
काठमाडौं । एक वर्ष अघि सेयर बजारका केही कम्पनीको सेयर मूल्यमा अस्वभाविक उतारचढावको श्रृंखला नै चलेको थियो । खासगरी, विकास बैंक र फाइनान्स समूहका केही कम्पनीको मूल्य छोटो समयमा नै बढाएर माथि पुर्याउने र सोही रफ्तारमै घटेर न्यून बिन्दुमा खुम्चिने प्रवृत्ति व्यापक रुपमा थियो ।
वर्षौंदेखि प्रतिफल वितरण नगरेका र वित्तीय सूचक कमजोर रहेका कम्पनीको सेयर मूल्यमा यो किसिमको उतारचढाव थियो । सेयर बजारमा लगानी गर्नेले कम्पनीको प्रतिसेयर आम्दानी, मूल्य–आम्दानी अनुपात, बजार मूल्य–किताबी मूल्य अनुपात, ऋण–इक्विटी अनुपात र लाभांश क्षमताजस्ता आधारभूत वित्तीय सूचक हेरिनुपर्छ भन्ने मान्यता रहँदै आएका छ ।
यसका अलावा कम्पनीको संस्थागत स्थितिदेखि वित्तीय विवरण, नाफा–नोक्सान र कम्पनीको प्रदर्शनलाई पनि हेर्न जरुरी रहेको बताइन्छ । तर, वर्षदिन अघि भने यी मान्तया विपरीत अर्थात् कम्पनीको स्थिति, क्षमता र जोखिम मूल्यांकनलाई बेवास्ता गर्दै अन्धाधुन्ध लगानी गर्ने प्रवृत्ति ठूलो मात्रामा देखिएको थियो ।
२०८० चैत ४ गते साढे ३०० रुपैयाँ प्रतिकित्ता हाराहारी रहेको नेपाल फाइनान्सको सेयर मूल्य अस्वाभाविक ढंगमा तीव्ररुपमा बढ्दै २०८१ साउन २९ गते २१७८ (सो दिन २६१४) रुपैयाँ प्रतिकित्तासम्म पुगेको थियो । तर, २६०० माथि पुगेको कम्पनीको सेयर मूल्य पुस ९ गतेसम्म आईपुग्दा लगातार घट्दै १०७४ रुपैयाँमा खुम्चिएको थियो ।
२०८१ साउन १ गते ५८६ रुपैयाँ प्रतिकित्ता रहेको कर्पोरेट विकास बैंकको सेयर मूल्य मंसिर १७ गते १७६४ (उक्त दिन १९२० रुपैयाँसम्म) पुगेको थियो । यस्तै, २०८१ असार २ गते ५१९ रुपैयाँ प्रतिकित्ता रहेको गुडवील फाइनान्सको सेयर मूल्य अनपेक्षित ढंगमा उकालो लाग्दै भदौ १७ मा १३३० रुपैयाँ (त्यस दिन १३५३ सम्म) पुगे पनि पुस ९ गतेसम्म पुग्दा ८४० रुपैयाँमा खुम्चिएको थियो ।
२०८१ जेठ १० मा ५०० रुपैयाँ प्रतिकित्ता रहेको नारायणी विकास बैंकको सेयर मूल्य अकास्मात बढेर पुस ३ गते १४३३ पुगेपनि त्यसबाट घट्दै पुस ९ सम्म पुग्दा १२८५ रुपैयाँमा खुम्चिएको थियो । २०८० पुस ११ गते सिन्धु विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २७९ रुपैयाँ रहेकोमा मंसिर १७ गते १११४ गतेसम्म पुग्दा बढेर ६८५ रुपैयाँ पुगेको थियो ।
यसरी, यी लगायत केही निश्चित कम्पनीको सेयर मूल्यमा यो ढंगकको अस्वभाविक उतारचढाव देखिएको थियो । सामाजिक सञ्जालको प्रयोग गरी होस् वा कसैलाई सेयर बजारबारे बोल्न लगाउँदै लगानीकर्ता उक्साएर होस्, वित्तीय सूचकमा कमजोर कम्पनी चलाउने काम गत वर्ष भएको थियो ।
यो समयमा अन्तिम समयमा मूल्य बढाउने र म्यानुपुलेट गर्ने काम भएका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अन्तिम १५ मिनेटमा भएको कारोबारको भारित औसत मूल्य नै कम्पनीहरुको क्लोजिङ रेट (अन्तिम कारोबार भाउ) तोक्ने व्यवस्था समेत गरेको थियो जुन, व्यवस्था भने हाल खारेज भइसकेको छ ।
हुन त, कम्पनीको आधिकारिक जानकारीबिना सामाजिक सञ्जालहरू (फेसबुक, एक्स, युट्युब, ह्वाट्सएप, भाइबर, टेलिग्राम र क्लब हाउस)मा विभिन्न टिप्पणी गर्ने र खरिद बिक्री गर्न सुझाव दिने कार्य हुँदै आएको छ । निश्चित कम्पनी तथा क्षेत्रका बारेमा, नेप्से इन्डेक्सका बारेमा र कम्पनीको मूल्यका विषयमा फरक–फरक किसिमको टिप्पणी राखेर लगानीकर्तालाई ‘म्यानुपुलेट’ गर्ने काम पनि भएको होइन ।
कम पुँजी र कम सेयर सूचीकृत भएका कम्पनी होल्ड गरेर मूल्य बढाउने र मूल्य उच्च विन्दुमा पुगेपछि खरिद गर्न उक्साएर फाइदा लिने काम हाम्रो बजारका लागि नौलो होइन । फाइनान्स, लघुवित्त, जलविद्युत् जस्ता क्षेत्रका कम्पनीमा बढी मात्रामा देखिएका यस किसिमको प्रवृत्तिले लगानीकर्तालाई पछि गएर सेयर बजारप्रति नै वितृष्णा जगाउने सम्भावना पनि हुन्छ ।
नयाँ र साधारण लगानीकर्ता सचेत हुनुपर्ने देखिन्छ । अन्यथा, अन्तिम बायर हुन पुगेको खण्डमा बजारप्रति नै वितृष्णा जाग्ने र लगानी उकास्न नसक्नेगरी फस्न सक्ने सम्भावना हुन्छ । लगानीकर्ता निश्चित कम्पनीको सेयर मूल्य घटाउन, बढाउन, खरिद गराउन तथा बिक्री गराउन लागि परेका व्यक्ति तथा समूहसँग सचेत रहन आवश्यक छ । वित्तीय सूचकमा कमजोर रहेका विकास बैंक र फाइनान्स समूहमा गत वर्ष देखिएको रवाफ फेरि आउने हो कि भन्ने विषय पनि छ ।
यद्यपि, बजारमा जस्तोसुकै परिस्थिति देखिए पनि नयाँ लगानीकर्ताले लगानी गर्ने कम्पनीको प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, मूल्य–बिक्री अनुपात, ऋण इक्विटी अनुपात, लाभांश क्षमता जस्ता प्रमुख वित्तीय सूचकमा लगानीकर्ताले ध्यान दिँदा राम्रो हुने देखिन्छ । गत वर्ष अस्वभाविक मूल्य उतारचढाव भएका अधिकांश कम्पनीको सेयर मूल्य हाल निकै अवस्थामा देखिन्छ ।
गत वर्ष अस्वभाविक मूल्य उतारचढाव भएका कम्पनी र तीनको अवस्था
नेपाल फाइनान्स
२०८० मंसिर ४ गते नेपाल फाइनान्सको सेयर मूल्य प्रतिकित्ता २८२ रुपैयाँमा कारोबार भएकोमा २०८० चैत ४ मा बढेर ३७३ रुपैयाँ प्रतिकित्ता पुग्यो । वित्तीय सूचकमा सुधार नआउँदै कम्पनीको सेयर मूल्य २०८१ असार १२ मा पुग्दा १०३३ रुपैयाँ प्रतिकित्ता र २०८१ साउन २९ मा झनै उचालिएर २६१४ रुपैयाँ पुग्यो ।
नेप्सेमा खास किसिमको उतारचढाव नआउँदै गर्दा पनि यस कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा तीब्र रुपमा बढेर उच्च मूल्य कायम भयो । तर, यो कम्पनीको मूल्य जसरी उचालिएको थियो त्यसैगरी तल झर्न समय लागेन ।

२०८१ साउन २९ मा २६१४ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको यस कम्पनीको मूल्य लगातार घट्दै २०८१ मंसिरमा १४५९ रुपैयाँ प्रतिकित्तामा खुम्चियो । यसबाट पनि लगातार घटेर यस फाइनान्स कम्पनीको मूल्य २०८२ कात्तिक २८ मा ६४३ रुपैयाँ प्रतिकित्तामा खुम्चिन पुग्यो ।
प्रतिकित्ता ३०० रुपैयाँ हाराहारी रहेको नेपाल फाइनान्स कम्पनीको सेयर मूल्य लगातार बढेर २६०० भन्दा माथिसम्म पुगेपछि बीचमा आलोचनासमेत भएको थियो । कम्पनीको वित्तीय अवस्था राम्रो नहुँदा नहुँदै मूल्य बढाएर माथि पु¥याइएको भन्दै अर्थ समितिको संसदीय समितिमा समेत यो विषयले प्रवेश पाएको थियो ।
हुन पनि, बिनाआधार ३०० रुपैयाँ हाराहारी रहेको यस कम्पनीको मूल्य लगातार सर्किट लाग्दै २६०० रुपैयाँ सम्म पुगेको थियो । हाल अर्थात कात्तिक २८ मा भने यस कम्पनीको सेयर प्रतिकित्ता ६४३ रुपैयाँमा कारोबार भइरहेको छ ।
सिन्धु डेभलपमेन्ट बैंक
२०८० पुस ११ गते सिन्धु विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २७९ रुपैयाँ थियो । त्यसबाट सामान्य घटबढ हुँदै २०८१ असार ९ गतेसम्म पुग्दा सिन्धु विकासको सेयर मूल्य ३९० कायम भयो ।
अन्य कम्पनी जस्तै यो कम्पनीको सेयर मूल्य पनि अस्वभाविक ढंगमा उक्लिन पुग्यो । अर्था्, २०८१ कात्तिक ११ गते कम्पनीको मूल्य बढेर ६८५ रुपैयाँ पुगेकामा २०८१ मंसिर १७ मा थप आकासिँदै १११४ रुपैयाँ प्रतिकित्ता सम्म पुग्यो ।

करिब एक वर्ष अघि अर्थात् २०८१ पुस ९ मा भने यस कम्पनीको मूल्य केही मात्रामा संकुचित हुँदै ९४० रुपैयाँमा खम्चियो । तर, यसबाट पनि घटेर २०८२ कात्तिक २८ मा यस कम्पनीको मूल्य प्रतिकित्ता ६९१ रुपैयाँमा कारोबार भएको छ ।
अधिकांश वित्तीय सूचक भद्रगोल रहेको अवस्थामा पनि यो कम्पनीको सेयर मूल्य अस्वभाविक ढंगमा बढेको थियो । तर, केही समयमा यस कम्पनीको मूल्य उच्च ढंगमा संकुचित बन्न पुगेको थियो ।
ग्रीन डेभलपमेन्ट बैंक
२०८० पुस ११ मा ग्रीन डेभलपमेण्टको सेयर प्रतिकित्ता ३२७ रुपैयाँमा कारोबार भएको थियो । पुसमा ३२७ रुपैयाँमा रहेको यस विकास बैंकको मूल्य २०८१ वैशाख १३ गते पुग्दा केही मात्रामा बढ्दै ३९९ रुपैयाँ कायम भयो ।
तर, साही वर्षको वैशाखबाट उकालो लाग्न थालेको कम्पनीको मूल्य असोज १४ मा पुग्दा ६७५ र मंसिर १७ मा आउँदा ११५० (त्यसदिन १२०१ सम्म) पुग्यो । अन्य कम्पनी जस्तै यस कम्पनीको मूल्य तीव्र मात्रामा घट्दै २०८१ पुस ११ गते ९६० रुपैयाँमा खुम्चियो ।

प्रतिकित्ता ३०० रुपैयाँ हाराहारी रहेको ग्रीन डेभलपमेण्टको मूल्य १२०० पुगेर फेरि ९४० मआउँदै गर्दा अन्तिम बायरले ठूलो रकम गुमाउनु स्वभाविक हो । सो समयमा वित्तीय सूचक खराब हुँदाहुँदै पनि यस कम्पनीको मूल्य अस्वभाविक ढंगमा बढेर माथि पुगेको थियो ।
पछिल्लो कारोबार दिन अर्थात् कात्तिक २८ मा भने यस कम्पनीको मूल्य १०२२ रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ ।
गुडविल फाइनान्स
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार २०८० मंसिर २७ गते गुडविल फाइनान्सको सेयर मूल्य ४४६ रुपैयाँ थियो । ०८१ असार २ गतेसम्म पुग्दा बढेर यस कम्पनीको सेयर मूल्य ५१९ रुपैयाँ पुग्यो ।
अस्वभाविक रुपमा तीव्र गतिमा सेयर मूल्य बढीरहेको यस कम्पनीको सेयर मूल्य २०८१ साउन १३ मा ७२७ रुपैयाँ, साउन २९ मा १०७० रुपैयाँ र भदौ १७ मा १३३० रुपैयाँ (त्यसदिन १३५३ सम्म) कायम भयो ।

छोटो समयमा उच्च मूल्य कायम भएको यस कम्पनीको सेयर मूल्य घट्दा पनि उच्च गतिमा घट्दै मंसिर २७ गते ८४२ रुपैयाँमा खुम्चिन पुग्यो । २०८२ कात्तिक २८ मा भने यस कम्पनीको मूल्य ५८० रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ ।
गत वर्ष कम्पनीको सेयर मूल्यमा उतार–चढाव देखिनु पर्ने खास र जायज कारणहरू थिएनन् । तेब्बर मूल्य वृद्धि हुने किसिमको वित्तीय अवस्था पनि थिएन । यद्यपि, गुडविलको मूल्य गत वर्ष अस्वभाविक ढंगमा उतारचढाव भएको थियो ।
नारायणी विकास बैंक
नारायणी विकास बैंकको सेयर कारोबार पनि गत वर्ष यस्तै अस्वभाविक उतारचढावमा थियो । एक वर्षअघि अर्थात् २०८० मंसिर २७ गते कम्पनीको सेयर मूल्य ३७० रुपैयाँ थियो ।
यसपछि, २०८१ जेठ १० मा कम्पनीको सेयर मूल्य ५०० रुपैयाँ, सोही वर्षको साउन १७ मा ६१५ रुपैयाँ, मंसिर २ मा १०३१ रुपैयाँ हुँदै मंसिर २७ सम्म पुग्दा १३५५ रुपैयाँ (त्यसदिन १३६१सम्म) पुग्यो ।

तर, हाल २०८२ कात्तिक २८ मा आउँदा यस कम्पनीको मूल्य झन्डै दोब्बरले घटेर ७९० रुपैयाँ प्रतिकित्तामा सीमित भएको छ । वित्तीय सूचक कमजोर हुँदाहुँदै मूल्य अस्वभाविक ढंगमा उतारचढाव हुने कम्पनीको सूचमा गुडविल पनि रहेको छ ।
कर्पोरेट विकास बैंक
२०८० मंसिर २६ गते कर्पोरेट विकास बैंकको सेयर मूल्य ३२५ रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहको थियो । त्यसबाट सामान्य घटबढ हुँदै उकालो लागेको यस कम्पनीको सेयर मूल्य २०८१ साउन १ गतेसम्म पुग्दा ५८६ रुपैयाँ प्रतिकित्ता कायम भयो ।
उक्त वर्षको साउनसम्म सामान्य किसिमको वृद्धि देखिएको यस कम्पनीको सेयर मूल्य २०८१ भदौ २० गते प्रतिकित्ता १००० रुपैयाँ पुगिसकेको थियो । उक्त बिन्दुबाट सामान्य घट्दै २०८१ कात्तिक २८ गते ९९८ रुपैयाँ प्रतिकित्तासम्म खुम्चिएर भने कम्पनीको सेयर मूल्यले अलग्गै किसिमको गति देखियो ।

कात्तिक २८ पछिको १३ कारोबार दिनमा नै ७८१ रुपैयाँले बढ्दै मंसिर १८ गते कम्पनीको सेयर मूल्य १७७९ रुपैयाँमा पुग्यो । मंसिर १७ गते १७६४ (उक्त दिन १९२० रुपैयाँसम्म) पुगेको यस कम्पनीको सेयर मूल्य मंसिर २० गतेसम्म आइपुग्दा १६९९ रुपैयाँ पुगेको थियो ।
हाल २०८२ कात्तिक २८ गते आईपुग्दा यस कम्पनीको सेयर मूल्य १७१९ रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ । गत वर्ष उच्च गतिमा सेयर मूल्य बढेका कम्पनीमा उच्च मूल्यमा नै हालसम्म टिक्ने कम्पनी पनि कर्पोरेट विकास बैंक मात्रै रहेको देखिन्छ ।










प्रतिक्रिया