सम्पूर्ण अपडेट

बीएनसी मेडिकल कलेजका लागि ऋणमाथि थप ऋण लिँदै दुर्गा प्रसाईं, प्रतिष्ठागत जोखिम धेरै

2.5k
Shares

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको बीएनसी मेडिकल कलेजले थप ऋण लिने भएको छ । यसअघि पनि निरन्तर ऋण बढाइरहेको बीएनसीले थप कर्जा लिने भएको हो ।

बीएनसीले अघिल्लो आवको अन्त्यसम्म ३ अर्ब ६६ करोड ७० लाख रुपैयाँ कर्जा लिएकामा गत आवको अन्त्यसम्म कर्जा बढाएर ३ अर्ब ९० करोड ९० लाख रुपैयाँ पुर्याएको थियो । कम्पनीले अझै धेरै कर्जा लिने योजना बनाएको छ ।

व्यवसायी दुर्गा प्रसाईं कार्यकारी निर्देशक रहेको बीएनसीको अध्यक्ष डा.रामबाबु गिरी हुन् । प्रसाईंको नेतृत्वमा रहेको कम्पनीले ३ अर्ब ४७ करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएकामा हालै बढाएर ४ अर्ब ५ करोड बनाएको छ।

कम्पनीले लिने ३ अर्ब ९५ करोड रुपैयाँ दीर्घकालीन बैंक सुविधाका लागि रेटिङ एजेन्सी इक्राले बीप्लस रेटिङ दिएको छ यसैथरी थप १० करोड अल्पकालीन बैंक सुविधाका लागि एफोर रेटिङ पाएको छ ।

यो रेटिङ पछाडि मुख्य कारण रेपुटेसनल रिस्क रहेको छ । बीएनसीको बैंक सुविधाहरूलाई दिइएको रेटिङले रेपुटेसनल रिस्क (प्रतिष्ठागत जोखिम)सहित कम्पनीको उच्च ऋणमा आधारित पुँजी संरचना र कमजोर ऋण सुरक्षा मापदण्डलाई प्रतिविम्बित गर्दछ । कम्पनी आर्थिक वर्ष २०२३ देखि २०२५ सम्मको सञ्चित नोक्सानीमा छ । सामान्य डेट कभरेज रेसियो, अस्पतालबीच उच्च प्रतिस्पर्धा तथा नियमनकारी जोखिमको सम्भावना र ब्याजदरमा हुने उतारचढावप्रति संवेदनशीलताका कारण रेटिङमा दबाब परिरहेको छ ।

यसबाहेक, स्वास्थ्य सेवा क्षेत्रको स्वभावैले क्यापिटल इन्टेन्सिभ प्रकृति र समय–समयमा गर्नुपर्ने पुँजीगत खर्चका कारण निकट भविष्यमा कम्पनीको ऋण भार र डेट कभरेज रेसियोमा थप दबाब पर्न सक्ने देखिन्छ । यद्यपि, निकट वा मध्यम अवधिमा ठूला पुँजीगत खर्चका योजनाहरू नभएका कारण थप ऋणको भार सीमित हुने, पुँजी संरचनामा स्थिरता आउने र क्रेडिट प्रोफाइलमा मध्यम अवधिको राहत मिल्ने अपेक्षा गरिएको छ । यो सुधार कम्पनीको दिगो सञ्चालन कार्यसम्पादन र स्थिर नगद प्रवाहमा निर्भर रहनेछ ।

हालैका अवधिहरूमा कम्पनीको वित्तीय अवस्थामा सुधार देखिएको छ, जुन सञ्चालनको निरन्तर विस्तार र आर्थिक वर्ष २०२५ मा मध्यम तर स्वस्थ नाफाको मार्जिनबाट पुष्टि हुन्छ । अघिल्लो वर्षको घाटाबाट सुधार भई कुल नगद प्रवाहसकारात्मक हुनुले कम्पनीको समग्र जोखिम प्रोफाइलमा राहत पुर्‍याएको छ ।

साथै, स्वीकृत सिटहरूको स्थिरता र मेडिकल कलेज सञ्चालनबाट बढ्दो राजस्वले कम्पनीको कुल आम्दानी बढाउन सहयोग पु¥याएको छ । यसले अस्पताल सञ्चालनसँगै व्यवसायको दायरा बढाउन र आम्दानीका स्रोतहरूलाई विविधीकरण गर्न थप मद्दत गर्ने अपेक्षा गरिएको छ ।

बीएनसी मेडिकल कलेजले गत आर्थिक वर्षमा १ अर्ब ३९ करोड रुपैयाँबराबरको व्यापार गरेको छ । जुन आव २०२४ भन्दा ४४ प्रतिशत बढी हो । कम्पनीले आव २०२३ मा ८१ करोड ५० लाख र २०२४ मा ९६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सन् २०११ मा स्थापना भएको हस्पिटलले स्वास्थ्यसम्बन्धी विभिन्न सेवा दिँदै आएको छ ।

बीएनसीका अनुसार गत आवमा प्रत्यक्ष तथा अप्रत्यक्ष बिरामीको संख्या बढ्न जाँदा व्यापार बढेको उल्लेख छ । साथै, मेडिकल कलेजको कारोबार उल्लेख्य भएको जनाएको छ । गत आवमा बीएनसीको नाफा मार्जिन २३ प्रतिशत छ जुन सन् २०२४ मा २६.६९ प्रतिशत थियो ।

त्यसैगरी, हस्पिटलले चालु आवको ६ महिनाको अवधिमै ७० करोड ८० लाख रुपैयाँको व्यापार गरिसकेको छ । व्यापार बढे पनि कम्पनीको ऋण तिर्ने क्षमता भने निकै कमजोर छ ।