ट्रम्पले चीनमाथि व्यापारको विषयमा किन गरिरहेका छन् आक्रमण, अब के हुन सक्छ ?

630
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक ट्यारिफ(कर) ९० दिनका लागि रोकेपछि उनको व्यापार युद्ध अझ स्पष्ट देखिन थालेको छ ।

सुरुवातमा संसारका धेरै देशहरूसँग एकैपटकको झगडा जस्तो देखिएको थियो तर अब त्यो मुख्य रूपमा अमेरिकाको पुरानो प्रतिस्पर्धी चीनसँगको लडाइँमा सीमित भएको छ ।

ट्रम्प सरकारले अहिले केही देशहरूमाथि लगाइएको उच्च भन्सार करलाई ९० दिनको लागि रोकेको छ । तर अझै पनि सबै देशहरूका सामानमा १० प्रतिशत कर लागिरहेकै छ ।

चीन भने अलग्गै रूपमा कडा व्यवहारको शिकार बनेको छ । जहाँ उसले अमेरिका पठाउने सामानहरूमा १२५ प्रतिशतसम्मको भारी कर लगाइएको छ ।

ट्रम्पले यसो गर्नुको कारण चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाएर प्रतिक्रिया जनाएको बताएका छन् । उनले यो कदमलाई ‘अनादर’ भनेका छन् ।

तर ट्रम्पको लागि यो केवल बदला होइन । उनी त पहिले चुनाव जित्दा नै चीनलाई दोष दिँदै अगाडि बढेका थिए । त्यसैले यो उनको अधुरो योजना पूरा गर्ने प्रयास पनि हो । उनको भनाइमा, ‘हामीले पहिले जे गर्न सकिएन, अहिले त्यो गरिरहेका छौं ।’

उनी चाहन्छन् कि विश्व व्यापार प्रणाली जसमा चीनलाई ‘संसारको कारखाना’ जस्तो बनाइएको छ त्यसलाई परिवर्तन गरियोस् । पहिले मानिने धारणा थियो, ‘जति व्यापार हुन्छ, उति राम्रो ।’ ट्रम्प त्यसलाई अब चुनौती दिइरहेका छन् ।

यो बुझ्नका लागि हामी केही वर्ष पछाडि फर्किनुपर्छ ।

सन् २०१२ मा जब म चीनको साङ्घाई सहरबाट रिपोर्टिङ गर्थें, सबैलाई चीनसँग व्यापार गर्नु फाइदाजनक लाग्थ्यो । चिनियाँ सामानले विश्वभरका उपभोक्तालाई सस्तो मूल्यमा सामान दिन्थ्यो र चीनका करोडौं मानिसले कारखानामा काम पाउँथे ।

केही वर्षमै चीनले अमेरिकाभन्दा धेरै रोल्स रोयस, जेनरल मोटर्स र भोक्सवागन गाडी बेच्ने देश बनेको थियो ।

त्यति मात्रै होइन, एउटा ठूलो आशा पनि थियो चीन धनी बन्दै जाँदा जनताले स्वतन्त्रता र लोकतन्त्रको माग गर्लान् भन्ने ।

तर त्यो आशा पूरा भएन । बरु चीनको सरकार अझ बलियो भयो र निर्यातमा निर्भर अर्थतन्त्र अझ बढ्यो ।

सन् २०१५ मा चीनले ‘मेड इन चाइना २०२५’ भन्ने योजना ल्यायो । जसको उद्देश्य थियो चीनलाई उच्च प्रविधिका क्षेत्रमा विश्वकै अगुवा बनाउने । एयरोस्पेस, पानीजहाज निर्माण र विद्युतीय गाडी उत्पादनमा अगुवा बनाउने उसको उद्देश्य थियो ।

त्यो समय नै ट्रम्पले चुनावको अभियान सुरु गरे । उनी बारम्बार भन्थे, ‘चीनको बढ्दो प्रभावका कारण अमेरिकाका उद्योगहरू बन्द भए र कामदारहरू बेरोजगार भए ।’

उनको पहिलो कार्यकालमा उनले चीनविरुद्ध कडा भन्सार कर लगाएर परम्परागत सोच तोडे । उनका उत्तराधिकारी जो बाइडेनले पनि तीमध्ये धेरैजसो कर यथावत् राखे । तर ती करहरूले चीनको आर्थिक मोडेल खासै बदल्न सकेनन् ।

आज चीनले विश्वका ६० प्रतिशत विद्युतीय गाडी बनाउँछ र तीमध्ये धेरैजसो चिनियाँ ब्रान्डका हुन्छन् । गाडीमा प्रयोग हुने ८० प्रतिशत ब्याट्री पनि चीनमै बनाइन्छ ।

अब ट्रम्प फेरि फर्किएका छन् । फेरि भन्सार कर बढाउने कुरा उठाएका छन् ।

यो कुरा संसारको व्यापार प्रणालीका लागि ठूलो झट्का हुन सक्थ्यो यदि ट्रम्पले यसअघि पनि यस्ता अनेकन कदम नउठाएको भए ।

अब प्रश्न उठ्छ– अब के हुन्छ ?

यसको जवाफ दुई कुरामा निर्भर छः

के चीन वार्ता गर्न तयार हुन्छ ?

के चीनले अमेरिकाले चाहेजस्तो ठूला परिवर्तन गर्न तयार हुन्छ – जस्तै, आफ्नो निर्यातमा आधारित अर्थतन्त्रको मोडेल परिवर्तन?

यी प्रश्नको जवाफ दिन आजको परिस्थिति निकै जटिल छ । चीन के गर्छ भन्ने अनुमान गर्न गाह्रो छ ।

किनभने चीनको आर्थिक नीति अहिले उसको राष्ट्रिय गौरव र एकदलीय शासन प्रणालीसँग जोडिएको छ । उनीहरू आफ्ना बजारमा विदेशी (जस्तै अमेरिकी) प्रविधि कम्पनीहरूलाई सजिलै पस्न दिन चाहँदैनन् ।

तर तेस्रो प्रश्न पनि उठ्छ- जुन अमेरिका आफैंले जवाफ दिनुपर्छ:

के अमेरिका अझै स्वतन्त्र व्यापारमा विश्वास गर्छ ?

ट्रम्प भन्छन्- भन्सार कर राम्रा छन् । उनी त यसलाई केवल उपाय नभई लक्ष्य नै मानेर हेर्छन् ।

उनको तर्क हो– भन्सार करले देशभित्र लगानी बढाउँछ, अमेरिकी कम्पनीहरू विदेशको सस्तो श्रम छाडेर घर फर्किन्छन् र सरकारले कर उठाउन सक्छ ।

अब यदि चीनले पनि ट्रम्पको उद्देश्य केवल यस्तो संरक्षणवादी नीति हो भनेर बुझ्यो भने उसले कुनै सम्झौता गर्नु आवश्यकै छैन भन्ने ठान्न सक्छ।

त्यसरी हेर्दा दुई ठूला देशबीच सहकार्यको सट्टा अब ‘जो जित्यो, उसैको’ जस्तो प्रतिस्पर्धा सुरु हुन सक्छ ।

आर्थिक सहकार्यको सट्टा विश्वका दुई सबैभन्दा शक्तिशाली देशहरू एकअर्कालाई हराउने प्रतियोगितामा फस्न सक्छन् ।

यदि त्यस्तै भयो भने त्यो पुरानो धारणा चकनाचुर हुने संकेत हुनेछ र एउटा निकै फरक सम्भवतः जोखिमपूर्ण भविष्यतर्फको यात्रा सुरु हुनेछ।

यदि यस्तै भयो भने हामीले पहिले विश्वास गरेका खुला बजार र सहकार्यको सोच समाप्त हुनेछ र त्यो भविष्यमा अलिकति डर लाग्दो पनि हुन सक्छ ।

(चीन, उत्तर कोरिया र एशियाली मामिलामा रिपोर्टिङ गर्ने जोहन सडवर्थको बीबीसीमा प्रकाशित लेखको भावानुवाद ।)

Skip This