
काठमाडौं । सेयर बजारका लागि नीतिगत प्रावधान र व्यवस्थाहरु निकै सहज अवस्थामा पुगेका छन् । खासगरी, २०७८ सालमा नेपाल राष्ट्र बैंकले पुँजी बजारमाथि ठूलो प्रहार गरेको भन्दै लगानीकर्ताले असन्तुष्टि पोख्दै आएका थिए । तर, पछिल्लो समय एकपछि–अर्को सहज नीति ल्याउँदै केन्द्रीय बैंकले २०७८ अगाडिकै सहज नीतिगत अवस्थामा पुँजीबजारलाई फर्काएको छ ।
शुक्रबार सार्वजनिक नेपाल राष्ट्र बैंकको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले सेयर बजारका लगानीकर्तालाई एक किसिमको उत्साह दिएको छ । डा. विश्वनाथ पौडेल केन्द्रीय बैंकको गभर्नरको रुपमा आएपछिको पहिलो मौद्रिक नीतिले प्रत्येक्ष तथा घुमाउरो तरिकाले सेयर बजारमा उत्साह थप्न भरपुर पर्यत्न गरेको देखिन्छ ।
लगानीकर्ताले लामो समयदेखि खारेजीको माग गर्दै आएको व्यक्तिगत तर्फको सेयर धितो कर्जाको सीमा राष्ट्र बैंकले १० करोड रुपैयाँले बढाउँदै २५ करोड रुपैयाँ पुराएको छ । संस्थागत तर्फको सेयर धितो कर्जाको सीमा यसअघि नै हटाएको केन्द्रीय बैंकले आमागी आर्थिक वर्षको मौद्रिकबाट सो सीमा बढाएर लगानीकर्तामाझ सकारात्मक सन्देश दिएको हो ।
यद्यपि, केही महिना अगाडि अर्थात् चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् नै केन्द्रीय बैंकले सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट १०० मा झारेर पुँजीबजार प्रतिको दृष्टिकोण सकारात्मक रहेको सन्देश दिइसकेको थियो । जसलाई थप मजबुद बनाउँदै गभर्नर पौडेलले लचिलो नीति ल्याएर सेयर लगानीकर्तालाई उपहार दिएका हुन् ।
सेयर धितो कर्जाको बढाइएको सीमाले ठुला र संस्थागत लगानीकर्तालाई बजारमा सक्रिय बन्न मद्दत गर्ने सेयर लगानीकर्ता संघका अध्यक्ष ताराप्रसाद फुल्लेल बताउँछन् । ‘१५ करोडको सेयर धितो कर्जाको सीमालाई २५ करोडमा पुर्याउँदा यसले ठूला तथा संस्थागत लगानीकर्तालाई थप कर्जा लिएर बजारमा सक्रिय हुन सहज बनाउनेछ,’ फुल्लेल भन्छन्, ‘यसका अलावा घरजग्गा कारोबारमा अपनाइएको लचकताले पनि बजारमा सकारात्मक प्रभाव पार्दछ ।’
आगामी आर्थिक वर्षको मौद्रिक नीतिले निजी आवासीय घर निर्माण/खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा २ करोडबाट बढाई ३ करोड कायम गर्ने घोषणा गरेको छ । यस्तै, पहिलो घर निर्माण/खरिद गर्दा यस्तो कर्जा प्रवाहको लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था मिलाइने घोषणा पनि मौद्रिक नीतिमा गरिएको छ ।
लगानीकर्ता फुल्लेलका अनुसार घरजग्गाको यो व्यवस्थाले बैंकहरूको कर्जा प्रवाहमा वृद्धि ल्याएर सम्पूर्ण वित्तीय प्रणालीमा सकारात्मक प्रभाव पार्न सहयोग गर्नेछ भने त्यसको अप्रत्येक्ष प्रभाव सेयर बजारमा पनि देखिनेछ । यसका अलावा नीतिगत दरमा गरिएको परिवर्तनले बैंक तथा वित्तीय संस्थाहरूले सस्तो ब्याजमा कर्जा उपलब्ध गराउने सम्भावना बढाउने देखिन्छ ।
आफ्नो पहिलो मौद्रिक नीतिमार्फत् गभर्नर पौडेलले सेयर बजारप्रति नरम रहेको स्पष्ट सन्देश दिएको फुल्लेल बताउँछन् । ‘मौद्रिक नीतिमा उल्लेखित व्यवस्थाले नियमनलाई लचिलो बनाउने, राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने, तथा परियोजना कर्जालाई स्वनियमनमा लैजाने जस्ता कुराले सेयर बजारमा दिर्घकालीन स्थायीत्वको अपेक्षा गर्न सकिन्छ,’ उनले भने ।
पछिल्ला राष्ट्र बैंकका नीतिहरुले सेयर बजारको वृद्धिमा सहयोग पुग्ने लगानीकर्ताको छ । हुन, पनि केही वर्ष अगाडि र हालको पुँजी बजार माथिको नीतिगत व्यवस्था हेर्दा ठुलो अन्तर देखिन्छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा सेयर धितो राखी दिइने मार्जिन प्रकृतिको कर्जाका लागि कर्जा सुरक्षण मूल्य अनुपात ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत बनाएको थियो ।
सोही मौद्रिक नीतिमा केन्द्रीय बैंकले सेयर धितो मूल्यांकन विधि परिमार्जन गरी १८० दिनको औसत मूल्य वा सेयरको प्रचलित बजारमूल्यमध्ये जुन कम छ, त्यसैको आधारमा गणना गर्नुपर्ने व्यवस्थालाई १२० दिन औसत बजारमूल्य वा अन्तिम कारोबार मूल्यको आधारमा गणना गर्ने व्यवस्था कायम गरेको थियो । सो व्यवस्थाबाट हौसिएर सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१९९.०३ (त्यस दिन ३२२६)सम्म पुगेको थियो ।
यस समयमा बजार धेरै हौसिएको भन्दै नीतिगत व्यवस्था कडा गर्ने पाटोमा नियामक निकाय लागि पर्यो । नभन्दै, आर्थिक वर्ष २०७८/७९ मा मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था गर्यो ।
यसपछि, केन्द्रीय बैंकले आव २०७९/८० को मौद्रिक नीतिबाट एउटै बैंक तथा वित्तीय संस्थाबाट ४ करोडसम्म ऋण लिन पाउने व्यवस्था हटाई १२ करोडसम्म लिन पाउने गर्यो । तर, अर्कोतर्फ भने २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा १५० प्रतिशत राख्नुपर्ने व्यवस्था कायम नै राखेको थियो । यो किसिमको कसिलो नीतिको अवस्थाबाट त्यस समयमा सेयर बजार गुज्रिन परेको थियो ।
तर, आर्थिक वर्ष २०८०/८१ बाट भने सेयर बजारका लागि नेपाल राष्ट्र बैंक सहज र लचक बन्दै गएको देखिन्छ । सो अवस्थाबाट सेयर बजार निकै सहज अवस्थामा आएको र करिबकरिब २०७८ अगाडिकै नीतिगत अवस्थामा फर्किएको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन् । एकाध बाहेक अधिकांश नीतिगत प्रावधानलाई एकपछि अर्को गर्दै केन्द्रीय बैंकले सहज अवस्थामा ल्याएको छ ।
‘पुँजी बजारमाथि सबैभन्दा बढी प्रहार भएको २०७८ भदौ ८ गतेको मितिलाई म कहिले पनि भुल्दिन । मैले हरेक ठाउँमा त्यो समय उल्लेख गर्दै आएको पनि थिए,’ अध्यक्ष ढकाल भन्छन्, ‘तर, करिबकरिब हामी २०७८ अघिकै सहज अवस्थामा फर्किएका छौं ।’ उनले व्यक्तिगत तर्फको सेयर धितो कर्जाको सीमा र बैंक तथा वित्तीय संस्थाले सेयर किन्न पाउने बाहेक सबै विषय चार वर्ष अगाडिकै अवस्थामा फर्किएको बताए ।
यसले बजारमा सकारात्मकता ल्याउन सहयोग पुग्ने लगानीकर्ताको तर्क छ । हुन, त पछिल्लो दुई साता यता सेयर बजार सकारात्मक लयमा देखिन्छ । गत साताको पाँच कारोबार दिनमा मात्रै सेयर बजार परिसूचक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) तीन दिन उकालो लागेर दुई दिन घट्दा २७ अंकको वृद्धिका साथ २७३१ बिन्दुमा कायम छ । अघिल्लो साताको पाँच कारोबार दिनमा पनि नेप्से पाँचै दिन उकालो लागेर १०५ अंकको वृद्धिका साथ २७०३.९६ बिन्दुमा रोकिएको थियो ।
नेप्सेका अनुसार गत साताको पाँच कारोबार दिनमा कुल ४० अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो साताको पाँच कारोबार दिनमा पनि ३८ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बजारमा देखिएको यो किसिमको सकारात्मक लयले मौद्रिक नीतिको सहज नीतिसँगै थप निरन्तरता पाउने सम्भावना रहेको अध्यक्ष ढकाल बताउँछन् ।
‘समग्रमा मौद्रिक नीति असाध्यै राम्रो आएको छ । घरजग्गा कारोबार, सेयर बजार, बैंकिङ क्षेत्र तथा समग्र अर्थतन्त्र चलयमान बनाउने उद्देश्यसहित मौद्रिक नीति आएको देखिन्छ,’ ढकाल भन्छन्, ‘यसले बैंकको आम्दानी बढ्नेदेखि लगानीकर्ताको मनोबल बलियो बनाउनसम्म भूमिका खेल्ने देखिन्छ ।’ उनले समग्रमा मौद्रिक नीति पुँजी बजारको हितका लागि आएको उनको तर्क छ ।
हाल, मौद्रिक नीति मात्रै सहज आएको छैन । अन्य माहोल र वित्तीय सूचक पनि सकारात्मक अवस्थामा छन् । ठूलो मात्रामा सेयर कर्जा प्रवाह भएको छ भने विशेषगरी, ठुला र संस्थागत लगानीकर्तातर्फ बढी कर्जा गएको छ । बैंकको ब्याजदर न्यून छ भने बजारमा तरलता पर्याप्त छ । मानिसहरु ब्याजदर घटेका कारण लगानी क्षेत्रको खोजिमा पनि छन् । यी समग्र सूचक हेर्दा बजारले एक किसिमको लय पक्रिने तर्क लगानीकर्ताहरु गर्छन् ।







प्रतिक्रिया