सिन्धुली–१ बाट निर्वाचित रास्वपा सांसद कर्जा सूचना केन्द्रको कालोसूचीमा

3.9k
Shares

काठमाडौं । सिन्धुली निर्वाचन क्षेत्र नं. १ का नवनिर्वाचित सांसद धनेन्द्र कार्की कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवारी दर्ता गरेपछि उनी कालोसूचीमा परेका हुन् ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा उनको नाम ४ ठाउँमा छ । उनी गत माघ १९ गते पहिलोपल्ट कालोसूचीमा परेका थिए । त्यसपछि माघ २९ गते २ पल्ट र फागुन १५ गते पुनः कालोसूचीमा परेको देखिन्छ ।

आईसीएफसी फाइनान्सको उनको नाममा रहेको खातामा पर्याप्त पैसा नभएका कारण उनी कालोसूचीमा परेका हुन् । उनले काटेको चेक बाउन्स भएको थियो । फागुन १५ गते कालोसूचीमा परेको विषय बिजु मल्टिपर्पस सहकारीसँग सम्बन्धित छ । उनी सहकारीको संस्थापक निर्देशक रहेका कारण कालोसूचीमा परेका हुन् ।

मनोनयन दर्तापछि उनी कालोसूचीमा परेका कारण निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थिएन । साथै त्यसपछि उनीविरूद्ध दाबीविरोध पनि परेको थिएन । उम्मेदवारी दर्ता हुनुअघि नै कालोसूचीमा रहेको भए उनी सुरुमै उम्मेदवार बन्न अयोग्य हुने थिए । यद्यपि उनी निर्वाचित हुनुअघि नै कालोसूचीमा परेकाले उनी सांसद हुन पाउने नपाउने भन्ने प्रश्न उठेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न अयोग्य ठहरिन्छ तर निर्वाचित हुन पाउने नपाउने भन्ने स्पष्ट व्यवस्था छैन । यसअघि धनुषा–१ मा रास्वपाका उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी पनि कालोसूचीमा रहेकै कारण निर्वाचन आयोगले खारेज गरिदिएको थियो । शाहले १३ हजारभन्दा बढी मत पाए पनि कानुनी अड्चनका कारण उनी चुनावी प्रक्रियाबाट बाहिरिनु परेको थियो ।