
काठमाडौं । आन्तरिक उडानमा सबैभन्दा चल्तीको गन्तव्य काठमाडौं–पोखरा हो । यस गन्तव्यमा यात्रुको चाप दिनहुँ उच्च हुन्छ भने वायुसेवा कम्पनीहरूले पनि अन्य गन्तव्यको तुलनामा पोखराका लागि धेरै उडान भर्ने गरेका छन् । पोखराका लागि एउटै निजी वायुसेवाले काठमाडौँबाट दैनिक १७ वटासम्म उडान गरिरहेका छन् ।
वायुसेवा कम्पनीका लागि सरकारले २०७३ सालमा तोकेको भाडादर अनुसार काठमाडौँबाट पोखराको न्यूनतम भाडा ९१२ रुपैयाँ मात्र हो । करिब आधा घण्टाको उडानमा पुगिने पोखराका लागि यो न्यूनतम भाडामा १३ प्रतिशत भ्याट (११८ रुपैयाँ ५० पैसा), इन्धन शुल्क ३ हजार ९८५ रुपैयाँ र विमानस्थलमा तिर्नुपर्ने यात्रु सेवा शुल्क ५ सय रुपैयाँ थपिन्छ । यी सबै शीर्षकका शुल्क जोड्दा काठमाडौं पोखराको न्यूनतम हवाई भाडा ५ हजार ५१५ रुपैयाँ कायम हुन पुग्छ ।
बुधबार बढेको हवाई इन्धन शुल्क अनुसार आन्तरिक वायुसेवाहरूले काठमाडौंबाट पोखराका लागि जतिसुकै सस्तो टिकट उपलब्ध गराए पनि यात्रुले ५ हजार ५१५ रुपैयाँभन्दा कममा पाउँदैनन् । सरकारले वायुसेवा कम्पनीहरूलाई न्यूनतम र अधिकतम हवाई भाडाको सीमा तोकिदिएको हुन्छ।
सोही व्यवस्था अनुसार वायुसेवा कम्पनीहरूले पोखराका लागि अधिकतम आधारभूत भाडा ३ हजार ६४७ रुपैयाँसम्म लिन पाउँछन् । यो भाडा मुख्य पर्यटकीय मौसम र यात्रुको अत्यधिक चाप भएको बेला लिने गरिन्छ । आन्तरिक वायुसेवा कम्पनीहरूले सरकारले तोकेको अधिकतम सीमाभन्दा कम नै भाडा लिने गरेको दाबी गरे पनि अन्य शुल्कका कारण यात्रुलाई हवाई भाडा महँगो लागिरहेको छ ।
वायुसेवा कम्पनीहरूले बुधबारदेखि काठमाडौं पोखरा उडानका लागि ६ हजार रुपैयाँभन्दा कमको टिकट बिक्री गरेका छैनन् । यो गन्तव्यका लागि वायुसेवाहरूले ६ हजारदेखि ७ हजार ५ सय रुपैयाँसम्मका टिकटहरू सहजै पाउने गरी वर्गीकरण गरेका छन् ।
पोखरा गन्तव्यका लागि अधिकतम आधारभूत भाडा ३ हजार ६४७ रुपैयाँ लिँदा त्यसमा १३ प्रतिशत भ्याट (४७४ रुपैयाँ), इन्धन शुल्क ३ हजार ९८५ रुपैयाँ र यात्रु सेवा शुल्क ५ सय रुपैयाँ जोडिन्छ । यसरी अधिकतम भाडा दरमा टिकट काट्दा काठमाडौंबाट पोखरा जाने यात्रुले ८ हजार ६०५ रुपैयाँसम्म तिर्नुपर्छ ।
वायुसेवा सञ्चालक संघका अनुसार कम्पनीहरूले सधैँ सरकारले तोकेको न्यूनतम र अधिकतम सीमाभित्रै रहेर भाडा लिने गरेका छन् । सरकारले सीमा तोकिदिएको भए पनि यात्रुहरूबाट भने भाडा महँगो भएको गुनासो आइरहन्छ । यद्यपि, वायुसेवा कम्पनीहरूले सञ्चालन खर्च धान्नका लागि न्यूनतम र अधिकतमको सीमा मिलाएर भाडा तय गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
वायुसेवा कम्पनीले एकमुष्ट भाडा लिएको देखिए पनि काठमाडौं पोखराको अधिकतम ८ हजार ०५ रुपैयाँ भाडामा ४ हजार ९५९ रुपैयाँ विभिन्न कर र शुल्क (अनिवार्य खर्च) हुन्छ भने ३ हजार ६४७ रुपैयाँ मात्र वायुसेवाको वास्तविक आम्दानी हो ।
आन्तरिक उडानका वायुसेवा कम्पनीहरूका अनुसार कूल हवाई भाडामा कम्पनीको हिस्सा ४० देखि ४५ प्रतिशत मात्र हुन्छ भने बाँकी ६५ देखि ७० प्रतिशत हिस्सा इन्धन, भ्याट र यात्रु सेवा शुल्कमा खर्च हुने गरेको छ । न्यूनतम हवाई भाडामा त झन् कम्पनीको हिस्सा १५ देखि २० प्रतिशत मात्र हुने उनीहरूको भनाइ छ ।
पोखराको उदाहरण जस्तै अन्य सबै गन्तव्यमा पनि यही विधि अपनाइन्छ । यसै अनुसार काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य धनगढी जान यात्रुले न्यूनतम १४ हजार ४५७ रुपैयाँ खर्चनुपर्छ । यो गन्तव्यका लागि अधिकतम भाडा २३ हजार रुपैयाँसम्म पुगेको छ । धनगढीको न्यूनतम आधारभूत भाडा २ हजार ५ सय रुपैयाँ हो भने अधिकतम १० हजार १५० रुपैयाँ हो ।
यसमा १३ प्रतिशत भ्याट, ११ हजार ९० रुपैयाँ इन्धन शुल्क र ५ सय रुपैयाँ यात्रु सेवा शुल्क थपिँदा औसत टिकट दर १८ देखि २२ हजार रुपैयाँको हाराहारीमा पुग्छ । धनगढीका लागि यात्रुले नन्-रिफन्डेबल (फिर्ता नहुने) टिकट १७ हजार ४०० रुपैयाँसम्ममा पाउँछन् भने फिर्ता हुने टिकटका लागि १८ हजार ५ सय रुपैयाँभन्दा बढी तिर्नुपर्ने हुन्छ ।











प्रतिक्रिया