७०० उद्योगीमाथि सरकारले प्रशासनिक बल प्रयोग गरेको भन्दै उद्योग वाणिज्य महासंघको विरोध


नेपाल उद्योग वाणिज्य महासंघले ७०० उद्योगीमाथि सरकारले प्रशासनिक बल प्रयोग गरेको भन्दै विरोध गरेको छ ।

नेपाल सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा सञ्चालित १० वटा औद्योगिक क्षेत्रमा स्थापित करिब ७०० उद्योगमाथि हालै प्रशासनिक बल प्रयोग गरी विद्युत लाइन काट्ने र उद्योगीहरूलाई धरपकड गर्ने तयारी गरेकोमा महासंघले विरोध जनाएको हो ।

महासंघले औद्योगिक क्षेत्रको जग्गा भाडा वृद्धिको विवाद सम्बन्धी सर्वोच्च अदालतका साथै उच्च अदालतको फैसला उपर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड आफैँले विभिन्न मितिमा सञ्चालक समितिको बैठकको निर्णयअनुसार सर्वोच्च अदालतका साथै उच्च अदालतमा पुनरावलोकनको मुद्दा दायर गरिसकेको जनाएको छ ।

कानुनी रूपमा मुद्दा विचाराधीन रहेको र उद्योगीहरूले भाडा दरको स्पष्ट विवरण माग गर्दा समेत उपलब्ध नगराइएको परिस्थितिमा अकस्मात् ७ दिनको छोटो अवधि दिएर बक्यौता तिर्न ताकेता गर्नु र सोही बहानामा उद्योगको विद्युत काट्नु र उद्योग सञ्चालन गर्न अवरोध हुने गरी अनावश्यक मानसिक दबाब दिनु कानुनी राज्य र व्यवसायिक शिष्टाचार विपरीत रहेको महासंघको ठहर छ ।

‘वर्तमान समयमा शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगहरूलाई प्रोत्साहन र संरक्षण गर्नु राज्यको प्राथमिक दायित्व हो,’ महासंघले भनेको छ,‘उद्योगहरुलाई निर्वाध सञ्चालनको लागि सहयोग र सहजिकरण गर्ने दायित्व औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको पनि हो। यस्तो संवेदनशील समयमा उद्योगहरूको विद्युत लाइन काटेर उत्पादन ठप्प पार्ने र उद्योग नै बन्द गर्नुपर्ने स्थिति सिर्जना गर्नु कुनै पनि दृष्टिकोणबाट न्यायसंगत हुन सक्दैन ।’

सरकारको कदमले स्वदेशी लगानीकर्ताहरूको मनोबल गिराउने, तथा स्वदेशी तथा विदेशी लगानीलाई समेत निरुत्साहित गर्ने महासंघले जनाएको छ। साथै उद्योगको उत्पादन र उत्पादकत्वलाई प्रोत्साहन र संरक्षण गर्नु सबैको दायित्व रहेको उल्लेख गरेको छ ।

महासंघले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड समक्ष उद्योगहरूलाई त्रसित नपार्ने र उत्पादन प्रवाह रोक्ने खालका सबै गतिविधिहरू तत्काल रोक्न माग राखेको छ । साथै कानुनी प्रक्रियाको सम्मान गर्दै संवाद र सहमतिको माध्यमबाट मात्र जग्गा भाडाको वैज्ञानिक र व्यवहारिक समाधान खोज्न महासंघ सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।