
काठमाडौं । नेपालका लागि बीवाईडी विद्युतीय सवारी साधनको आधिकारिक वितरक साइमेक्स इंकले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि ठूलो संख्यामा गाडी आयात गरिएको विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । विभिन्न सञ्चार माध्यम र सार्वजनिक वृत्तमा भन्सार जाँचपासका विषयलाई लिएर उठाइएका प्रश्न र चासोप्रति ध्यानाकर्षण भएको जनाउँदै कम्पनीले तथ्यगत स्पष्टीकरण दिएको हो ।
साइमेक्स इंकले एक विज्ञप्ति जारी गर्दै बजेटअगाडि गरिएका सबै आयात प्रक्रिया नेपाल सरकारको प्रचलित कानुन, भन्सार नियमावली र विधिअनुसार नै सम्पन्न भएको दाबी गरेको छ । कम्पनीले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको र त्यस्तो कुनै अनुरोध समेत नगरेको स्पष्ट पारेको छ ।
पारदर्शिता देखाउन कम्पनीले कोराला र रसुवा भन्सारबाट भएका आयातको विस्तृत विवरण नै सार्वजनिक गरेको छ । जसअनुसार कोराला भन्सार (मुस्ताङ)बाट मे २२ देखि मे २७ सम्ममा कुल ६४९ वटा गाडी (एट्टो वान र एट्टो टु ) को जाँचपास भएको छ ।
यसैगरी रसुवा भन्सारबाट मे १८ देखि मे २७ सम्ममा कुल ४७२ वटा गाडी (एट्टो वान, एट्टो टु, एट्टो थ्री र सिलायन सेभेन ) को आयात प्रक्रिया पूरा भएको कम्पनीको भनाई छ । यसका अतिरिक्त २२६ वटा सवारी साधन अझै पनि चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेका तर भन्सार जाँचपास प्रक्रिया सम्पन्न हुन बाँकी रहेको जानकारी कम्पनीले दिएको छ ।
बजेटको मुखमा धेरै गाडी भित्रिनुको मुख्य कारण कर परिवर्तनबाट बच्नु नभई ग्राहकहरूको पूर्व बुकिङ र बजारको बढ्दो माग रहेको साइमेक्सको भनाइ छ । ‘ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण ती बुकिङ पुरा गर्न र नेपालमा विद्युतीय सवारीको मागलाई सम्बोधन गर्न नियमित व्यावसायिक योजनाअनुसार यी गाडी आयात गरिएका हुन्,’ विज्ञप्तिमा भनिएको छ ।
कम्पनीका अनुसार यी आयात कार्यहरू बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता र यातायात व्यवस्थापनका चुनौतीहरूलाई ध्यानमा राखेर पहिले नै तय गरिएको थियो ।
विगत धेरै वर्षदेखि नेपालको अटोमोटिभ र क्लिन इनर्जी रूपान्तरणमा विश्वासिलो साझेदारको रूपमा काम गर्दै आएको बताउँदै साइमेक्सले इमानदारिता, पारदर्शिता र जवाफदेहिताका साथ नेपाली उपभोक्ताको सेवामा निरन्तर लागिरहने बताएको छ । नेपालको वातावरणीय लक्ष्य प्राप्ति र इन्धन आयातमा कमी ल्याउन इलेक्ट्रिक मोबिलिटी सेक्टरले महत्वपूर्ण योगदान दिइरहेको समेत कम्पनीको जिकिर छ ।











प्रतिक्रिया