.३९ अंकले घटेर १३४९.३१ बिन्दुमा झरेको थियो । यो दिन बजार परिसूचक ६ प्रतिशतले घट्दै तेस्रो सर्किट ब्रेकसहित बन्द भएको थियो ।

२०७७ असार १६ मा सकारात्मक सर्किट
२०७७ असार १६ (२०२० जुन ३०) मा पनि नेप्सेमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लाग्दै कारोबार बन्द भएको थियो । कोरोना महामारीपछि भएको लकडाउनपछिको कारोबारमा सकारात्मक सर्किट लागेको थियो । यस दिन बजार परिसूचक छ प्रतिशत अर्थात् ७२.०५ अंकले बढेर १२६० बिन्दुमा पुगेको थियो ।

२०७७ असार १७ मा सकारात्मक सर्किट
२०७७ असार १७ (२०२० जुलाई १) मा पनि नेप्सेमा सकारात्मक सर्किट लागेको थियो । २०७७ असार १६ मा तीन सर्किट ब्रेक लागेर कारोबार बन्द भएको भोलिपल्ट अर्थात् १७ गते पनि नेप्से कुल ७५.७७ अंकले बढेर १३३६.७५ बिन्दुमा पुगेको थियो ।

२०७७ असार १८ मा नकारात्मक सर्किट
नेप्सेमा २०७७ असार १८ (२०२० जुलाई २) मा भने नकारात्मक सर्किट ब्रेक लागेको थियो । यसअघिका दुई दिनको लगातारको सकारात्मक सर्किट ब्रेकपछि बजारमा नाफा बुक गर्नेको लहर चलेको थियो ।

यहि कारण बजारमा नकारात्मक सर्किट लागेको थियो । यस दिन नेप्से परिसूचक छ प्रतिशत अर्थात् ८०.४१ अङ्कले घटेर १२५६.११ बिन्दुमा बन्द हुँदै कारोबार बन्द भएको थियो ।

२०७७ साउन ४ मा सकारात्क सर्किट
२०७७ साउन ४ (२०२० जुलाई १९) मा पनि नेप्सेमा सकारात्क सर्किट ब्रेक लाग्दै कारोबार बन्द भएको थियो । यस दिन नेप्से ६ प्रतिशत अर्थात् ८४.२६ अंकले बढेर १२५६.११ बिन्दुमा पुगेको थियो ।

पुँजी बजारको पक्षमा राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि यस दिन बजारमा सकारात्मक सर्किट लागेको थियो ।

२०७७ पुस ४ मा नकारात्मक सर्किट
२०७७ पुस ४ (२०२० डिसेम्बर ६) मा नेप्सेमा नकारात्मक सर्किट ब्रेक लाग्दै कारोबार बन्द भएको थियो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा पुँजीबजारलाई कडाई गरेपछि बजारले त्यसको प्रतिक्रिया जनाएको थियो ।

केन्द्रीय बैंकले धितोमा आधारित मार्जिन कर्जामा कडाइ गरेकोले लगानीकर्ता आत्तिएका थिए । यस दिन बजार परिसूचक १२३.३४ अंले घटेर १९३२.११ बिन्दुमा सीमित भएको थियो ।

२०७८ मंसिर २८ मा सकारात्मक सर्किट
२०७८ मंसिर २८ (२०२१ डिसेम्बर १४) मा पनि नेप्से ६ प्रतिशतले बढ्दै कारोबार बन्द भएको थियो । यसअघिका दुई दिन बजारमा उच्च गिरावट आएको थियो ।

यसपछि, खुलेको बजार सकारात्मक लयमा अगाडि बढ्दा १३७.१८ अंकले बढ्दै २४१८.८५ बिन्दुमा पुगेको थियो ।

२०८० मंसिर २४ मा सकारात्मक सर्किट
२०८० मंसिर २४ (२०२३ डिसेम्बर १०) मा पनि नेप्से ६ प्रतिशतले बढ्दै बन्द भएको थियो । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति त्रैमासिक समीक्षाका कारण यसपटक बजारमा उत्साह छाएको थियो ।

यसअघि लामो समय बजार घटेको अवस्थामा केन्द्रीय बैंकको सहज नीतिले लगानीकर्ता हौसिएका थिए । यस दिन बजार परिसूचक १११.०२ अंकले बढेर १९६३.९८ बिन्दुमा पुगेको थियो ।

२०८० फागुन २१ मा सकारात्मक सर्किट
२०८० फागुन २१ (२०२४ मार्च ४) पनि नेप्सेमा ६ प्रतिशतको वृद्धि हुँदै बजार बन्द भएको थियो । यस दिन नेप्से छ प्रतिशत अर्थात् ११७. ७० अंकले वृद्धि भई २०७८ बिन्दुमा बन्द भएको थियो । यस समयमा कम्युनिस्ट गठबन्धन बन्ने निश्चित भएपछि सेयर बजारमा लगातार तेस्रो पटक सकारात्मक सर्किट ब्रेकर लागेर बन्द भएको थियो ।

२०८२ असोज २ मा नकारात्मक सर्किट
२०८२ असोज २ (२०२५ सेप्टेम्बर १८) नेप्समा नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको थियो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसपछि भएको सत्ता परिवर्तनपछि खुलेको बजारमा ६ प्रतिशतको आएको थियो । यस दिन नेप्से १६० अंकले घट्दै २५११ बिन्दुमा सीमित भएको थियो ।